कञ्चनपुरमा फड्के किराले धानबाली सखाप पारेपछि किसान चिन्तित

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
महेन्द्रनगर, ४ असोज

धान पाक्ने समयमा कञ्चनपुरका चार वटा स्थानीय तहमा फड्के किराको प्रकोप देखिएपछि स्थानीय किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको भीमदत्त, वेदकोट, शुक्लाफाँटा र महाकाली नगरपालिकामा फड्के किराको प्रकोप देखिएको छ ।
कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले स्थानीय किसानले लगाएको धानबालीमा फड्के किराको प्रकोप देखिएको बताए । उनका अनुसार महाकाली र शुक्लाफाँटा र भीमदत्तमा किराको प्रकोप देखिएको छ । ‘ज्ञान केन्द्रले किराको प्रकोप देखिएपछि धानबारीमा स्थलगत भ्रमणमा जोड दिएको छ ।’ केन्द्रका निमित्त प्रमुख भट्टले भने ‘जिल्लाको माहाकाली, भीमदत्त र शुक्लाफाँटामा फड्के किराको संक्रमण बढी देखिएको छ । यसका नियन्त्रणका लागि स्थानीय किसानलाई सचेत गराएका छौँ ।’ फड्के किराको प्रकोपले धानबाली सखाप भएको छ ।

केन्द्रले गरेको अनुगमनका क्रममा महाकालीमा एक दशमलव पाँच हेक्टर, वेदकोटमा आधा हेक्टर तथा भीमदत्त र शुक्लाफाँटामा दुई÷दुई हेक्टर क्षेत्रफलमा फड्के किराको प्रकोप देखिएको हो । फड्के किरा खैरा र हरिया पिठ्युँ भएका फुत्त फुत्त उफ्रिने खालका हुन्छन् । यी किराहरुले धानको पात चुसेर खान्छन् । जसको कारणले धानको बिरुवा सुकेर मर्दछन् । बिरुवाहरु गाँजिन र बढ्न सक्दैनन् । धानको बोटमा वाला नलागी पराल जस्तो भई सुकेर ढल्छ ।

‘अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको छ ।’ निमित्त प्रमुख भट्टले भने ‘भीमदत्त नगरपालिका–२, १७, १८ र १९ वडा, बेदकोटका केही वडासँगै पछिल्लो समयमा शुक्लाफाँटा नगरपालिकामा पनि यसको प्रकोप देखिएको छ ।’ ज्ञान केन्द्रले आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत एक लाखको विषादी खरिद गरी किसानलाई बाँडी सकेको जनाएको छ । साथै थप विषादीका लागि कृषि विकास निर्देशनालय दिपायललाई आग्रह गरिएकोमा उक्त विषदी आइतबारसम्ममा कञ्चनपुर आइपुग्ने छ । विषादी पुगेपछि प्रति किसानलाई ५० एमएलका दरले वितरण गरिने केन्द्रले जनाएको छ ।

फड्के किराको प्रकोपबाट बाली जोगाउन इमिडाक्लोप्रिड नामक विषादीलाई धानको फेदमा पर्ने गरी छर्किएमा किरा मर्ने केन्द्रका निमित्त प्रमुखको भनाइ छ । २ लिटर पानीमा एक एमएलका दरले इमिडाक्लोप्रिड विषादी मिसाएर धानबारीमा छर्कन केन्द्रले किसानलाई आग्रह गरेको छ । राम्रोसँग विषादीको प्रयोग गर्न सकेमा किरा मरेर जान्छ उनले भने यस किराको संक्रमण धानको फेद(एक फिट) मुनीसम्म हुन्छ । प्रति कठ्ठामा २० लिटरसम्म विषादयुक्त पानि छर्किन सकेमा यसको प्रकोप नियन्त्रण गर्न सकिन्छ । साथै धानबारीमा पानि लगाउदैँ र बारी सुकाउँदै गरेमा पनि यसको संक्रमणलाई नियन्त्रण गर्न सकिने केन्द्रका निमित्त प्रमुख भट्टको भनाइ छ । पछिल्लो समयमा आकाशे पानि नपर्दा फड्के किराको प्रकोप देखिएको केन्द्रको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *