होटल तत्काल खोल्न पाउनुपर्ने चितवन होटल संघको माग

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, २९ भदौ

चितवनका होटल व्यवसायीले तत्काल होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । संघका अध्यक्ष शर्मिला न्यौपाने सहितको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । कोभिड १९ का कारण लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण सबैभन्दा बढी प्रभावित होटल व्यवसाय परेको अध्यक्ष न्यौपानेले बताइन् ।

‘सबैजसो होटलहरु भाडामा सञ्चालित छन्, भाडा तिर्न घरबेटीको निरन्तर दबाब छ । कतिपय घरबेटी कत्ति पनि छूट गरेका छैनन्,’ न्यौपानेले भनिन् । निरन्तर जारी लकडाउन र निषेधाज्ञाको कारण पलायन हुने अवस्थाको सिर्जना भएको भन्दै संघले राष्ट्र बैंकद्धारा जारी पुनर्कर्जाको शीर्षकबाट पाउने सहुलियत व्याजदर समेत नपाएको व्यवसायीहरुको गुनासो छ ।
होटल व्यवसायमा प्रत्यक्ष रुपमा संलग्न मजदुरहरुले विगत छ महिनादेखि तलब पाउने अवस्था नरहेको र उनीहरुको दैनिकी कष्टकर बन्दै गएकोले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै व्यवसायीहरुले सञ्चालनको माग गरेका हुन् ।
नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे । शहरबाट बाहिरका सानातिना होटल सञ्चालनमा आएको तर सहरी क्षेत्रका व्यवस्थित होटलहरु बन्द भएको भन्दै यसतर्फ तत्काल ध्यान जानुपर्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जिल्लामा कोरोना संक्रमण झन बढ्दै गएकाले तत्काल होटल रेष्टुरेन्ट सञ्चालन गर्न नसकिने बताए । अवस्था र परिस्थिति हेरेर होटल खुलाउन सहज बनाइने भट्टराईको भनाइ छ । जिल्लामा संक्रमण फैलिरहेको स्रोतको पहिचान गरेर कडाई गर्न थालिएको भन्दै उनले केही समय धैर्य र संयमता अपनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *