पर्वतको कुश्माबजार असाेज ३ सम्म शिल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
पर्वत, २७ भदौ


यात्रा विवरण नै नभएका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि पर्वतको कुश्मा बजार शिल गरिएको छ । स्थानीय प्रशासनले कुश्मा बजार क्षेत्र एक साताका लागि शिल गर्ने निर्णय गरेको हो । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा आज गरिएको परीक्षणमा कुश्मा–३ का ६८ वर्षीय पुरुष र कुश्मा–३ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रसासन कार्यालयमा बसेको आकस्मिक बैठकले कुश्मा बजार शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडा आगामी असोज ३ गतेसम्म सिल गर्ने निर्णय भएको रेग्मीले बताए । उनका अनुसार राजमार्गमा चल्नेबाहेक बजारक्षेत्रमा सार्वजनिक र निजी सवारी, बजारका पसल तथा अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन् । आगामी असोज २ गतेसम्म अत्यावश्यक सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था, सहकारीसहित सरकारी कार्यालय समेत बन्द रहने छन् ।
दुई जनामा कोरोना पुष्टि भएसँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यसअघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइसोलेसनमा उपचाररत छन् । यसअघि असार दोस्रो साता पर्वतको कुश्मा र मोदी गाउँपालिकाका केही समुदायका व्यक्तिमा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *