भक्तपुरमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी सहकारी संस्थाहरु सञ्चालन गर्न पहल

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २७ भदौ


भक्तपुर नगरपालिकाभित्र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी मात्र सहकारी संस्थाहरु सञ्चालन गरिने भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका सहकारी संस्थाका प्रतिनिधिहरुसँग मंगलबार बसेको बैठकले भक्तपुर जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी कोभिड १९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञामा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी सहकारी संस्थाहरु सञ्चालन गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा नगर प्रमुख प्रजापतिले निषेधाज्ञा केही खुकुलो भए पनि भक्तपुरमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढिरहेको विषम् परिस्थितिमा सहकारी संस्थाहरुले सदस्यहरुको सेवामा समर्पित भई सुरक्षित र क्रियाशील ढंगले संस्था सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले महामारी रोकथाम र नियन्त्रणको लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमा जोड दिए ।

बैठकमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, संघका नगर अध्यक्ष जगनाथ प्रजापतिलगायतले भक्तपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको निम्ति गरिरहेको कामहरुमा सहकारी संस्थाहरु आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *