कलुवापुर–बेलौरी सडक निर्माण कार्य कछुवा गतिमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
महेनद्रनगर, १४ भदौ


कञ्चनपुरस्थित कलुवापुर–बेलौरी सडकको निर्माण कार्य सुस्त गतिमा भइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रुपमा समेत रहेको उक्त सडकखण्डको निर्माण कार्य सुस्त गतिमा भइरहेको हो ।

करिब चार वर्ष अगाडिदेखि दुई वटा छुट्टाछुट्टै प्याकेजमा निर्माण भइरहेको उक्त सडकले गति लिन सकेको छैन । पूर्वाधार कार्यालय कञ्चनपुरले जानकारी दिएको योजनाको प्रगति अनुसार उक्त सडकले गति लिन नसकेको हो । पहिलो प्याकेज अन्तर्गत निर्माण कार्य भइरहेको बन्साहा–लालझाडी सडकखण्डको हालसम्म करिब ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार कार्यालय कञ्चनपुरका प्रमुख एवम् इन्जिनीयर धीरेन्द्र भट्टले बताए । उनका अनुसार २०७३ भदौमा शुरु भएको पहिलो प्याकेजको सडक निर्माण कार्यको हाल म्याद थप गरी काम भइरहेको छ । पहिलो प्याकेज अन्तर्गत बन्साहा–लालझाडी ११ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे गरिने छ । उक्त सडकखण्ड निर्माणका लागि आठ करोडमा ठेक्का सम्झौता गरिएकोमा हालसम्म ९० लाख रुपैयाँ निकासा भएको कार्यालयले जनाएको छ ।
त्यस्तै दोस्रो प्याकेज अन्तर्गत निर्माण भइरहेको सोही सडकको लालझाडीदेखि बेलौर बजारसम्मको सडक निर्माण कार्य पनि सुस्त गतिमा नै छ । पूर्वाधार कार्यालय कञ्चनपुरका अनुसार उक्त सडकखण्डको हालसम्म करिब ३० प्रतिशत मात्रै भौतिक प्रगति देखिन्छ ।
उक्त सडक खण्डको निर्माणका लागि १० करोडमा ठेक्का सम्झौता भएकोमा हालसम्म १८ लाख मात्रै बजेट विनियोजन भएको छ ।
सन्तोशी थेगिम् जेभीले निर्माणको जिम्मा पाएको उक्त सडक एउटैै योजना भएपनि दुई प्याकेजमा काम भइरहेको कार्यालय प्रमुख इन्जिनीयर भट्टको भनाइ छ ।

उक्त सडक २०७५ जेठसम्ममा सक्ने सम्झौता भएपनि काम सम्पन्न हुन सकेन । कार्यालयले २०७७ फागुनसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी योजनाको म्याद थप गरको छ । प्रदेश सरकारले यस सडकलाई विस्तार गर्दै बेलौरी–कलुवापुर–नाइल–बुडर सडकखण्ड नाम दिई प्रदेशको गौरवको योजनामा राखेको छ । तर, प्रदेश गौरवकै आयोजनाले भने गति लिन सकेको छैन ।

केन्द्र सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय शुरु गरेको उक्त सडक योजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित बनेको कार्यालय प्रमुख भट्टको दावी छ । ‘प्रदेश सरकारले जिम्मेवारी लिने बेलामा यस सडक योजनाको म्याद सकिएको थियो ।’ कार्यालय प्रमुख भट्टले भने ‘शुरुमा स्वामित्व लिने की नलिने भन्ने अन्योल रह्यो, स्वामित्व ग्रहणपछि प्रदेश सरकारको कानुन अनुसार म्याद थप गर्दा एक वर्षसम्म योजनाको काम प्रभावित बन्यो ।’ कुल चौडाइ ७.५ मीटर र कालोपत्रे ५.५ मीटर चौडाइ बन्ने यो सडकमा हाल ग्राभिल निर्माण कार्य भइरहेको कार्यालयले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गसँग दक्षिणी क्षेत्र जोड्ने जम्मा २३ किलोमिटर लम्बाइ रहेको उक्त महत्वपूर्ण सडकखण्ड स्तरोन्नती नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *