पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली दैलेखमा

विज्ञान/प्रविधि समाचार

सुर्खेत, १५ असार


उद्योग तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान गरि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिएको बताएका छन् । चिनियाँ टोलीसहित पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख जानेक्रममा आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले विस्तृत अध्ययन, अनुसन्धानपछि दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया शुरु गरिने जनाए । ‘विस्तृत परियोजना प्रतिवेदनपछि पेट्रोलियम खानी क्षेत्रको आधारभूत पूर्वाधार निर्माणको काम शुरु हुन्छ,’ उनले भने, ‘प्रतिवेदनले व्यवसायिक रुपमा के, कति उत्पादन लिन सकिने स्पष्ट भएपनि त्यहीं अनुरुपको काम अगाडि बढ्छ ।’ उनले दैलेखका सिरिस्थान, नावीस्थान, कोटिला, धुलेश्वरलगायत क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोलीले विस्तृत अध्ययन, अनुसन्धान गर्ने जानकारी दिए । उनका अनुसार जमिनमुनिबाट पेट्रोलियम ग्यास निस्किरहेको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषण यो नै पहिलो औपचारिकरुपमा शुरु भएको मानिने छ । नेपाल–चीनबीच लामो छलफलपछि चीनको विशेषज्ञ टोली ग्याँस अन्वेषणका लागि दैलेख आएको हो ।
चिनियाँ सरकारको चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागको टोली पेट्रोलियम पदार्थको अन्वेषण गर्न आएको छ । चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएन नेतृत्वको टोली आउने आएको हो । यसअघि वैशाख १८ गते चिनियाँ टोलीले अन्वेषणको मिति तोकेको थियो । टोली आउन ढिलाइ भएपछि वैशाखको अन्तिम साता मिति सारिएको थियो । दुई महिनापछि मात्र चिनियाँ टोली जुन २१ मा नेपाल आएको हो । २०१८ फेब्रुअरी २८ मा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार टोलीले औपचारिक काम थाल्ने खानी तथा भूगर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताए । ‘दैलेख र पाल्पा क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण सँगसँगै हुनेछ,’ उनले भने, ‘पाल्पाका लागि यसअघि नै टोली हिँडिसकेको छ ।’ उनका अनुसार पहिलो चरणमा म्याग्नेटुटेलुडिक सर्भे गरिनेछ । यो सर्भेमा जमिनको ५ देखि २० किमि सतहमुनिको बनावटको अध्ययन गरेपछि पेट्रोलियम पदार्थ जम्मा भएर बस्ने संरचना पत्ता लगाउन सकिने उनको भनाइ छ । दोस्रो चरणमा (स्यास्ट्रिक सर्भे) गरिनेछ । उक्त सर्भेमा जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरिन्छ । ‘यस सर्भेबाट जमिनमुनि पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भनेर पत्ता लाग्छ,’ उनले भने, ‘त्यसपछि मात्र पेट्रोलियम पदार्थ कति मात्रामा छ र आर्थिक रुपमा उत्खननयोग्य हुन्छ कि हुँदैन भनेर थाहा हुनेछ ।’ रजौरेका अनुसार विभागले गरेको अन्वेषणले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित भइसकेको छ ।
केपी शर्मा पहिलो पटक प्रधानमन्त्री हुँदा भारतले नेपालमा नाकाबन्दी गरेपछि मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट भएको थियो । त्यसपछि २०७२ मंसिर २१ गते तत्कालिन सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले शिरिस्थानमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने घोषणा गरेको थियो । नेपाल–चीनबीच २ अर्ब २० करोड बजेट यसमा लगाउने सम्झौता भइसकेको छ । समृद्धिको ढोका खुल्छ । पेट्रोलियम अन्वेषणका लागि लामो समय कसरत गरिएको छ,’ दैलेखबाट प्रतिनिधि सभा सांसद रवीन्द्र राज शर्माले भने । उनले पेट्रोलियम पदार्थको खानी उत्खनन शुरु हुने वित्तिकै जिल्लाको विकासमै आमूल परिवर्तन आउने बताए । यही वर्षबाट दैलेख हुँदै चीनसम्मको सिमानामा रहेको नाम्जे–नाँग्ला सडक सरकारको प्राथमिकतामा रहेकोे छ । यो सँगै पेट्रोलियम अन्वेषण खानी उत्खनन् भएमा दैलेखले समृद्धि हासिल गर्ने शर्माले बताए । दैलेखका शिरिस्थान, नाभीस्थान, पादुका, धुलेश्वर र पञ्चकोशी क्षेत्रमा पेट्रोलियम रहेको छ । यो क्षेत्र धार्मिक तथा पर्यटकीय केन्द्र पनि हो । यो क्षेत्रमा पछिल्ला दिनहरुमा पर्यटकहरुको उलेख्य उपस्थिती हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांस पर्यटकहरु दैलेखको पंचकोशी क्षेत्र पुगेर फर्कने गरेका छन् । पञ्चकोशी क्षेत्रको अस्तित्व बचाएर अन्वेषण हुने सांसद शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *