कालिगण्डकी काेरिडोरः फलेवास–अर्मादी खण्डको ट्रयाक खोल्न शुरु

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
पर्वत, १४ भदौ

विगत एक वर्षदेखि अलपत्र अवस्थामा रहेको कालीगण्डकी कोरिडोरको फलेवास–अर्मादी खण्डको ट्रयाक खोल्न शुरु भएको छ । निर्माण कम्पनीको वेवास्ताका कारण अलपत्र अवस्थामा रहेको १४ किलामिटर खण्ड भदौ महिनाभित्र पूरा गर्ने गरी काम शुरु भएको हो । यो खण्ड दुई वर्ष अगाडि नै सक्नुपर्ने थियो । तर, निर्माण कम्पनी सूर्य कन्स्ट्रक्शनले बीचमै छोडेको थियो । कहिले वर्षा त कहिले कोरोनालाई कारण बनाउँदै आएको निर्माण कम्पनी अन्तिममा आएर बाँकी काम सक्न सहमत भएपछि अहिले पुनः बाँकी काम शुरु भएको कालीगण्डकी कोरिडोर पाल्पाका इन्जिनीयर अर्जुन नेपालीले जानकारी दिए ।

कोरिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्म १४ किमी लम्वाइ छ । यो मध्ये झण्डै २ सय मिटर मात्रै भीरमा ट्रयाक खोल्न बाँकी छ । फलेवास–अर्मादी खण्डमा मोदीबेणीघाट नजिक १ सय ५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको इन्जिनीयर नेपालीले जानकारी दिए । निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले आवश्यक कामदार र उपकरण काममा खटिएको बताए ।


२०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड १९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ । कोरिडोरको पर्वतदेखि स्याङ्गजाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो । कोरिडोर कार्यालयका प्रमुख नगेन्द्र सुबेदीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीबेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीबेणीसम्मको ७ किमीमा सडक कालोपत्रेको टेण्डर भैसकेको छ भने सेतीबेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको छ । रानीपानीदेखि फलेबाससम्मको २२ किमीमा स्तरोन्नतिको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेण्डर आह्वान हुने अवस्था छ ।

जिल्लाका सांसद, कुश्मा नगरपालिका, फलेवास नगरपालिका लगायतको निकायले खवरदारी गरेपछि पर्वत खण्डको काम चाँडो सक्न निर्माण कम्पनी र कोरिडोर कार्यालयलाई नैतिक दवाव परेको छ । फलेवास–अर्मादी खण्ड खुलेपछि मालढुंगादेखि स्याङ्गजाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातायात सञ्चालन गर्न सकिनेछ । यो आर्थिक बर्षभित्र मोदीखोला लमाएखोला, सेती र आँधीखोलाका निर्माणाधिन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात सञ्चालन गर्ने लक्ष्य सहित काम भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *