मतदातालाई नेमकिपाको धन्यवाद ज्ञापन

राजनीति विशेष समाचार समाचार

भक्तपुर, २१ मंसिर


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद् प्रेम सुवालले देशको स्वाधीनता र सार्वभौमिकताको पक्षमा सङ्घर्षरत नेमकिपालाई मतदान गर्ने मदताताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नेमकिपा जिल्ला समिति भक्तपुरद्वारा शुक्रबार नगांचा कमलविनायकमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सचिव सुवालले देशभक्त जनताको मत सिद्धान्त र विचारको नैतिक विजय भएको बताए ।
भारतले नेपाली भूमि मिचेको छैन भन्ने जानकारी प्रकाशमा आएपछि नेपाली भूमि अतिक्रमणको विरोधमा वार्ता होइन अन्तरराष्ट्रिय अदालतमा पुगेर अन्तरराष्ट्रिय गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले उपनिर्वाचनमा देशघातीहरूको जीत दुःखद पक्ष भएको बताए ।
प्रतिक्रियावादी र प्रतिगामीहरूको गठबन्धनमा नेमकिपा नरहेको स्पष्ट पार्दै उनले राजनीतिक र सांस्कृतिक स्तर नभएका मतदातालाई भड्काउने देशघातीहरू दोषी भएको बताए ।
देशघाती दलका नेताहरू नेपाललाई सिक्किम बनाउने चलखेलमा लागिरहेको उल्लेख गर्दै सांसद सुवालले देशमा सन्तुलित विकास नभएको हुँदा अपराध, चोरी–चकारी, हिंसा बढिरहेको बताए।
भूकम्प पीडितलाई राहत पु¥याउन सरकारले अनुदान बढाउनुपर्ने र सहुलियत ब्याजको ऋण प्रक्रिया चालू राख्नुपर्नेमा जोड दिँदै उनले नेपालको सार्वभौमिकता जोगाउन मंसिर २३ गते दिनको १ बजे रत्नपार्कबाट शरू हुने विरोध जुलुस र भारतीय दूतावासमा हुने धर्ना कार्यक्रममा सरिक हुन आग्रह गरेका छन्।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले निर्वाचन हारजितभन्दा जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर रहेको विचार व्यक्त गर्दै बहुमत जनता सचेत भइसकेपछि इमानदार उम्मेदवार जित्ने बताए।
ऐन, कानुन राम्रो भएमा जनताको सेवा हुने विचार राख्दै उनले निर्वाचन प्रतिक्रियावादीहरूलाई उदाङ्ग्याएर जनतालाई सचेत पार्ने मञ्च भएको बताए ।
प्रदेशसभा सदस्यको काम, कर्तव्य र जिम्मेवारी भुलेर पदको दुरूपयोग गरी पैसाको छेलोखेलो गर्ने काम पुँजीवादी व्यवस्थामा हुने चर्चा गर्दै केन्द्रीय सदस्य प्रजापतिले भने, ‘राज्यसँग करोडौँ ठगेर बनेका सांसदहरूले तस्कर, गुण्डा र अपराधीहरूलाई वैध बनाउने कामको विरोधमा नेमकिपा सङ्घर्षरत छ ।’
उहाँले भने, ‘निर्वाचनको हारजित नै शक्तिको मापन होइन, नेमकिपाको सिद्धान्त, विचार र आस्थाप्रति राखेको मतले सङ्घर्ष गर्न थप ऊर्जा मिलेको छ ।’
पुँजीपति वर्गलाई पछार्न कामदार जनता एक हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार र अत्याचार गर्नेलाई जनताले ठाउँ नदिने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेमकिपा समाजवादी प्रचार अभियानमा छ, जनताको सेवाबाहेक नेमकिपाको अर्को स्वार्थ छैन, नेमकिपा विचारमा विचलित हुनेछैन, पुँजीपति वर्गको विरोधमा वैचारिक सङ्घर्ष भइरहने छ, नेमकिपा समाजवादी क्रान्तिको पक्षमा छ ।’
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उपनिर्वाचन पुँजीवादी व्यवस्था विरूद्धको एक चरण हो, एकमनाको सरकारको कारण देश झन् दुर्दशाको स्थितिमा पुगेको बताए ।
नेमकिपाले देश र जनताको सेवा इमानदारीपूर्वक गरिरहेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोसाईले नेपालको स्वाभिमान र सार्वभौमिकता जोगाउन नेमकिपा सदन र सडकमा पनि सङ्घर्षरत गर्ने बताए ।
नेमकिपाले इमान, निष्ठा र आस्थाको राजनीतिक गरिरहेको उल्लेख गर्दै उनले ठूला र सत्तारूढ दलबाट भइरहेको कुकृत्य र जनघाती कदमको नेमकिपा सङ्घर्षरत रहेको बताए ।
निर्वाचनमा प्राप्त मत घटबढले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध लड्न कुनै फरक नपर्ने चर्चा गर्दै उनले निर्वाचित दल र दलका सांसदहरूले नेपाली भूमिमाथि भएको ठाडो हस्तक्षेपको विरोध गर्ने तागत राख्छ कि राख्दैन भने ।
नेमकिपाका उम्मेदवार नीरज लवजूले नेमकिपा जनतालाई राजनीतिकरूपले सचेत पार्छ, निर्वाचनमा कुनै लेनदेन गर्दैन, निर्वाचन राजनीतिक प्रशिक्षण दिने खुला विश्वविद्यालय हो, जनताको सेवा गर्ने माध्यम भएको बताए ।
राजनीतिलाई सही दिशामा लैजानुको सट्टा पैसा बाँडेर र भोजभतेर गरेर जित्ने राजनीतिक दलका नेता र कार्यकर्ताले देशलाई दिशानिर्देश नगर्ने बताउँदै उनले नेमकिपाका मत जनताको विचार जितेर प्राप्त गरेको मत हो, नेमकिपा देशको भूअखण्डता र सार्वभौम देश जोगाउन सङ्घर्ष र इमानको राजनीति गरिररहने बताए ।
नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजूले सभापतिको आसनबाट बोल्दै नेमकिपाको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउन सफल भएको बताए ।
कार्यक्रममा मिनबहादुर बाटाले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *