अब प्राधिकरणबाटै उद्दार उडानकाे अनुमति

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १२ भदाै

उद्दार उडानमा एकद्वार प्रणाली लागू हुने भएको छ । हेलिकप्टर सञ्चालकहरुले उद्दार उडानको अनुमति दिने क्रममा एकद्वार प्रणाली नहुँदा समयमा नै उद्दार गर्न नसकिएको गुनासो गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्दार उडानमा एकद्वार प्रणाली लागू गर्नेबारे छलफल चलाएको हो ।अब यसरी दिइनेछ अनुमति

हिमाली तथा पहाडी जिल्लामा प्राकृतिक तथा अन्य कारणबाट हुने घटनाका घाइतेलाई उद्दार गर्न उडान अनुमति पाउन समय लाग्ने अवस्था छ । सम्बन्धित जिल्ला प्रशासनले गृह मन्त्रालयमार्फत अनुमति दिएपछि मात्रै उद्दार उडान गर्न पाउने प्रावधान छ । तर जिल्ला प्रशासन कार्यालयमा २४ सैँ घण्टा कर्मचारी नहुने भएकाले रातको समयमा अनुमति पाउन मुस्किल रहेको भन्दै हेलिकप्टर सञ्चालकहरुले निरन्तर दबाब दिँदै आएका छन् ।

हेलिकप्टरको ‘सेड्युअल फ्लाइट’ नहुने भएकाले उद्दार उडानमा एकद्वार प्रणाली लागू गर्नुपर्ने सञ्चालकहरुको माग छ । यही माग अनुसार अब नेपाल नागरिक उड्डयन प्राधिकरणले नै अनुमति दिने व्यवस्था गर्न लागिएको छ ।

‘हेलिकप्टरको उद्दार उडानमा अब गृह र जिल्ला प्रशासनको पहिले नै अनुमति नचाहिने व्यवस्था गर्न लागिएको छ’ प्राधिकरण स्रोतले भन्यो, ‘प्राधिकरणले नै दिएको अनुमतिमा उडान हुने र पछि यसको अनुगमन प्रशासनले गर्ने गरी नियम बन्न लागेको छ ।’

हेलिकप्टर सञ्चालकहरुले गृह र सीडीओ कार्यालयले अनुमति दिनुपर्ने व्यवस्था रहेका कारण प्रक्रिया लामो हुँदा समयमा नै उद्दार हुन नसक्ने र बिरामीको ज्यान नै जान सक्ने जोखिम रहेकाले एकद्वार प्रणाली लागू गर्न गरिएको आग्रह सुनुवाइ हुने खबरले उत्साहित भएको बताएका छन् ।

‘काठमाडौँ एयरपोर्टमा एउटा डेक्स राखेर त्यहाँ २४ सैँ घण्टा कर्मचारी रहने व्यवस्था गरेर त्यही डेक्समार्फत अनुमति दिने व्यवस्था गर्नुपर्यो भनेर हामीले भनेका थियौँ’ वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल भन्छन्, ‘उद्दार गरेर ल्याईसकेपछि भेरिफाइ गर्ने काम सरकारका सुरक्षा निकायले गर्दा हुने भएकाले सहजै उद्दार अनुमति दिँदा बिरामी बाँच्ने सम्भावना बढ्छ ।’

वायुसेवा प्रदायक के भन्छन् ?

वायुसेवा सञ्चालक संघले भने आन्तरिक हवाइ उडान तत्काल खोलिदिन माग गरेको छ । हवाइ यातायतमा पहुँच बढाउने र यातायातका साधनमा हवाइ यातायात पनि विकल्पका रुपमा तयारी अवस्थामा छ भन्ने सन्देश दिनका लागि तत्काल अपरेशन सुरु गर्नुपर्ने संघका प्रवक्ता कँडेलको भनाइ छ ।

‘अफिसियल लेखेर केही आएको छैन, तर आन्तरिक खुल्ने कुरा मन्त्री ज्यूले नै बोलिसक्नु भएको छ’ उनले भने, ‘हवाइ उडान खुल्दा सेवा दिन हामी तयारी अवस्थामा छौँ । रेस्क्यु फ्लाइटको सेड्यूअल हुँदैन, यसमा एकद्वार प्रणाली लागू भए समयमै उद्दार गर्न सकिन्छ ।’

साविकको प्रावधान

‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार हुने उद्दार उडानमा भने साविककै प्रावधान रहने छ । हिमाली क्षेत्रमा फसेका पर्यटकहरुको उद्दारमा ‘फेक रेस्क्यु’ हुने गरेको भन्दै सरकारले बनाएको रेस्क्युको कार्यविधि भने झन्झटिलो छ ।

तत्कालका लागि प्राधिकरणकै अनुमतिमा उद्दार उडान हुन पाउने भनिएपनि कार्यविधि भने संशोधन हुने छैन । कोरोना भाइरसको संक्रमण कायमै रहेका कारण प्रक्रिया लामो नहोस् भनेर सिमित समयका लागि यस्तो व्यवस्था गर्न लागिएको प्राधिकरण स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *