स्वास्थ्यकर्मीमा त्रासको ज्वरो, प्रताडित अन्य रोगका बिरामी

विचार विशेष समाचार समाचार स्वास्थ्य

डिबी खड्का

काठमाडाैं, २० चैत

अतिशय भावुकता नै सही, प्रिय वा प्रियसीको काखमा मर्न पाउनुलाई पनि नेपालीहरु अहोभाग्य ठान्छन्। अधिकांस युवा खाडीमा जानुपर्ने देशमा आत्मीय काखमा बाँच्न पाउने अहोभाग्य त कतिलाई नै छ र?

दुईदिनअघि बुटवलको क्वारेन्टाइन अस्पतालमा पाल्पाका बाबुराम थापाको मृत्यु भयो। उनकी श्रीमती रीता थापा परिवारको सुखका लागि खाडीमा पसिना बगाएका बिरामी श्रीमानसँग अन्तिम अवस्थामा सँगै रहन पाइनन्।

अरु समय भएको भए थापाले उपचारका थप सुविधा प्राप्त गर्थे। चाँडै उनको बिरामको निदान हुन्थ्यो वा अझ राम्रो अस्पतालमा रिफर हुन्थे। तर, यो कोरोना त्रासको समय थियो। उनको उच्च ज्वरो र खाडीबाट हालसालै फर्किएको ट्राभल हिष्ट्रीले कोरोनाको शंका गर्नैपर्थ्यो। उनलाई कोरोनाका बिरामीलाई दृष्टिगत गरी बनाइएको कोरोना अस्पतालमा राखियो।

मृत्युपश्चात् कोरोना नभएको ल्याब परीक्षण रिपोर्ट त आयो। तर ‘जिउँदाका जन्तीहरु मर्दाका मलामी’  बन्न आएनन्।

बुटवलस्थित स्वास्थ्यखबर सहकर्मीबाट माथिको खबर पाएको एकछिनमा ट्वीटर स्क्रोल गर्दै गर्दा डा सूर्य पराजुलीको कन्सर्न भेटियो। उनी भन्दै थिए, ‘उचित मापदण्ड र व्यवस्थापन नभएका क्वारेन्टाइन मानव बधशाला नबनुन्।’ माथिको घटनासँग यसलाई लिंक गर्न जरुरी छैन।

तर, यसरी पनि सोच्नुपर्छ, ‘कतै शंकाले लंका जलाइरहेको त छैन?’

घटनाको लिंक नहोला, घटनाक्रम भने लिंक हुँदै गएका छन्। मंगलबार ४ बजे स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा विकास देवकोटाबाट पनि उस्तै प्रकृतिको अभिव्यक्ति आयो। उनी भन्दै थिए, ‘हरेक अस्पताल फिबर (ज्वरो)को केस भन्नेबित्तिकै डराउने अवस्था छ। त्यो रोकिनुपर्छ। फिबरको बिरामी थप जटिलतामा जान सक्छ र मृत्यु पनि हुन सक्छ। ज्वरो त धेरै रोगको लक्षण हो। तर कोरोनाको डरका कारण अहिले ज्वरो त केबल कोरोनामा मात्र देखिन्छ झैं जस्तो अवस्था सृजना भएको छ।

इमर्जेन्सी सेवा नदिने नगर्नुहोला। कुरा माथिको घटनासँग मिल्दो लाग्न सक्छ, तर त्यससँग यसलाई लिंक गर्न जरुरी छैन। किनभने सरकारले प्रशस्त व्यक्तिगत सुरक्षा कवच पिपिई र स्रोतसाधन उपलब्ध गराउन नसकेको अवस्थाको केस थियो यो। लक्षण र ट्राभल हिस्ट्री दुवै भएका बिरामी र आफूसँग त्यास्ता बिरामी जाँच गर्न सुरक्षा कवच पनि नभएका कारण स्वास्थ्यकर्मी सचेत पनि हुनु नै पथ्र्यो।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार ज्वरो आउने वा खोकी लाग्ने बिरामीहरु सकेसम्म हेर्न नचाहने प्रवृत्ति बढेको छ। त्यस्ता गुनासो मन्त्रालयमा दिनदिनै आइपुग्छन्। त्यसैले प्रवक्ता देवकोटाले सार्वजनिक रुपमा आव्हान गरेका हुन्, ‘हरेक अस्पताल फिबरको केस भन्नेबित्तिकै डराउने अवस्था छ। त्यसो नगर्नुहोला।’

यही विषयलाई लिएर पूर्व स्वास्थ्य मन्त्री गगन थापाले वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ट्वीटरमै मेन्सन गरेका छन्। उनले भनेका छन्, ‘अहिले हाम्रो प्राथमिकता कोरोना संक्रमणलाई रोक्नु नै हो। तर अस्पतालको निरन्तर वा आकस्मिक सेवा पाउनु पर्ने अवस्थाका अन्य बिरामीले उपचार नपाउँदा उनीहरूको ज्यान जोखिममा पर्न थाल्यो। यस्तो अपरिहार्य र आकस्मिक स्वास्थ्य सेवा सुचारु गर्ने प्रबन्धको लागि ध्यानाकर्षण गर्दछु।’ गुनासो आएकै कारण थापाले पनि यही विषयमा स्वास्थ्य मन्त्री ढकालको ध्यानाकर्षण गराउनु परेको हो।

कोरोनाका लक्षणहरुमा अहिले प्रमुख ज्वरो आउने र खोकी लाग्ने भनिएको छ। डा ओममूर्ति अनिलले यो विषयमा आएका अध्ययनहरु केलाएर भनेका छन्, ‘ज्वरो ४० देखि ९० प्रतिशत लक्षण हो र सुख्खा खोकी ६० प्रतिशत। कतिमा ज्वरो पहिलो लक्षण हुन सक्छ भने कतिमा खोकी। अन्य लक्षणहरुमा जिउ दुख्ने, थकाइ लाग्ने, पखाला चल्ने वा पेट दुख्ने र घाँटी दुख्ने हुन्छ।’ माथिका लक्षण कोरोनामा मात्रै देखिन्छन् त?

निजी अस्पताल र त्यहाँ स्वास्थ्यकर्मीलाई पनि थाहा छ, अन्य रोगमा पनि यस्तै र यिनै लक्षण देखिन्छन्। यस्तै लक्षण भएका अन्य रोगबाट पीडितको यसअघि उपचार गरेर निको पारिएकै हो।

तर बेला त्यस्तै छ, निर्धक्क उपचारमा लागिहाल्न सकिदैन। स्वास्थ्यकर्मीले यस्तो बेला सचेत हुनुपर्छ। यसको अर्थ हरेक ज्वरो आएको बिरामी कोरोनाले ग्रसित ठानेर उपचार गर्नै ज्वरो आउन थाल्यो भने? कोरोनाको ज्वरो त हालसम्म यो देशमा निकै कमलाई छ, कोरोना होला कि भन्ने ज्वरो धेरैमा छ। कति अस्पताल सञ्चालक र त्यहाँका स्वास्थ्यकर्मी त्यो ज्वरोबाट बढी नै ग्रसित हुँदै गएका पो हुन् कि भन्ने पछिल्ला घटनाक्रमले देखाएका छन्।

यसको अर्थ सवै स्वास्थ्यकर्मीलाई एकै घानमा हालिएको होइन। सिमित व्यक्तिगत सुरक्षा कवच (पिपिई)बाट असिमित सेवा दिइरहेका स्वास्थ्यकर्मी पनि छन्।  उपत्यकामा कसैलाई गाह्रासाह्रो पर्दा सुरुमा सम्झिने वीर अस्पताल हो। त्यहाँ पनि पिपिईको सीमितता छन्।

अस्पतालका वरिष्ठ छातिरोग विशेषज्ञ डा अशेष ढुंगाना अनुभव सुनाउँदै थिए, ‘शंकास्पद बिरामीको हेरबिचारका लागि एकजना चिकित्सक निरन्तर खटिन्छन्।’ किन यसो गरिएको भने पिपिईको मितव्ययी तरिका हो। लगाएपछि ड्युटी सकिदा खोलेर घर जाने गर्छन्। पीपीई लगाएपछि त्यसबीचमा धेरै काम मिल्दैन।

वीर अस्पतालमा पीपीई मितव्ययिताका विषयमा डा ढुंगानासँग फोनमा कुरा गरेको केही समयपछि थाहा लाग्यो, कहीँकतै पीपीईको दुरुपयोग पनि स्वास्थ्यकर्मीबाटै भइरहेको छ। स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्की आफूले प्राप्त गरेको तस्बिर देखाएर भन्दै थिए, ‘एउटाको नमूना लिन ७ जनाले पीपीई लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो। ल्याब परीक्षणका लागि एकजनाको नमूना संकलन न त त्यो संख्यामा जनशक्ति जरुरी छ, न त पीपीई।’ त्यसकारण यस्तो बेला विवेक पुर्याउनुपर्छ। सुरक्षित भएर उपचार गर्ने अधिकारसँगै सिमित स्रोतसाधनको प्रयोगबाट असीमित काम गर्ने दायित्व स्वास्थ्यकर्मीको हुन्छ।

आमजन त्रासमा छन्। उनीहरु डराउनुका पछाडि ज्ञानको सिमितता पनि हो। तर, केही स्वास्थ्यकर्मी यतिबेला चाहिने भन्दा बढी डराएको देखिन्छ। ज्वरो आएको बिरामीलाई उपचार नै नगरी फर्काउने तहको डरले ल्याउने डरलाग्दो चित्रबारे कल्पना गर्दा पनि मुटु ढक्क हुन्छ। किनभने कोरोना नफैलिनुअघि पनि मान्छेलाई ज्वरो आउँथ्यो। मान्छेहरु अस्पताल आउँथे। अधिकांस अस्पतालमा भीडभाड नै हुन्थ्यो। मान्छेहरुलाई आकस्मिक समस्या आइलाग्थ्यो। आकस्मिक समस्याका लागि नजिकको अस्पताल पुग्नुपर्छ। धेरैको नजिकमा त निजी अस्पताल छन्। किनभने सरकारकी अस्पतालको पहुँच सिमित छ। धेरै निजी अस्पतालले त्यस्तो बिरामी लिइरहेको पाइएको छैन। चिकित्सकहरु बिरामी भएको निश्चित समयसम्मको अवधिलाई ‘सुनौलो समय’ भन्छन्। अर्थात् त्यो समयभित्र आइपुग्दा उनीहरु बिरामी बचाउन सक्छन्।

उपचार हुने अस्पताल खोज्दै गर्दा  सुनौलो समय घर्कियो भने? यहाँनेर दुईदिनअघि पाटन अस्पतालमा मृत्यु भएका बिरामीको कुरा गरौं। उनको मृत्यु मल्टि अर्ग्यान फेल भएर भएको चिकित्सकले  बताएका छन्। एउटा कारण चाहिँ ढिलो अस्पताल ल्याइपुर्याएको भनिएको छ। यदि नजिकको अस्पतालले भर्ना लिन नमानेर पाटन अस्पतालमा पुर्याउँदा ढिलो भएको हो भने? यो केसमा त्यसो भएको नहोस्।

कोरोनासँग सचेत हुन जरुरी छ तर डराइहाल्नुपर्ने अवस्थामा नेपालमा आइसकेको छैन। हालसम्म नेपालमा देखिएका संक्रमितको संख्या जम्मा ५ जना हो। ती सवै विदेशबाट आएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटा भन्छन्, ‘जहाँसम्म संक्रमण फैलिने कुरा छ, त्यो संक्रमितबाट फैलिने हो। संक्रमित चारजनाको परिवार र निकटस्थहरुमा फैलिएको स्वास्थ्य मन्त्रालयले पाएन। दुईजना शतप्रतिशत र दुईजनाको ८० प्रतिशत ट्राभल हिष्ट्रि ट्रेसिङ भइसक्यो।’ उनीहरुका परिवारका सदस्य र सम्पर्कमा पुगेका समाजका सदस्यमा सरेको भए अवस्था डरलाग्दो बन्थ्यो। उनीहरुमा नै नपाइएपछि यतिबेला आतंकित हुनुपर्ने देखिदैन।

लक्षण ज्वरो आएको वा खोकी लागेको छ भनेपनि उसको ट्राभल हिष्ट्री विदेशको छैन भने उपचार गर्न डराइहाल्नुपर्दैन। सजग भने हरेकसँग हुनुपर्छ। लक्षण मिल्ने हरेकको उपचार कोरोना आशंकामै थाल्नुपर्ने डा ओममूर्ति अनिलले एक भिडियो मार्फत् बताएका छन्। उनको भनाइ छ, ‘निदानका क्रममा कोरोनासँगै अन्य लक्षण मिल्ने  रोगको पनि परीक्षण गरिनुपर्छ।’

कोरोनाको आशंका गरेर किन उपचार थालिहाल्ने? डा अनिलका अनुसार प्रारम्भिक जाँचमा ५० प्रतिशतमा कोरोना नेदखाउन पनि सक्छ। नेपालमा कोरोनाको परीक्षणका लागि बढी प्रयोग भइरहोको पिसिआर प्रविधी शतप्रतिशत एक्युरेट होइन। त्यसो भए के गर्ने त? बिरामीसँग लक्षण कोरोनाकै छन् र अन्य रोग देखिएन भने सिटी स्क्यान गरिनुपर्छ। उनका अनुसार सिटी स्क्यानबाट ९८ प्रतिशतसम्म सही नतिजा प्राप्त हुन सक्छ।

यही सन्दर्भमा डा सञ्जय गेलालले ट्वीटरमा एउटा रिसर्चको निष्कर्ष अपलोड गरेका छन्। द इन्टरनेट बुक अफ क्रिटिकल केयरबाट उनले लिएको उक्त रिसर्च चीको बुहानका १ हजार १४ केसमा भएको रहेछ। ६ सय १ कोरोनाका बिरामीमध्ये ५ सय ८० लाई पिसिआर र सिटी स्क्यान दुवैले पोजेटिभ देखाए तर पिसिआरले पोजेटिभ देखाएका २१ बिरामीको सिटी स्क्यान गर्दा नेगेटिभ रिपोर्ट आयो। यसैगरी ४ सय १३ बिरामीको पिसिआर रिपोर्टमा कोरोना नभएको देखियो। तर तीमध्य ३ सय ८ जनामा सिटी गर्दा कोरोना भेटियो।  १ सय ६ जनामा मात्रै सिटीमा समेत नेगेटिभ देखियो।

डा गेलाल पनि आइसोलेसनमा रहेका बिरामीको मृत्युसँग यसलाई जोड्दै लेख्छन्, ‘आइसोलेसनकै बिरामी मर्नु, त्यो पनि अल्पायुमा? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका रिपोर्ट गलत छैनन्। प्याथोलोजिष्ट पनि क्षमतावान छन् तर टेस्टकै क्षमताको कुरा हो।’

अहिले विश्वले भन्ने गरेको परीक्षण, फेरि परीक्षण र परीक्षणबाट नतिजा निकाल्ने गरिएको छ त्यहाँ। मुख्य कुरा बाहिरबाट आएकाहरुमा देखिएकाले यो तहको डर त जरुरी छैन। तर उनले भनेजस्तै सचेत भइराख्नुपर्ने चाहिँ देखिन्छ। विदेश ट्राभल हिष्ट्रि भएका लक्षण मिल्ने बिरामीहरुको सिटी स्क्यान समेत गर्दा लाभदायी भने हुने देखिन्छ।

तर, डराएर बिरामीलाई ढोका बाहिरैबाट रिफर गरेको स्वास्थ्य मन्त्रालयको जानकारीमा छ। मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले भन्छन्, ‘एम्बुलेन्स र गाडिले बिरामी लिएर गयो । तर, कोरोनाको आशंकमा बिरामी छुँदै नछोएको भन्ने खबर आएका छन्।’ अधिकांस  निजी अस्पतालका स्वास्थ्यकर्मी त्यसै आतंकित भएर बिरामी हेर्दै नहेरी, उसको बारेमा बुझ्दै नबुझी ज्वरो आएको भन्दै रिफर गरेको पाइयो।

विश्व कोरोनाले ग्रस्त बनिरहेको समयमा नेपालमा जम्मा पाँच बिरामी छन्। उनीहरु पनि निको हुने क्रममा छन्। त्यसैले यतिबेला चिन्ता कोरोनाको मात्रै होइन, यसको त्रासमा अरु रोगका बिरामीले पाउने कष्टको पनि गर्नुपर्ने हुन्छ। कोरोनासँग लक्षण मिल्दा अन्य रोगको उपचार गर्ने कष्टचाहिँ हरेक अस्पतालले उठाइदिनुपर्छ। हरेकले भन्नुको अर्थ निजीले पनि। ज्यान त मान्छेकै जाने हो, कोरोनाले होस् कि अरु कुनै रोगले। (स्राेतः स्वास्थ्य खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *