भक्तपुर, ७ चैत
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीवार आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७५ को परीक्षा केन्द्र एभरेष्ट इङ्गलिस सेकेन्डरी स्कूल, बासु मावि र वागीश्वरी माविको स्थलगत निरीक्षण गरेको छ ।
चैत ७ गतेदेखि शुरु भएको कक्षा ८ को परीक्षामा भक्तपुर नगरपालिकाभित्रका ६७ वटा विद्यालयका २ हजार ४ सय ६९ जना विद्यार्थीहरु परीक्षामा सामेल भएका थिए । बिहीवार सम्पन्न अंग्रेजी विषयको परीक्षामा कूल २ हजार ४ सय ९२ जना मध्ये २३ जना विद्यार्थी परीक्षामा अनुुपस्थित भएको नगर शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले जानकारी दिए । भक्तपुर नगरपालिका नगर शिक्षा शाखाको परीक्षा केन्द्र पद्म मावि, एभरेष्ट इङ्गलिस सेकेन्डरी स्कूल, बासु मावि, जेन्युइन सेकेन्डरी स्कूल, बागीश्वरी मावि, वाइजल्याण्ड सेकेन्डरी स्कूल र आदर्श आजाद मावि गरी ७ वटा विद्यालयमा तोकिएको थियो ।
नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाको पहिलो दिन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको जानकारी उनले दिए । गत वर्षदेखि आधारभूत तहको परीक्षा नगरपालिकाले सञ्चालन गर्दै आएको हो । नगर शिक्षा समितिले जनाएअनुसार उत्तरपुस्तिकाहरु कोडिङ प्रणालीमार्फत परीक्षण गरिनेछ ।