सल्यान, २९ असोज
सानोतिनो लगानीले स्वदेशमा के पो गर्न सकिन्छ र भन्ने धेरैको धारणा हुन्छ । यही धारणा बनाएर सयौं युवा दिनहुं रोजगारीको खोजीमा नेपाल छाडेर विदेश उड्छन् । तर लगनशील भएर काम गर्ने हो भने सानो लगानीले पनि स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सल्यानका सैलुन ब्यबसायी । जिल्लाको शारदा नगरपालिका ६ बरलाका भिम बहादुर सुनारले अहिले सैलुन ब्यबसाय गर्दै आएका छन् । उनले सैलुन ब्यबसाय गर्नथालेको १४ बर्ष भयो । उनको कमाई अहिले मासिक ३० हजारको हाराहारीमा छ । उनको काम प्रतिको लगाव र मनग्य आम्दानीबाट गरेको प्रगति देखेर सबैले उनकोे प्रशंसा गर्छन् । बुवाको सम्पत्ती नलिएका उनले सैलुन व्यवसायको आम्दानीले परिवारको खर्च धानेका छन्, बच्चाको पढाई खर्च जुटाएका छन् भने मासिक बीस हजार रुपैँया बचत गर्दै आएका छन् तर यो सबै आम्दानीको पछाडि उनको धेरै संघर्ष, निरन्तरको मेहनत र लगनशीलता लुकेको छ ।
रोजगारीको क्रममा भारतमा रहदाँ उनले यहाँको एक बैँकमा सेकुरिटी गार्डको काम गर्थे । सोही क्रममा उनले त्यहाँ कपाल काट्ने सिप सिके । ‘सेकुरिटी गर्दा मासिक १८ सय तलव हुन्थ्यो तर कपाल काटेर मासिक २५ सय हुने भयो, मैले भारतमा नै कपाल काट्न थाले, अनी अब नेपालमा नै गर्नुपर्छ भनेर नेपाल आए, रुकुममा सैलुन खोले । त्यहाँ नी राम्रो चल्यो, अहिले जिल्लाको सदरमुकाम खलंगामा नै टप वान हेर कटिङ सेन्टर सञ्चालन गरेको छु’— उनले भने ।
यस्तै करिब १५ बर्ष पहिले देखी कपाल काट्ने काम गर्दै आएका शारदा नगरपालिका २ खलंगाका सञ्जय कुमार सिंहले पनि अहिले मासिक ३० हजार आम्दानी गर्दै आएका छन् । रोजगारीको खोजीमा दुबई, कतार, मलेसिया हुदैँ ओमन सम्म पुगेका उनले अहिले कपाल काटेर नै राम्रो आम्दानी गर्दै आएको बताए ।
‘हातमा सिप नहुदाँ समस्या हुदोँ रहिछ, रोजगारी खोज्दै बिभिन्न देशमा भौतारिए, धेरै दुख पाए, अब नेपालमा नै केही गर्नुपर्छ भनेर सैलुन ब्यबसाय शुरु गरे’ उनले थपे —‘अहिले परिवार सँग बसेको छु, घरायसी सबै खर्च कटाएर मासिक १५ हजार बचत हुन्छ ।’ उनले थोरै लगानीमा पनि राम्रो आम्दानी हुने गरेको बताए ।
‘२५—३० हजारको कमाईका लागि परिवार छाडेर खाडीमा जानु राम्रो होईन’ उनले भने —‘ यदी जानु नै छ भने केही न केही सिप सिकेर मात्रै जानुपर्छ, नत्र दुख पाईन्छ ।’ अहिले जिल्लाको सदरमुकाम खलंगा, श्रीनगर, थारमारे, कपुरकोट, सल्लीबजारमा सैलुन ब्यबसाय सञ्चालन भैरहेका छन् । जिल्लामा सैलुन ब्यबसाय गर्ने युवाहरुको संख्या दुई दर्जन बढी भएको अनुमान छ ।