रोम जल्‍दा निरो बाँसुरी बजाइरहेका थिए, ट्रम्प गल्फ खेल्दैछन्

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ३ भदाै

अमेरिकामा चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विभिन्न टिप्पणी र आलोचना हुन थालेका छन् । हालै डेमोक्रेटिक पार्टीको अधिवेशनको क्रममा सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पमाथि कडा आलोचना गरे । स्यान्डर्सले ट्रम्पलाई अमेरिकामा लोकतन्त्रका लागि नै खतरा व्यक्तिको रुपमा चित्रित गरे । यस्तै विज्ञानलाई ट्रम्पले गर्ने उपेक्षाले अर्थ व्यवस्था र अमेरिकीको जीवन नै जोखिममा पारेको उनको भनाइ थियो ।

सोमबार सुरु भएको चारदिने अधिवेशनमा डेमोक्रेटिकका प्रभावशाली नेताहरुले आफ्नो धारणा राखेका छन् । कोभिड १९ महामारीका बावजुद भर्चुअल रुपमा नेताहरु अधिवेशनमा सहभागी बनेका छन् । उक्त अधिवेशन आगामी नोभेम्बरमा हुने चुनावमा उम्मेदवारहरुको घोषणा गर्न आयोजना भएको हो ।

अधिवेशनकै क्रममा पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले ट्रम्प यस समयकै गलत राष्ट्रपति भएको टिप्पणी गरेकी थिइन् । डेमोक्रेटिकले राष्ट्रपतिको उम्मेदवारको रुपमा जोए बाइडेनलाई चयन गरिसकेको छ । जो पूर्व उपराष्ट्रपति पनि हुन् । यस्तै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस उम्मेदवार बनेकी छन् ।

सिनेटर स्यान्डर्सले अधिवेशनको क्रममा ट्रम्पले देशमा अधिनायकवादलाई बलियो बनाउँदै गरेको आरोप लगाएका थिए । ७७ वर्षीय स्यान्डर्स उम्मेदवार चयनको क्रममा पार्टीभित्र बाइडेनसँग हारेका थिए ।

स्यान्डर्सले अघि थपेका छन्, ‘राष्ट्रपति लोकतन्त्रका लागि खतरा मात्रै हैनन्, उनले विज्ञानलाई अस्वीकार गर्दै हाम्रो जीवन र स्वास्थ्यलाई जोखिममा धकेलेका छन् । ट्रम्पले महामारीमा हामीलाई जोगाउन खोज्ने चिकित्सक र वैज्ञानिकलाई आक्रमण गरेका छन्, जब कि, मास्क, गाउन र अन्य स्वास्थ्य सामग्री उत्पादनमा कडा कदम चाल्न स्वीकार गर्दैछन् ।’

स्यान्डर्सले ट्रम्पलाई पहिलो शताब्दिका शासक निरोसँग पनि तुलना गरे । जो इटालीको रोम सहर जलिरहेका बेला बाँसुरी बजाएर बसेका थिए भनिन्छ । ‘जब रोम जलिरहेको थियो, निरो बाँसुरी बजाइरहेका थिए । ट्रम्प चाहिँ गल्फ खेलेर बसिरहेका छन् । उनको कार्यले महामारीलाई प्रश्रय दियो । जसले गर्दा १ लाख ७० हजारको मृत्यु भयो, र राष्ट्र जनतालाई जोगाउन अझै तयार भइसकेको छैन,’ स्यान्डर्सले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *