उचित व्यवस्थापनकाे अभावमा सुकुम्बासी वस्ती जोखिममा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
धरान, २७ असार


वर्षा शुरु भएसँगै खोला किनारामा बस्दै आएका सुकुम्बासी बस्तीवासीहरु रातभर जागै बस्ने गरेका छन् ।
वर्षाले घर बगाउला कि भत्काउला भन्ने चिन्तामा सदैव रहने गर्छन् । खोला बाढीको जोखिममा रहेका सुकुम्बासी वस्ती जोगाउने नारा अहिलेसम्म चुनाव ताका मात्रै घन्किने गर्दछ । तर चुनाव जितेपछि वस्ती जोगाउन तटबन्धनका लागि कसैको पनि चासो बन्ने गर्दैन ।
वर्षेनी धरानमा खहरे, सर्दु र सेउती खोला किनारमा बसेका सुकुम्बासी वस्तीहरु वर्षा लागेपछि रातभर जागै बस्नुपर्ने अवस्था छ । वर्षौंदेखि चुनावी नारा बन्ने गरेको वस्ती जोगाउने नारामै सीमित रहँदा सुकुम्बासी वस्ती बासीहरु सदैव जोखिममै रहने गरेका छन् ।
केही दिन अघि देखि निरन्तर परेको वर्षाका कारण धरानका सर्दु, खहरे र सेउती खोलाको किनारका बस्दै आएका सुकुम्बासी वस्ती बासीमा खतराको घण्टी बज्न थालिसकेको छ । नेपाल बसोबास वस्ती संरक्षण समाजका अनुसार केही दिनदेखि परेको अविरल वर्षाका कारण धरानका १८ वस्ती जोखिममा परेका छन् । शनिवारसम्ममा ११ वस्तीका करीब १ हजार घर जोखिममा रहेको समाजका केन्द्रीय महासचिव कुमार कार्की बताउँछन् । धरानका विभिन्न क्षेत्रमा रहेको १८ घरमा क्षति पुर्‍याइसकेको उनले बताए ।
स्थानीय सरकारले वस्ती जोगाउनेतर्फ ध्यान नदिए ठूलो धनजनको क्षति हुने उनको भनाइ छ । उनले भने, ‘केही दिनदेखि निरन्तर आएको वर्षाले वस्ती जोखिममा रहेको छ, तत्कालै स्थानीय सरकारले वस्ती जोगाउने र क्षति हुनबाट जोगाउन पहल गर्नुपर्ने छ ।’
उनका अनुसार बाढी र पहिरोबाट देशैभरमा २ सय ३० सुकुम्बासीका घरमा क्षति पुगिसकेको छ भने १८ जिल्लाका ६० हजार सुकुम्बासीका घरतहरा उच्च जोखिममा रहेका छन् । सरकारले उचित व्यवस्थापन र राहतको लागि उनले आग्रह गरेका छन् । साथै समाजका तह तप्काका सदस्यहरुलाई राहत तथा उद्धारमा लाग्न समेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *