खारा पहिरो रोकथामको झण्डै ३० वर्ष, ४ करोड लगानी उपलब्धी शून्य

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
सल्यान, २७ असार


बर्षायाम शुरु भएसँगै सबैले सम्झिन्छन् सल्यानको खारा पहिरो । खारामा पहिरो गएको दशकौँ भएपनि यसको रोकथाम तथा नियन्त्रणमा उपलब्धीमुलक कुनै कार्य भएको छैन । जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटमा पर्ने खारा पहिरोको रोकथाम तथा नियन्त्रणका लागि वि.सं. २०५२ देखि बिभिन्न कार्यहरुको थालनी गरिएको थियो । तर अहिलेसम्म पनि पहिरो नियन्त्रण हुन सकेको छैन भने ठोस योजना पनि निर्माण हुन सकेको छैन ।
बरु बर्षेनी यहाँका सयौँ घर पहिरोको उच्च जोखिममा रहेका हुन्छन् । खारा पहिरोले जमिन भासिँदै जान थालेपछि कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार कपुरकोट वजारका एक सय बढी घर जोखिममा रहेका छन् । पहिरोका कारण बर्षेनी यहाँका घरहरु भासिदैँ गएका छन् भने केही घर भत्किएका पनि छन् । जसका कारण दाङ सल्यान रुकुमको राप्ती लोकमार्ग पनि जोखिममा रहेको छ ।
खारा पहिरोकै कारण वस्ती बिस्तार लगायतका कार्यमा निकै समस्या भएको स्थानीयको गुनासो छ । बर्षेनी बर्षातको पानीले माटो बगाएर लिन्छ तर रोकथामको लागि गरिएको कार्य प्रभावकारी देखिदैनन् । बर्षात शुरु भएसँगै यहाँका स्थानीय बिगत जस्तै चिन्तित बनेका छन् । उनीहरुले बस्ती नै पहिरोले बगाउने हो की भन्ने चिन्ता रहेको बताएका छन् ।
कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले खारा पहिरो रोकथामका लागि धेरै प्रयास गरिए पनि पहिरो जाने क्रम नरोकिएको बताए । खारा पहिरो वर्षातमा मात्र नभई सुक्खा समयमा समेत जाने भएकाले जोखिम सधैं रहेको उनको भनाइ छ । ‘झण्डै ३० बर्ष देखि पहिरो नियन्त्रणको लागि काम भैरहेको छ तर रोकथाम हुन सकेको छैन’ उनले भने ।
खारा पहिरो नियन्त्रण संरक्षण समितिका अध्यक्ष तिलकबहादुर सिहं ठकुरीले पहिरो रोकथामका लागि हालसम्म ३ करोड ८० लाख रुपैयाँ भन्दा बढी खर्च भइसक्दासमेत पहिरो रोकिने छाँटकाँट नभएको बताए । धेरै ठूलो पहिरो भएकाले धेरै लगानी गर्दा पनि नियन्त्रण गर्न नसकिएको उनले बताए ।
उनले भने, ‘पहिरो नियन्त्रण गर्न धेरै क्षेत्रबाट प्रयास भइरहेका छन् तर सबै प्रयास असफल हुँदै आइरहेका छन् ।’ पहिरोका कारण खेतीयोग्य जमिन समेत भासिँँदै गइरहेको छ । ‘यहाँको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ने समस्या रहेको छ, पहिरो रोकथाममा लाग्नुभन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गर्नुपर्छ’ उनले भने ।
कपुरकोटको खारा पहिरोमा संघीय राज्य समेत जानकार भएकाले यसबारे संघीय सरकारले पहल लिनुपर्ने कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष मीनबहादुर सेनले बताए । ‘कपुरकोट बजार नै ७ मिटर तल भासिसकेको भन्दै गाउँपालिकाले पहिरोका कारण भत्किएका घरमा नबस्न पटक पटक सार्वजनिक सूचना जारी गरेपनि स्थानीयले मानेका छैनन्’ उनले भने । यस पहिरो रोकथामका लागि बिज्ञ टोलीद्धारा अनुसन्धान गरेर दिगो समाधानमा लाग्नुपर्ने स्थानीयको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *