स्वस्छ पिउने पानीका लागि गाउँपालिकाद्वारा फिल्टर वितरण

अर्थ/वाणिज्य समाचार स्वास्थ्य

न्यूज अपडेट
दोलखा, २७ असार


दोलखाको शैलुङ गाउँपालिकाले स्वच्छ पिउने पानीका लागि फिल्टर वितरण गरेको छ । गाउँपालिकाले पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत फिल्टर वितरण गरेको हो ।
शैलुङ गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत स्वच्छ पानीका लागि फिल्टरको माग गरेकोले गाउँपालिका र स्थानीय वासिन्दाहरुको साझेदारीमा फिल्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दूलालले बताए । वडा नम्बर ५ का १८२ घरधुरीले यो कार्यक्रम मार्फत फिल्टर प्राप्त गरेको उनको भनाइ छ ।
पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत खानेपानी शीर्षकमा गाउँपालिकाको ५० प्रतिशत अनुदान तथा स्थानीयहरुको ५० प्रतिशत लागत सहभागितामा उक्त वडाका वासिन्दालाई पानी छान्ने फिल्टर उपलब्ध गराइएको शैलुङ गाउँपालिकाले बताएको छ । फिल्टर वितरणका लागि गाउँपालिकाले १ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको तथा स्थानीयले सोही बराबरको रकम ब्यहोरेको गाउँपालिकाको भनाइ छ । उपलब्ध गराइएका फिल्टरहरु १० लिटर क्षमताका रहेको बताइएको छ ।
पानीजन्य कारणले नै नेपालीलाई करीब ७० प्रतिशत रोग लाग्ने गरेको सन्दर्भमा स्वच्छ खानेपानीको महत्व बुझी साझेदारी कार्यक्रम अन्तर्गत फिल्टरको माग गर्नाले स्वास्थ्यप्रति स्थानीयहरु सचेत बन्दै गएको प्रमाणित भएको शैलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीको विश्वास छ । आगामी दिनमा पनि स्वच्छ खानेपानी, सरसफाइ लगायत स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याउने स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए ।
गाउँपालिकाका अन्य वडाहरुले कृषि, वन, मुहान संरक्षण लगायतका अन्य भौतिक पूर्वाधारका कार्यक्रममा साझेदारी गरेको शैलुङ गाउँपालिकाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *