सलह नियन्त्रण गर्न अन्तराष्ट्रिय निकायलाई गुहार्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १५ असार

सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ ।

विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको बैठकमा भारतमा निगरानी गरी त्यसको आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न दुवै निकायलाई गुहारेर सहकार्य गर्ने निर्णय गरिएको हो । उनका अनुसार भारतको राजस्थानमा ठूलो बथान देखिएकाले त्यहाँबाट यो फट्यांग्राको ओहोरदोहोर हुन सक्ने निष्कर्ष निकालिएको छ । ‘भारतको राजस्थानमा अझै ठूलो बथान देखिँदैछ’, मन्त्री भुसालले भने, ‘हामीले नेपालमा नियन्त्रण गरे पनि फेरी उताबाट सर्न सक्ने जोखिम छ ।

त्यही भएर उताको अवस्थामाथि निगरानी राखेर नेपालमा प्रकोप नियन्त्रण गर्ने सवालमा एफएओ र भारतको कृषि मन्त्रालयलाई गुहारेर सहकार्य गर्ने निष्कर्ष निकालेका छौं ।’ उनका अनुसार एफएओ र भारतको कृषि मन्त्रालयको सहकार्यमा यो फट्यांग्राको विषयमा रुट ट्रयाकिङ गरिनेछ । त्यसकै आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न आवश्यक उपाय परिचालन गरिने भएको छ ।

बैठकमा गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समिति, विज्ञ, वैज्ञानिकलगायत सहभागी रहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *