भक्तपुर नगरपालिकाको सातौं नगरसभा चालु, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा छलफल हुनु सकारात्मक

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १३ असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठक शुक्रबार पनि चालु रहेको छ ।

सभामा नगर प्रमुख प्रजापतिले नागरिकता विधेयक, एमसीसी सम्झौता, नेपाली भूमि अतिक्रमण र कोरोना भाइरसको जोखिमलगायतका राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयबारे छलफल हुनु सकारात्मक भएको बताउँदै देश संकट परेको समयमा जनप्रतिनिधि तथा कर्मचारीहरूले इमानदारीपूर्वक जनताको सेवा गर्नुपर्ने बताए ।

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गर्नु सुखद् कुरा भएको बताउँदै उनले खुला सिमानाका कारण नागरिकता विधेयक नेपालको लागि निकै संवेदनशील विषय भएको र विवाह गर्ने बित्तिकै सजिलै अंगीकृत नागरिकता पाउने र अंगीकृत नागरिक प्रशासनिक र राजनैतिक पदहरुमा प्रतिस्पर्धा गर्न पाउने बन्दोबस्तको अन्त्य हुनुपर्ने बताए ।

कम्युनिष्टहरू अन्तर्राष्ट्रवादी हुने बताउँदै उनले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध आवश्यकता औंल्याए । साथै भक्तपुर नगरपालिकाले कोरोना भाइरस संक्रमणबाट नगरबासीहरुलाई जोगाउन विभिन्न गतिविधिहरु गरेको स्पष्ट पारे ।

सभाको विशेष समयमा सभासद्हरू गोविन्द दुवाल, हरिरत्न गोर्खाली, सिद्धिराम अवाल, सूर्यप्रसाद श्रेष्ठ, इन्द्रबहादुर प्याठ, राजेन्द्र माक, रन्जना त्वाती, श्यामसुन्दर मातां, जितेन्द्र मुनंकर्मी, सम्झना खाइजु, शिवप्रसाद बालाले कोरोना बिरामीको लागि सरकारले राम्रो उपचार नगर्दा नेपाली जनतामा मानसिक तनाव बढेको, कोरोना संक्रमितको उपचार गर्न र पीडितलाई राहत दिन जनताबाट अर्बौं रुपैयाँ संकलन गरी खडा गरेको कोरोना कोषको रकममा भ्रष्टाचार भएकोप्रति ध्यानाकर्षण गर्दै विपदको समयमा भ्रष्टाचार गर्नेहरू जनताका शत्रु भएको, सरकारले स्मार्टसिटी, अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने नाममा जलाधार क्षेत्र, सिमसार क्षेत्रलाई म्हास्ने काम गरिरहेको, भक्तपुरका पोखरीहरूमा नौका बिहार तथा माछापालन सञ्चालन गर्नुपर्ने, नागरिकता सिनेमा हलको टिकट जस्तै सजिलै वितरण गर्न नहुने, एमसीसी सम्झौता नेपालको हितविपरीत भएको र त्यसको खारेजीको माग गरेका छन् ।


शुक्रवार बसेको नगरसभा बैठकमा आ.व. २०७७/७८ विनियोजन बजेटमाथि सभासद्हरुले भाग लिए । छलफलमा सभासद् गोविन्द दुवालले पर्यटन शुल्क नउठ्ने भएकोले जनप्रतिनिधिहरुले यो आर्थिक वर्षमा विदेश भ्रमण नगर्ने र बैठक भत्ता आधा लिने निर्णय समयसापेक्ष भएको, खानेपानी व्यवस्थापनको लागि खानेपानी बोर्डलाई जिम्मेवार बनाउनुपर्ने बताए । सभासद् हेरा ख्याजुले उद्योग तथा व्यवसाय कर समयअनुसार बढाउनुपर्ने, दर्ता नभएकालाई करको दायरामा ल्याउनुपर्ने बताए । विनियोजन विधेयकमाथिको छलफलमा सभासद्हरु इन्द्रबहादुर प्याथ, हेरा ख्याजु, शिवप्रसाद बाला, बलराम न्हिसुतु, राजेन्द्र माक, तुल्सीलक्ष्मी दुमरु, सूर्यप्रसाद श्रेष्ठलगायतले पनि आ–आफ्नो धारणा राखेको थियो ।
नगरसभाको अर्को बैठक असार १४ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको नगरपालिका स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *