सबै नागरिकलाई सैनिक तालिमको व्यवस्था गर्न संविधान संशोधन विधेयक दर्ता

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १८ वर्ष पुगेका सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिने संवैधानिक व्यवस्थाको प्रस्ताव गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले शुक्रबार संघीय संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनसँग सम्बन्धित गैरसरकारी विधेयकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधान हटाउनेलगायत प्रस्ताव समेटिएका छन् ।

राष्ट्रियताको रक्षाका लागि सबै नागरिकाई सैन्य तालिम दिनु आवश्यक रहेको बताउँछन् सांसद सुवाल । ‘अहिलेको अवस्थामा त झन् सैन्य तालिम अनिवार्य छ भन्ने देखिन्छ’ सुवाल भन्छन्, ‘वर्तमान शासकीय स्वरुप पनि भएन । हामीले सुरु देखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्दै आएका छौं, विधेयकमा त्यही छ ।’

संविधान निर्माणका बेला तत्कालिन नेकपा माओवादीले १८ वर्ष पुगेका नेपाली नागरिकलाई सैन्य तालिम दिने व्यवस्थाको प्रस्ताव गरेको थियो । तर, दलहरुका बीचमा सहमति हुन सकेको थिएन ।

नेमकिपाले त्यस बेला पनि तत्कालिन माओवादीको यो प्रस्तावमा समर्थन जनाएको थियो ।

यसैगरी, नेमकिपाले संविधान संशोधन विधेयकमार्फत नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने, एकसिंगे गैंडालाई राष्ट्रिय जनावर मान्ने जस्ता व्यवस्थाहरुको पनि प्रस्ताव गरेको छ ।

सरकारले लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सालाई संवैधानिक मान्यता दिने गरी संविधान संशोधन विधेयक ल्याएपछि अन्य दलहरुले आफ्ना विगतका माग ब्युँत्याउँदै धमाधम संविधान संशोधनसँग सम्बन्धित गैरसरकारी विधेयक दर्ता गर्न थालेका छन् ।

यसअघि, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी, कांग्रेसका ८ जना सांसद र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनसँग सम्बन्धित छुट्टाछुटै गैरसरकारी विधेयक दर्ता गरेका छन् ।

नेमकिपाका सांसद सुवालले शुक्रबार दर्ता गरेको संविधान संशोधनसँग सम्बन्धित विधेयक, चौथो गैरसरकारी विधेयक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *