उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण’ विषयक छलफल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १४  भाद्र


नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा काठमाडौं उपत्यकाभित्रका ७ वटा महानगर तथा नगर प्रमुखहरूबीच ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण’ विषयक छलफल कार्यक्रम सोमबार मन्त्रालयको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी उपत्यकामा पठाउन ढिलाइ गर्न नहुने बताउदै भक्तपुरको मुख्य पानीको स्रोत नगरकोटलाई सरकारले जलाधार क्षेत्र घोषणा गराउन गराई त्यस क्षेत्रको सुरक्षा र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइनुपर्नेमा जोड दिए ।
उनले भक्तपुरका खानेपानीका पाइपलाइनहरू निकै पुराना भइसकेको अवगत गराउँदै ती पाइपहरू फेर्नुको विकल्प नरहेको, ढल तथा खानेपानीको पाइप सँगै राख्न नहुने र मेलम्चीको पानी नआएसम्मको लागि बोडेबाट आउने पानीको मात्रा बढाउनुपर्ने बताए ।
महादेव पोखरीमा ड्याम बनाउने कुरा छिटो छरिटो ढंगले अगाडि बढाउनुपर्ने बताउँदै प्रमुख प्रजापतिले सिस्नेरी खानेपानी आयोजनालाई विकल्पको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालले खानेपानीको स्रोत अभावलाई मन्त्रालयले वैकल्पिक उपाय अपनाएर समस्या समाधानतर्फ जोड दिनुपर्ने बताउदै केयुकेयलले उपत्यकाको खानेपानी व्यवस्थापन र आपूर्तिमा क्रियाशीलता देखाउनुपर्ने बताए ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै उपत्यकामा नयाँ बस्तीको विकाससँगै खानेपानीको समस्याले विकराल रुप लिंदै गएको बताए । उनले वर्षामा ठूलो पानी पर्दा मेलम्ची आयोजनामा क्षति पु¥याउने सम्भावना भएको हुँदा मेलम्चीको पानी पथान्तरणमा रोक लगाएको बताउदै दशैं–तिहार पछाडि पुनः मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने तयारीमा मन्त्रालय अगाडि बढिरहेको बताए ।
कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाकातर्फबाट उपस्थित प्रतिनिधिहरूले ललितपुरका धेरै क्षेत्रमा मेलम्चीको पाइप बिछ्याउन अझ पनि बाँकी रहेको हुँदा उक्त स्थानमा पाइप बिछ्याउनुपर्ने, मेलम्चीबाहेक अन्य खानेपानी स्रोतको पहिचान र संरक्षणमा जोड दिनुपर्नेमा जोड दिए भने इ. महेश भट्टराईले ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण गर्ने विषयमा प्रस्तुतीकरण देखाएको थियो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीको अध्यक्षतामा बोलाइएको उक्त बैठकमा माननीय मन्त्री अनुपस्थित भएकोले मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा सो बैठक सम्पन्न भयो । कार्यक्रममा केयुकेएलका सीईओ मिलन शाक्य, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, पीआईडीका प्रतिनिधि, मेलम्ची खानेपानी आयोजना, एडीबीका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *