बिहीबारदेखि बिहान ११ बजेसम्म उपत्यकाका सम्पूर्ण पसल खुल्ने महासंघको अडान

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमडौं, २२ जेठ

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै ७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजदर / किस्ता, कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समस्या भएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघ अन्तरगरत संगठित राजधानीका सम्पूर्ण होलसेल तथा रिटेल पसलहरु बिहीबारदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने तयारी गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

व्यवसायीहरु एकातिर व्यापार ठप्प हुँदा आम्दानी नहुने तर खर्च बढ्ने समस्यामा पिल्सिंदा सरकारले कर तिर्न ताकेता गरिरहेको तर लकडाउन खोल्ने बिषयमा कुनै तादरुकता नदेखाएको भन्दै व्यवसाय सञ्चालनको तयारी थालिएको राष्ट्रिय व्यापार संघका अध्यक्ष अञ्जन शाक्यले जानकारी दिए ।

‘बिहीबार बिहानदेखि हाम्रा सम्पूर्ण व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका छौँ । त्यसको जानकारी स्थानीय सरकार, वडा कार्यालय र प्रहरी प्रशासनलाई समेत गराएका छौँ, सरकारले धरपकड गर्न खोजे देशभरका व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रन्छौं ।’ अध्यक्ष शाक्यले भने ।

लगातारको लकडाउनले व्यवसायीको सामान केरुङमा अड्केको छ । घरभाडा, बैंकको किस्ता, ब्याजको मिटर लगातार बढिरहेको छ । यो अवस्थामा सरकारले कर तिर्न उर्दी जारी गर्नुकेा सट्टामा पूर्ण रूपमा लकडाउन खुलेपछि १५/२० दिनको समय उपलब्ध गराएर कर तिर्न भनेको भए सहज हुन्थ्यो, कर उठाउने सरकारको शैली र समय ठीक भएन ।’ अध्यक्ष शाक्यले भने ।

लगातारको लकडाउने व्यापार व्यवसायबाट पलायन मात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएपछि कुनै रहरले नभएर बाध्यताले व्यापार व्यवसाय खुला गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

व्यवसाय खुला गरेपनि व्यवसायीहरुले सामाजिक दुरी कायम गर्ने, माक्स तथा स्यानिटाइजरको अनिवार्य प्रयोग लगायत विश्व स्वास्थ संगठन तथा नेपाल सरकारले तोकेको न्युनतम मापदण्डको पालना गर्ने समेत महासंघले स्पष्ट पारेको छ ।

पसल तथा व्यवसाय खुला गर्दा व्यवसायीलाई राज्यबाट बन्द गर्न दबाब आएमा अथवा बल प्रयोग गरेमा व्यवसायीले राज्यलाई तिर्ने कर घरभाडा बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको समेत जिम्मा सरकारले लिनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *