अमेरिकामा हिंस्रक प्रदर्शन चर्किए पछि ट्रम्पले सेना र प्रहरी उतार्ने

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

एजेन्सी, २० जेठ

अमेरिकामा हिंस्रक प्रदर्शन चर्किए पछि ट्रम्पले सेना र प्रहरी उतार्ने

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् । वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् । यस्तै, न्यूयोर्कका मेयरले पनि रात्री कर्फ्यूको घोषणा गरेका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले हिंसा रोक्नका लागि आफूले हज्जारौं प्रहरी र सैनिक तैनाथ गर्ने बताएका छन् । पछिल्लो एक हप्तादेखि अमेरिकाका थुप्रै शहरमा हिंसा, आगजनी र लुटपाटको घटना भइरहेको छ ।
ह्वाइट हाउसबाट टिभीमा भाषण दिएपछि राष्ट्रपति ट्रम्प आफ्नो सुरक्षाकर्मीसहित नजिकैको एउटा चर्च गएका थिए । यो चर्चलाई प्रदर्शनकारीहरुले क्षती पुर्याएका छन् । ह्वाइट हाउस बाहिर प्रदर्शनलाई प्रहरीले समाप्त गरिदिएको छ ।
यसैबीच परिवारले गराएको जर्ज फ्लोइडको पोस्टमार्टममा उनको मृत्यु अक्सिजनको कमीका कारण भएको बताइएको छ । परिवारका अनुसार जर्ज फ्लोइडको पोस्टमार्टम गर्ने डाक्टरले  घाँटी र कम्मरमा दबाब परेका कारण उनको मृत्यु भएको बताएका छन् ।
मिनियापोलिसका एक प्रहरी अधिकारीले थुप्रै मिनेटसम्म फ्लोइडको गर्धनलाई घुँडाले थिचेर राखेका थिए । परिवारको तर्फबाट गराइएको यो पोस्टमार्टमको नतिजा सरकारी पोस्टमार्टको नतिजाभन्दा फरक छ ।
काउन्टी मेडिकल एग्जामिनरको तर्फबाट गराइएको पोस्टमार्टममा घाँटी थिचेर अक्सिजनको कमी भएको पुष्टि गरिएको थिएन ।  आधिकारिक पोस्टमार्टममा उनको मृत्युलाई होमिसाइड वा हत्या भनिएको छ ।
 यसैबीच जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शन अमेरिकाको विभिन्न शहरमा फैलिएको छ । वासिङ्टनमा त प्रदर्शनकारी ह्वाइट हाउस बाहिर पनि जम्मा भए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गासमेत हाने ।
लगातार छैटौं दिन अमेरिकाका विभिन्न शहरमा विरोध प्रदर्शन भयो र थुप्रै स्थानमा हिंसाले व्यापक रुप लियो । करिब ४० शहरमा कर्फ्यू लगाइएको छ तर मानिसहरु सडकमा उत्रिए । यसैकारण तनाव निकै बढेको छ ।
 न्यूयार्क, शिकागो, फिलाडेल्फिया र लस एन्जेलेसमा प्रहरी र प्रदर्शनकारीबीच संघर्ष भयो । यस्तै, राष्ट्रपति ट्रम्पले प्रान्तिय गभर्नरलाई प्रदर्शनकारीविरुद्ध कडा रुपमा उत्रन आदेश दिएका छन् ।
एक भिडियो कन्फरेन्समा राष्ट्रपति ट्रम्पले दशकको सबैभन्दा खराब जाती र नागरिक अशान्तिको घटनामा गभर्नरको प्रतिक्रिया कमजोर भइरहेको आरोपसमेत लगाए ।
स्रोतː बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *