सातौं चरणको लकडाउनको अन्तिम दिन : बढ्यो उपत्यकामा सवारी चाप

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २० जेठ

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारि लकडाउन ७१ औं दिनमा पुगेको छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको छ ।

मंगलबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधनको आवागमन बढेको पाइएको छ । प्रहरीले पनि जाँच पनि केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ । कामबिना सवारी सञ्चालन गर्नेलाई भने नियन्त्रणमा लिई कारबाही गरेको छ ।

उपत्यकाका भित्री सडकमा रहेका अत्यावश्यक खाद्यन्न तथा तरकारी पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेका देखिन्छ ।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ २० गते (आज) सम्मका लागि तोकिएको थियो । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ । तर, यस बीचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइराखेको बताइएको छ ।

शनिबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनको नयाँ ढाँचा तयार गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएको थियो । सोही निर्देशन अनुसार समितिले आज लकडाउनको मोडालिटीमा छलफल गर्न बैठक आह्वान गरेको छ । लकडाउन सुरु हुँदा चैत ११ गते कोरोना संक्रमित दुई जना मात्रै थिए । अहिले ७१ औं दिनमा आइपुग्दा संक्रमितको संख्या १ हजार ८११ पुगेको छ । यसबीचमा ८ जनाको मृत्यु भइसकेको छ ।

लकडाउन भए पनि संक्रमितको संख्याको वृद्धिदर बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भीर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दबाब पर्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *