कोभिड र बिरामीको भीड

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १९ जेठ

डा सुवास प्याकुरेल

कोभिड र भीडको घनिष्ठ सम्बन्ध छ। भीड गर्दा कोभिड सर्ने सम्भावना बढ्छ तर कोभिड आफैं भने आउनु परेपछि यसरी आउँछ कि अस्पतालमा बिरामीको भीड नै गराउँछ।

उसै पनि महामारी भन्नासाथ रहे-भएका अस्पताल, उपकरण र उपायले भरथेग गर्न  कठिन नै हुन्छ, त्यसमाथि बिरामीको अस्पताल आउने दर  र घर पठाउने दरबीच थोरै सन्तुलन गुम्नासाथ बिरामीको ट्राफिक जाम हुन पुग्छ र व्यवस्थापन झनै चुनौतीपूर्ण बन्न पुग्छ।

महामारीको समयमा काममा व्यस्त रहनुपर्ने अस्पताल जब अस्तव्यस्त हुन्छ, यसको असरको बाछिट्टा समुदाय र घरपरिवारतिरै सोझिन्छ। अबको तत्काल कदम उठाउनुपर्ने एजेन्डा  भनेको  कुनकुन अवस्थामा संक्रमित व्यक्ति वा सम्भावित व्यक्ति घरमै बस्ने र कसरी बस्ने, कार्यविधिसम्मत सञ्चालित क्वारेन्टाइनमा  कस्तो व्यक्ति राख्ने, कस्तो व्यक्तिलाई आइसोलेसनमा राख्ने, कस्तो व्यक्तिलाई अन्य वार्डमा राख्ने, कुन कडापन आउँदा आइसियुमा राख्ने, कस्तो अवस्थामा भेन्टिलेटर चाहिने र कस्तो अवस्थामा डिस्चार्ज गर्ने भन्ने विषयमा प्रोटोकल प्रस्ट हुने र परे हेरफेर गर्न तयार हुने नै हो। उसै पनि परिस्थितिजन्य रणनीति फेरबदल भइरहनु महामारीको चरित्र नै हो।

अस्पतालमा भीड कम गर्ने सम्बन्धमा निम्न उपाय सोच्नु पर्ने देखिन्छ:
१. न्यून कडापनको लक्षण हुँदासम्म पनि सकेसम्म घरमै क्वारेन्टाइन र आइसोलेसनमा बस्ने गरी जनचेतना छरिनुपर्छ। यसको अर्थ कडापन बढ्दै जाँदा अस्पतालको सम्पर्कमा आउने गरी प्रत्येक स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ र केस इन्भेस्टिगेसनको टिमलाई कस्तो स्थितिमा कसलाई कता पठाउने भन्ने छाँट्ने गरी  ‘कम्युनिटी ट्रायज’ को समेत जिम्मा तोकिनुपर्छ।

कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूमा अत्यधिक छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, निलो हुने र बेहोसीका संकेत हुने अवस्थामा चाहिँ अस्पताल जानुपर्छ भने अन्य अवस्थामा भने सकेसम्म घरमा नै सुरक्षित रही बस्ने र नजिकको स्वास्थ्यकर्मीसँग फोन वा भिडियोमार्फत सम्पर्कमा रहनु उपयुक्त हुने गरी सबैलाई सन्देश दिनुपर्छ।

२. पिसिआर पोजिटिभ देखिनासाथ लक्षण नभए पनि भर्ना गर्ने क्रम रोकिनुपर्छ र लक्षणको कडापन अनुसारको स्थापित प्रोटोकलभित्र रहेर वार्ड वा आइसियु कहाँ भर्ना गर्नुपर्ने हो, निर्क्योल गरी तदनुरुप गर्नुपर्छ। अहिलेसम्मको सिस्टम हेर्दा पिसिआर टेस्ट पोजिटिभ आउनासाथ अस्पतालमा नै भर्ना गर्ने नीति लिने हो भने वास्तविक रुपमा उपचार चाहिने तहको बिरामीले भने उपचार नपाउने स्थिति आउँदै जान्छ।

३.  कोभिड व्यवस्थापनका लागि भनी छुट्ट्याइएको अस्पतालले मात्रै अब अहिलेको गड्गडाएर उर्लिएको कोभिडको भेल थेग्न सक्ला कि नसक्ला, अहं प्रश्न छ। अहिलेसम्म सरकारले २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल, २२ वटा मेडिकल कलेजका शिक्षण अस्पताल र १५ वटा निजी अस्पताल गरी जम्मा १२६ अस्पतालमा मात्र कोभिड बिरामी हेर्ने र राख्ने अनुमति दिएको छ। तर यस्तो जटिल अवस्थामा क्षमता भएका र इच्छा जताएका सामुदायिक, निजी र स्थानीय तहका अस्पताललाई पनि अब स्वीकृति दिनु र समन्वयकारी सहकार्य गर्न ढिला गर्नु हुँदैन। यसको अर्थ उनीहरुलाई खुला छोडिदिनुपर्छ भन्ने होइन, नियमनको लगाम सरकारसँग सुरक्षित राख्नुपर्छ नै।

४. लक्षण हराइसकेको वा क्रमश: हराउँदै गएको बिरामीलाई घर पठाउने वा डिस्चार्ज गर्ने सम्बन्धमा अहिले रहिआएको प्रोटोकलमा पुनर्विचार गरिनुपर्छ। पिसिआर नेगेटिभ नआउँदासम्म डिस्चार्ज नगर्ने नीति जारी राख्ने हो भने लक्षण मुताबिक निको हुँदै गइसकेका र अरुलाई रोग सार्ने सम्भावना पनि क्षीण भइसकेका व्यक्तिहरु चाहिँ पटकपटक गरिराखिएको पिसिआर टेस्टमा कहिले नेगेटिभ आउला र घर जान पाइएला भनी अस्पतालमै गीत गाएर र नाचेर बसिराख्नुपर्ने तर लक्षण भएर घरमा राख्न नसकिने बिरामीलाई भने बेड नमिल्ने अवस्था सिर्जित हुन पुग्छ।

सिंगापुरमा  गरिएको अध्ययन अनुसार पहिलो लक्षण देखिएको एघार दिनपछि अरुलाई रोग सार्ने क्रम लगभग समाप्त नै हुन्छ। त्यसैमा टेकेर सिंगापुर सरकारले  डिस्चार्ज गर्ने रणनीतिमा परिमार्जन गर्न लागेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पनि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको परामर्शमा गत मे आठ तारिखदेखि नै कोभिड बिरामी डिस्चार्ज गर्ने प्रोटोकललाई ‘टेस्ट-बेस्ड’ बाट ‘सिम्पटम-बेस्ड’ र ‘टाइम-बेस्ड’ मा फेरबदल गरिसकेको छ।

कोशी अस्पताल अन्तर्गत तयार गरिएको कोभिड विशेष अस्पतालका संयोजक  डा दीपक सिग्देल भन्नुहुन्छ- कोहीकोही बिरामी त पिसिआर नेगेटिभ देखिने कुराईसँगै आजको मितिमा गन्दा ४२ दिनसम्म अस्पतालमै राखिएका छन्। त्यो बीचमा उही बिरामीका लागि पाँच पटकसम्म पनि टेस्ट गरियो, जुन आफैंमा स्रोत र साधनको दुरुपयोग नै हो। महामारीमा त सकेसम्म कम स्रोतमै व्यवस्थापन गर्नुपर्नेमा पाँच जना बिरामीको टेस्ट एकै जनामा खर्च भयो कि जस्तो लाग्यो। अन्य शंकास्पद र सम्भावित बिरामीलाई टेस्ट गर्न नपाइएको अवस्थामा एकै व्यक्तिमा धेरै पटक टेस्ट गरिराख्नु उपयुक्त होइन। हालसम्म ६७ जना कोभिड बिरामीको उपचार गरी ३० जना बिरामी निको पारी घर फर्काइदाको अवस्थामा सबैभन्दा कम अवधिमा फर्काइएको भनेको २ जनालाई १५ दिनमा मात्र हो। यसको अर्थ हो- क्लिनिकल मेनेजमेन्ट प्रोटोकल त्यसमा पनि डिस्चार्ज क्राइटेरिया समयसापेक्ष परिमार्जन गरिएन भने अस्पतालमा बिरामीको भीड थेगिनसक्नु नै हुन्छ।

यसै प्रसंगमा भेरी अस्पतालका कोभिड व्यवस्थापन कोर टिमका डा बद्री चापागाईंको पनि भनाइको आसय उस्तै नै छ। बिरामीको आउने-जाने सन्तुलन मिलाउनु अबको ‘हार्ड-हिट’ हानिरहेको स्थितिमा उच्च प्राथमिकता पाउनुपर्ने इस्यु हो। अस्पतालमा ‘फ्लो’ मिलाउन सकिएन भने एकातिर त्यसको ‘ब्याकफ्लो’ घर, समुदाय, क्वारेन्टाइन केन्द्रमा पर्न जान्छ भने अर्कातिर त्यसले एम्बुलेन्स, अस्पताल, चिकित्सक, नर्स र प्रशासनमा पनि ‘ब्याकफायर’ हान्न सुरु गर्छ। तसर्थ बिरामी छिर्ने क्रममा चाहिँ एक्सिलेरेटर दबिने र बिरामी निस्कनेमा चाहिँ ब्रेक दबिने स्थितिको रोकथाम गर्नु निर्विकल्प आवश्यकता हो।

कोभिडका सन्दर्भमा नेपालले अन्य मुलुकको ट्रेलर हेर्ने सुविधा पायो। हामीले के-कति सिक्यौं, के-कति तयारी गर्‍यौं र गरे पनि  पर्याप्त गर्‍यौं कि गरेनौं  भन्ने प्रश्नको उत्तर अब समयले नै माग्दैछ। हालसम्म सरकारी अस्पतालहरुले सक्दो मिहिनेत गरेका छन्, सीमित स्रोत-साधनका बाबजुद पनि गाइडलाइन मुताविक चलेर कोभिड बिरामीको व्यवस्थापन मात्रै गरेका छैनन्, धेरैलाई निको पारेर हातमा पुष्प गुच्छा दिँदै घर फर्काएका छन्।

त्यत्ति धेरै आत्मविश्वास र जनविश्वास बोकेका यिनै अस्पतालका चिकित्सकहरु पनि अहिलेको मुस्लो छोपेर आएको संक्रमितको संख्यासँगै अस्पतालमा हुने बिरामीको सम्भावित ट्राफिक जाम र अस्तव्यस्तताका कारण चिन्तित देखिन्छन्। यस चिन्ताको उच्चतम उपाय भनेको बिरामीको ‘इन्ट्री-एक्जिट’ सन्तुलनका खातिर प्रोटोकल परिमार्जन नै हो।

हो, कोभिडको आचरण आफैंमा विचित्रको छ। शारीरिक रुपमा छुट्टिएर बस्नुपर्ने तर भावनात्मक रुपमा एक हुनुपर्ने, बस्दा एक्ला-एक्लै बस्नुपर्ने तर काममा सामूहिक प्रयास हुनुपर्ने, हात मिलाउन नहुने तर सबै मिलेर हातेमालो गर्नुपर्ने, मास्कले मुख छोप्नुपर्ने तर आवाज झनै मुखरित गर्नुपर्ने, रोग सर्ला भनी डराउनु पर्ने तर मन दरिलो पार्नुपर्ने। अनुशासनरुपी औषधि, सहकार्यरुपी सुई र भाइचारारुपी भ्याक्सिनको आडमा हाम्रो प्रयास जारी राखौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *