नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ११ जेठ

नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ।

डा देवकोटाका अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो।

आइतबार भेटिएका सबै संक्रमित पुरुष रहेको मन्त्रालयले जनाएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पिसिआर परीक्षणमा मोरङ बारदही ३ का ४५ वर्षीय पुरुष छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये बारा कलैयाका ३२ वर्षीय, वीरगञ्ज पर्साका २५ वर्षीय, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय, पर्सा नागवाका ६० वर्षीय, रौतहट घर भई कलैयामा रहेका ३२ वर्षीय, सर्लाही हरिपुर ६ का ४८ वर्षीय, रुपन्देही सम्यारीमाई ५ का ४० र ५० वर्षीय, रुपेन्देहीका ३२ वर्षीय, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय र  नुवाकोटा ककनीका ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवाका २३, ३० र ४० वर्षीय पुरुषमा संक्रमण भेटिएको छ। कपिलवस्तु खैरातीका ३५, ३७ र ५२ वर्षीय र गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *