चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप सरकारले ल्याउन सकेन 

अर्थ/वाणिज्य विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ४ चैत्र

चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन बोलाएको दुईसाता बितिसक्दा पनि नेपालले खोप ल्याउन सकेको छैन।

नेपालमा कोरोनाविरुद्धको खोप अभावका कारण खोप अभियान नै प्रभावित भइरहेपनि सरकारले चीनले अनुदानमा दिएको खोप भने ल्याउन सकेको छैन। चीन सरकारले अनुदानमा दिन लागेको खोप लिन नेपाल सरकार आफैले विमान चार्टड गर्नुपर्ने भएपछि नेपालले अझै खोप ल्याउन नसकेको हो।

चीन सरकारले करिब दुईसाता अघि नै नेपाललाई ८ लाख जोड सिनोफार्मले उत्पादन गरेको खोप दिने बताइसकेको छ।

तर, खोप ल्याउन विमान नै चार्टड गर्नुपर्ने भएपछि सो खोप अझै नेपालमा आउन नसकेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमूख डा भिमसिंह टिंकरीले बताए।

उनका अनुसार चीन सरकारले खोप अनुदानमा दिने र नेपाल सरकारले आफैं ल्याउनुपर्ने भएपछि नेपाल एयरलाइन्ससँग अनुमानित विमान भाडा माग गरेको थियो।

नेपाल एयरलाइन्सले सो खोप विमान चार्टड गरी नेपालमा ल्याउन १ करोड ८० लाख रुपैयाँ लाग्ने जानकारी  स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ।

नेपाल एयरलाइन्सले दिएको अनुमानित खर्च व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले ५ दिन अघि नै अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पहल गर्न समेत परिपत्र गरिसकेको छ।

तर अर्थ मन्त्रालयबाट रकम निकासा गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएपछि खोप ल्याउन रकम अझै निकासा भइसकेको छैन।

‘स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई खोप ल्याउन लाग्ने  अनुमानित रकम सहितको फाइल पठाएको ४,५ दिन नै भइसक्यो,’ डा टिंकरीले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र विमान पठाउन मिल्छ भन्ने कुरा आएको छ, अहिलेसम्म मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन।’

डा टिंकरीका अनुसार चीन सरकारले अनुदानमा दिन लागेको खोप प्रतिडोज ४८ डलर सम्म पर्छ।  सिनोफार्मको खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउने हुन्छ। तर, सो खोप खरिद गर्न महंगो पर्ने र चीन सरकारले ८ लाख डोज मात्र सहयोग गर्ने भएकाले सो खोप ४ लाख व्यक्तिहरुलाई योजना बनाएर लगाउनुपर्ने डा टिंकरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *