भक्तपुर अस्पताल सुधारोन्मुखतर्फ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २६ बैशाख

भक्तपुर जिल्लाकै मुटुमा रहेको र वीर अस्पतालपछि स्थापना भएको सरकारी लगानीको भक्तपुर अस्पतालको चिकित्सकीय सेवा सुधारोन्मुख भइरहेको छ । नयाँ संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार मातहत संचालन भएपछि र अस्पताल व्यवस्थापन समितिमा स्थानीय तहको प्रत्यक्ष उपस्थिति भएपछि अस्पतालले गति लिन थालेको जनताले अनुभव गर्दैछन् ।
कोरोना भाइरस (कोभिड १९) रोग संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले देशभरि बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि अस्पतालबाट सेवा प्राप्त गर्ने विरामीहरुमार्फत अस्पतालको सकारात्मक पक्ष जनतामा पुगेको स्थानीयहरु बताउँछन् । कोरोना संक्रमणको जोखिमप्रति सचेत बन्दै सरकारले देशभरिका अस्पतालहरुमा वहिरंग सेवा बन्द गरी इमर्जेन्सी सेवा मात्र संचालन गर्न निर्देशन दिएको थियो । भक्तपुर अस्पताललाई जिल्लाकै हब अस्पतालको रुपमा घोषणा गरी कोरोना रोगको परीक्षण र उपचार केन्द्र बनाइएको थियो । बैशाख २४ गतेसम्म अस्पतालमा ३६० जनाको आरडिटी टेस्ट र २४० जनाको पिसिआर टेस्ट भइसकेको अस्पताल स्रोतले बताएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालले अलग्ग भवनको व्यवस्था समेत गरेको छ ।
लकडाउनको समयमा सबै अस्पतालहरुमा आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प छन् । भक्तपुर अस्पतालमा भने विरामीहरुलाई नफर्काई सबै उपचार सेवा प्रदान गरिरहेको छ । इमर्जेन्सीमा टिकट काटेर विरामीहरुलाई अस्पतालमा भएका सबै उपचार सेवा प्रदान गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्। सबै डाक्टर, नर्स तथा अन्य चिकित्सकीय प्राविधिक जनशक्तिलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको उनको भनाइ थियो । ‘संकटको समयमा भक्तपुर अस्पतालमा उपचारका लागि आएका कुनै पनि विरामीलाई त्यसै फर्काएका छैनौं’, उनले भने ।
उनका अनुसार अहिले अस्पतालमा ११ जना विशेषज्ञसहित १८ जना डाक्टरहरुबाट विभिन्न रोगहरुको उपचार सेवा दिइरहेको छ । विशेषज्ञ डाक्टरहरुमा स्त्रीरोग विशेषज्ञ १ जना, वालरोग विशेषज्ञ २ जना, सर्जन २ जना, हाडजोर्नीसम्बन्धि विशेषज्ञ १ जना, फिजिसिएन २ जना, छालारोग विशेषज्ञ १ जना, रेडियोलोजिस्ट १ जना र एनेस्थेसिएन १ जना कार्यरत छन् । नाक, कान, घाँटी सम्बन्धी रोगका विशेषज्ञको दरवन्दी रहेर पनि पूर्ति नभएको अवस्थामा प्रदेश सरकारसंग विशेषज्ञ डाक्टर पूर्ति गर्न माग गरिरहेको मेसु डा. गौतमले जानकारी दिइन् । यससंगै ८ जना एमबीबीएस डाक्टरहरुले मेडिकल अफिसर भई विरामीको उपचार गरिरहेको उनले बताइन् ।
अस्पताल प्रशासनले अस्पतालमा १२ जना स्टाफ नर्ससहित ३९ जना नर्सिङ केयरको जनशक्ति रहेको र ल्यावमा ८ जना जनशक्ति रहेको बताएको छ ।
अस्पतालमा चालू आर्थिक वर्षमै आइसियू र एनआइसियू उपचार कक्षको स्थापना गर्ने तयारी समेत भइरहेको छ । यसका लागि वागमती प्रदेश सरकारबाट चालू आवको लागि ९६ लाख रुपैयाँ विनियोजन भई निकासा समेत भइसकेको अस्पताल व्यवस्थापन पक्षबाट जानकारी प्राप्त भएको छ ।
यससंगै अस्पतालका पुराना भवनहरुमा २०७२ सालको भूकम्पबाट सामान्य क्षति पुगेकोमा चालू आवबाट नै भवन प्रवलीकरण (रेट्रोफिटिङ) को प्रकृया अगाडि बढाइएको छ । पहिलो चरणमा अस्पताल परिसरको खुल्ला चउरमा डिक्यान्टिङ ब्लक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको जग्गामध्ये करिब १ रोपनी जग्गामा २ करोड २१ लाख ९९ हजार १८२ रुपैयाका लागतमा अस्थायी संरचना तयार भइरहेको छ । यसका लागि नगरपालिकाले स्वीकृति प्रदान गरी नगरपालिकासंगको समन्वयमा संरचना निर्माण करिब सम्पन्न हुन लागेको अस्पताल प्रशासनले बताएको छ । संरचना निर्माणको क्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायत जनप्रतिनिधिहरु अनुगमन गर्न आउनुका साथै आवश्यक सल्लाह सुझावहरु दिइरहनु भएको मेसु डा गौतमले बताइन्।
अस्पतालको मुख्य भवन प्रवलीकरण गर्ने क्रममा त्यहाँबाट दिइरहेको सुविधा डिक्यान्टिङ ब्लकबाट प्रदान गरिने बताइएको छ । ब्लकमा सानो ठूलो ८ वटा कोठा र ८ वटा सौचालय रहने छन् । सोही ब्लकमा आइसियूको ५ वटा बेड र एनआइसियूको ४ वटा बेड संचालनको तयारी भइरहेको डा. गौतमको भनाइ थियो । ‘आइसियू लगायत सघन उपचार सुविधा नहुँदा भक्तपुर अस्पताललाई रेफर सेन्टर मात्र भएको गुनासो आएको थियो, अब यसमा सुधार हुने विश्वास छ’, उनले भने।
बेलायती सहयोग संस्था डिएफआइडीको आर्थिक सहयोगमा नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागले रु. २७ करोड ६२ लाखमा अस्पतालको मुख्य भवन प्रवलीकरण गर्ने भएको छ । त्यसबाहेक अस्पतालमा ४ तल्ले नयाँ भवन पनि निर्माण हुनेछ । अस्पतालमा अलग्ग व्यवस्थित पार्किङ क्षेत्र, फोहरमैला व्यवस्थापन केन्द्र, क्यान्टिन पनि निर्माण गरिनेछ । अस्पताल परिसरमा हरियाली व्यवस्थापन, विद्युतीकरण र निकासको व्यवस्थापन पनि छुटै गरिने र यी सबै कार्यका लागि अनुमानित बजेट ३७ करोड ५४ लाख विनियोजन गरिएको भवन विभागका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिए।
देशकै दोस्रो जेठो अस्पताल भएर पनि विरामीले प्रभावकारी उपचार सेवा नपाउँदा विगत लामो समयदेखि अस्पतालप्रति स्थानीय जनताको विश्वास गुमिरहेको थियो । त्यसमाथि अस्पताल व्यवस्थापन समितिमा राजनैतिक नियुक्ति गरिने, नातावाद, कृपावादको आधारमा डाक्टर, नर्स तथा कर्मचारी नियुक्ति गर्ने, भ्रष्टाचार हुने आदि कारणले जिल्लावासीहरु उपचारका लागि काभ्रे, काठमाण्डौ र ललितपुर जानुपर्ने वाध्यता थियो । आफ्नै जिल्लामा अस्पताल भएर पनि अरु जिल्लामा उपचार गर्न जाँदा बेला बेलामा अप्ठेरो महशुस गर्नेहरु धेरै छन् । ‘तपाइँको जिल्लामा अस्पताल छैन र भनी सोध्छन्, के भन्ने ?’ स्थानीय रत्नमाया खत्रीले दुखेसो पोखिन् । ‘हामी भक्तपुर अस्पताललाई ‘हाम्रो अस्पताल’ भनी आत्मीयता देखाउँछौं तर हाम्रै अस्पतालमा भ्रष्टाचार भएको, विरामीको उपचार नभएको सुन्दा साह्रै मन रुन्छ ।’
अस्पताल व्यवस्थापन समितिमा स्थानीय प्रवुद्ध व्यक्तिहरु नबसी मन्त्रीका मान्छे भनी सरोकार नै नराख्ने व्यक्तिहरु बसेकोले अस्पताल सुधार गर्नुपर्छ भन्ने भावना नै नभएको स्थानीय व्यक्तिहरु भन्छन् । ‘व्यवस्थापन समितिमा बस्ने भनेको त आफ्नो मान्छे भर्ना गर्ने र पैसा खाने मात्र भयो,’ स्थानीय कृष्णराम खर्बुजाले भने ।
पछिल्लो समयमा अस्पताल व्यवस्थापन समितिमा नगरपालिकाको उपस्थिति भएको खबरले जिल्लावासीहरु निकै खुशी छन् । ‘भक्तपुर नगरपालिका देशकै नमूना भएजस्तै भक्तपुर अस्पताल पनि नमूना भएको सबैले हेर्न चाहन्छन् र यसमा भक्तपुर नगरपालिकाले नै अगुवा भूमिका खेलोस् भन्ने चाहेका छन् । अस्पताल परिसरभित्रै हाल संचालित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुुर क्यान्सर अस्पतालबीच समन्वय गर्न सकेमा भक्तपुर अस्पतालले सबैखाले विरामीहरुको स्तरीय उपचार गर्न सकिनेमा दुइमत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *