घरबेटीको दबाबले कोरोना परीक्षण गराउन टेकु अस्पतालमा, अधिकांश बाहिरी जिल्लाका

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ बैशाख

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको कोभिड-१९ क्लिनिकमा एक दम्पती ज्वरो जचाउँदै थियो। उनीहरुको साथमा दुई छोरा पनि थिए।

त्यो दम्पतीको एउटै प्रश्न थियो, ‘हामीमा कोरोनाको संक्रमण छ?’

‘कोरोनाको संक्रमण छैन भनेर म भन्दिनँ। अहिले परीक्षण गर्दा केही लक्षण छैन। तर तपाईं निरन्तर सम्पर्कमा भने बस्नुपर्छ,’ ती चिकित्सकले भने।

उनीहरु काठमाडौंको सिनामंगलस्थित एक अपार्टमेन्टमा बस्छन्। इटहरीबाट सोमबार मात्रै काठमाडौं फर्किएका उनीहरु अपार्टमेन्टको नियम अनुसार कोरोनाको परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए।

अस्पतालमा आरडिटी किट सकिएको थियो। त्यसैले क्लिनिकमा ती चिकित्सकले ज्वरो नाप्ने, लक्षण सोध्ने र परामर्श मात्र गर्‍यो। उक्त क्लिनिकमा पिपिई सहितको एक जना चिकित्सकले मात्र कोरोना परीक्षण गरिरहेको थियो।

उनीहरु जस्तै दैनिक ४० देखि ५० जना कोरोना परीक्षणका लागि टेकु अस्पतालको कोभिड-१९ क्लिनिकमा पुग्छन्। जसमध्ये अधिकांश बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएका व्यक्ति हुन्छन्। उनीहरु सबै घरबेटी या बस्ने समुदायको दबाबले कोरोना परीक्षणका लागि अस्पताल पुगेका छन्।

टेकु अस्पतालका एक चिकित्सकले भने, ‘बाहिरी जिल्लाबाट काठमाडौं आउने व्यक्तिहरु मात्र क्लिनिकमा आउने गरेका छन्। काठमाडौं भित्रका २/३ जना बाहेक हुँदैन।’

उनले थपे, ‘घरबेटीले सर्टिफिकेट माग्ने रहेछ। कोरोना नभएको प्रमाण गर्न उनीहरु टेकु अस्पताल आइरहेका छन्।’

कोरोनाको आशंकामा पहिले ६० भन्दा बढी मानिस उक्त क्लिनिकमा आउने गर्थे। पहिलेको तुलनामा अहिले कोभिड-१९ क्लिनिकमा पुग्ने मानिसको संख्या केही घटेको छ।

नेपालमा दोस्रो संक्रमित भेटिएपछि टेकु अस्पतालमा ज्वरो परीक्षणका लागि पुग्ने व्यक्तिको संख्या ह्वात्तै बढेको थियो। सो संख्या बीचमा घट्यो। तर भक्तपुरको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएपछि कोरोना परीक्षणका लागि अस्पताल पुग्ने व्यक्तिको संख्यामा वृद्धि भएको ती चिकित्सकले बताएका छन्।

उनका अनुसार त्यो बेला दैनिक ७०/८० जना मानिस कोरोना परीक्षणका लागि अस्पताल पुग्ने गर्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *