गाईजात्रा पर्वमा प्रदर्शित सांस्कृतिक विधाहरूको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर, २३ भदौ


भक्तपुर नगरपालिकाको आयोजना आइतबार गुन्हिपुन्हीको सापारु धेँ धेँ बला कासा २०७६ (गाईजात्रा पर्व) मा प्रदर्शन गरेका परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरको पर्यटन प्रवद्र्धन गर्न यहाँका मूर्त र अमूर्त सम्पदाहरू संरक्षण र सम्बद्र्धन आवश्यक भएको बताए ।
भक्तपुर नगरपालिकाले यहाँका मौलिक नाच, बाजा, कला र संस्कृतिहरू झल्किने प्रतियोगिताहरू व्यवस्थित रुपमा सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुहुँदै उनले नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्न सक्ने ढंगले प्रशिक्षित गर्नु आवश्यक भएको बताए ।
गाईजात्रा सुरु हुनु अगाडि त्यसबारे पर्याप्त तयारीहरू गरी प्रगतिशील ढंगले संस्कृतिलाई अगाडि बढाउने सोचको आवश्यकता भएको उल्लेख गर्दै नेता बिजुक्छेँले प्रतियोगिता जित्नको लागि मात्र लेख्ने भन्दा पनि समाजको वास्तविकतालाई पाठकमाझ सिर्जनशील ढंगले प्रस्तुत गर्ने सोचका साथ लेखकहरु अगाडि बढ्नुपर्नेमा जोड दिए ।


नेमकिपाका संघीय सांसद प्रेम सुवालले पर्यटन उद्योग विकासको नाममा सांस्कृतिक अतिक्रमणको खतरा हुनेतर्फ सचेत पार्दै भक्तपुरको पर्यटन उद्योग विकास गर्न यहाँका मौलिकता जोगाइराख्नु आवश्यक भएको बताए ।
राजश्व चुहावट विधेयक भर्खरै संसदबाट पारित भइसकेको जिकिर गर्दै सांसद सुवालले सरकारलाई तिरेको कर सार्वजनिक हुनुपर्नेमा जोड दिन्दै आम्दानीअनुसार कर तिर्ने प्रावधान बनाउनु आवश्यक भएको र सरकारले प्रगतिशील कर निर्धारण गर्नुपर्छ भने ।
उनले नेमकिपाको ७ औं महाधिवेशन नजिकिँदै गरेको प्रसँग कोट्याउँदै उपस्थित जनसमुदायमाझ पार्टीको महाधिवेशनमा सहभागिता जनाई भव्य रुपमा सम्पन्न गर्नको लागि सहयोग पु¥याउन आग्रह गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकाको भाषा, कला र संस्कृतिमाथि हस्तक्षेप भइरहेको बताउदै यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक भएको बताए । भक्तपुरलाई आन्तरिक र बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थलको रुपमा स्थापित गर्न भक्तपुर नपा प्रयाररत रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले गाईजात्रा प्रदक्षिणा मार्गलाई पर्यटकीय रुटको रुपमा विकास गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिइरहेको बताए ।


भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको कला र संस्कृतिलाई जीवन्तता दिन मौलिक सीप तथा प्रविधिहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लानुपर्ने बताए । सरकारले स्मार्ट सिटीको नाममा उपत्यकाको खेतीयोग्य जमिन म्हास्ने काम गरिरहेको बताउदै उपप्रमुख जोशीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू पुनःनिर्माणको अन्तिम चरणमा प्रवेश गरेको बताए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुरलाई विशेष पहिचान बोकेको सहरको रुपमा स्थापित गर्नु आवश्यक भएको बताउदै भक्तपुरका लोप हुन लागेका नृत्य तथा बाजाहरू उजागर गर्ने कार्यमा उल्लेखनीय कार्य गरिरहेको बताए ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले सांस्कृतिक विधाका प्रतियोगिताले कला र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याएको र गाईजात्राको रौनक बढ्नुका साथै नगरबासीहरूको आर्थिक विकासमा पनि टेवा पुगेको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र भक्तपुर नपा वडा नं. ५ वडा सदस्य सम्झना खाइजुले पनि बोलेको थियो । मूल्याकंनकर्ता चन्द्रबहादुर उलकले नाटक÷ख्याल लेखन प्रतियोगिताको परिणाम घोषणा गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले भक्तपुर नपाद्वारा आयोजित गाईजात्रा पर्व २०७६ को अवसरमा २०७६ साउन ३१ गते सापारुका दिन प्रदर्शन गरिएका घिङ्ताङघिसी र माक प्याखं तथा भदौ १ गतेदेखि ६ गतेसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा प्रथम, द्वितीय र तृतीय र सान्त्वना स्थान हासिल गर्ने सांस्कृतिक टोली र घिङताङघिसी, परम्परागत विधा र आधुनिक विधातर्फका उत्कृष्ट कलाकार र निर्देशकहरूलाई पुरस्कार वितरण गरेको थियो ।
साथै भक्तपुर नगरपालिकाको आयोजनामा शिक्षा, स्वास्थ्य, वातावरण, सम्पदा, संस्कृति एवम् समसामयिक, राजनैतिक विषयमा भएको जनचेतनामूलक नाटक तथा ख्याल लेखन प्रतियोगिताका विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल माक प्याखँ, लाखे प्याखँ, जंगली प्याखँ, कवांचा प्याखँ, नागाचा प्याखँ, खिचा प्याखँ, ख्या प्याखं र देवी प्याखँ पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *