तरकारीबारीबाटै भाेजपुरका कृषक आम्दानी वृद्धि गर्दै

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भोजपुर, २८ भदौ

भोजपुर सदरमुकामको कोठेबारीको रुपमा चिनिने वोखिमका अधिकांश कृषकहरुले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । विगतका वर्षहरुमा पनि तरकारीको खेती गर्ने यहाँका कृषकहरु वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेलको कार्यक्रम सञ्चालनमा ल्याएसँगै झनै यसतर्फ आकर्षित भएका छन् ।

करिव ७ सय घर परिवार रहेका यस वडाका अधिकांश कृषकहरु तरकारी खेतीतर्फ लागेका हुन् । सदरमुकामको नजिकै रहेको यस ठाउँका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत तरकारी खेती रहेको छ । वडा कार्यालयले तरकारी खेतीमा लाग्ने कृषकहरुलाई प्रोत्साहन गर्न विभिन्न खाले कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषकलाई सहजता थपिएको कृषक खड्गराज राजभण्डारीले बताए । यहाँ उत्पादन भएको खुर्सानी धरान जिल्लासँगै धरान विराटनगरसम्म जाने गरेको कृषक राजभण्डारीको भनाइ छ । उनीहरुले टनेलमा टमाटर, अकबरे खुसार्नी, तिते करेला लगायत विभिन्न जातका तरकारीहरु उत्पादन गर्दै आएका छन् । कृषकहरुले समय अनुसारको तरकारी उत्पादन गरेर विक्री वितरण गर्दै आएका छन् ।

यस क्षेत्रका अन्य कृषकहरुले पनि आफ्नै लगानीमा पनि व्यावसायिक रुपमा तरकारी खेती गरिरहेको छन् । व्यवसायमा लाग्ने कृषकलाई लक्षित गरेर वडा कार्यालयले तालिम तथा विभिन्न समयमा उन्नत जातको विउ विजनसँगै फलफूल जातका विरुवा समेत दिने गरेको छ । अगामी दिनमा समेत साथ सहयोग पाए व्यवसायलाई अझ विस्तार गर्ने स्थानीय प्रतीक्षा श्रेष्ठले बताइन् । विदेश जानु भन्दा तरकारी खेती गरे राम्रो आम्दानी दिन सकिने श्रेष्ठको भनाइ छ । वडा कार्यालयले विनियोजित बजेट मध्येबाट कृषिलाई प्राथमिकता दिएको छ ।
कृषिका क्षेत्रमा विनियोजित बजेटले मात्र धेरै काम गर्न असम्भव भएपछि विभिन्न संस्थासँग सहयोग मागेर कृषकको मागलाई पूरा गर्ने गरेको छ । वडा कार्यालयले आफ्नो तर्फबाट एक÷एक ओटा टनेल वितरण गरेको छ, भने भू– तथा जलाधार कार्यालयसँग माग गरेर गरिब तथा विपन्न परिवारलाई लक्षित गरी २ सय २२ घरपरिवारलाई प्लाष्टिक टनेल वितरण गरेको छ । वडा क्षेत्रका स्थानीयलाई प्रोत्साहन गर्न आगामी दिनमा अझै कृषक लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको भोजपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जस बहादुर राइले बताए । वडा कार्यालयले कृषकलाई सिँचाइको लागि स–साना प्लाष्टिक पोखरी समेत सहयोग गर्दै आएको राईले बताए ।

राईले भने, ‘नगरपालिकाको करोडौं बजेटबाट वडालाई जम्मा ४०÷५० लाख मात्र बजेट दिन्छ, त्यसमा लक्षित वर्गको बजेट धेरै हुन्छ लक्षित वर्षलाई वितरण गर्दा विकास वजेट थोरै मात्र बच्छ त्यसमा पनि यो क्षेत्र तरकारीको लागि उपयुक्त रहेकोले यसलाई प्राथमितामा राखेको काम गरेको छ, ।’ वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको कामलाई धेरैले प्रसंशायोग्य मानेका छन् । वडा स्तरमा थोरै मात्र बजेट हुने भएपनि त्यसलाई उचित ढंगले प्राथमिकता निर्धारण गरेर वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको यो काम धेरैको लागि उदाहरणीय रहेको स्थानीय जानकारहरुले बताउने गरेका छन् । वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको कामलाई धेरैले प्रसंशायोग्य मानेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *