एक सहकारीले कृषकको अनुहारमा ल्यायो खुःसी !

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
दैलेख, १७ भदौ


चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का तीलक पौडेल परम्परागत रुपमै भैँसीपालन व्यवसाय गर्दथे । तर, उनले उत्पादन गरेको दूधको बजारीकरण नहुँदा उनी निराश हुन्थे । उनी मात्र हैनन् यो ठाउँमा सयौँ भैँसीपालक कृषकको पीडा यही नै हो । जसका कारण गाउँघरमा भैँसीपालन व्यवसाय नै संकटमा पर्ने देखिन्छ । पहिला–पहिला ५–६ वटा भैँसी हुने घरमा आजभोली एउटा भैँसी हुन्छ । कसैले भैँसी नै पाल्न छाडिसके । दिनभरी भैँसीको स्याहार–सुसार मै दिन बिताउँदा पनि मजदुरीका लागि कालापहाड दौडिनुपर्ने यहाँका कृषकको बाध्यता नै हो । ग्रामीण भेगमा भैँसीहरु पछिल्लो समय तराइतिर पलायन गर्ने गरिएको पाइन्छ । शहरतिर शुकुटी, मम लगायतका परिकार बनाउन भैँसीको मासु प्रयोग गर्ने गरिन्छ । तर, यहाँको एक सहकारीले भने अहिले कृषकलाई सहकारीसँग जोडेर भैँसीपालन व्यवसायबाट नै आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ । सिर्जन चामुण्डामाइ बहुउद्देश्य सहकारीले दूधको बजारीकरण गरिदिने भएको छ । ‘आफ्नो गाउँ–आफै आत्मनिर्भर बनाउँ’ भन्ने उद्देश्य सहित सहकारीले दूधको बजारीकरण गर्नुका साथै कृषकलाई कृषि र पशुपालनबाट नै आत्मनिर्भर बनाउन लागेको हो ।

पहिला एक रुपैयाँ पनि कमाइ नगर्ने तीलकले अहिले दैनिक ५ लिटर बराबरको दूध बेच्दछन् । सहकारीले वडा नं.–२ सहित अन्य वडाहरुका कृषकहरु पनि लाभान्वित बनेको छन् । ३ नम्बर वडाका नरेक विकले मासिक ९ हजार भन्दा धेरै कमाई गर्न थालेका छन् । सो सहकारीले गएको साउन महिनादेखि कृषकहरुको दूधको बजारीकरणमा सहजीकरण गरेको हो । कृषहरुलाई कृषि खेतीमा थप आत्मनिर्भर बनाउन्, उत्पादनलाई बढाउन सहकारीले बजारीकरणमा सहजीकरण गरेको जनायो । अहिले दुग्ध विकास कार्यक्रम नै सञ्चालनमा ल्याइएको छ । औषत ६० रूपैयाँ प्रतिलिटर किसानको दूध खरिद गरी प्रदेश राजधानी सुर्खेतमा लगेर विक्री गर्दछ । अहिले यो क्षेत्रका करिब ५० भन्दा धेरै कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको सहकारीका अध्यक्ष भिमबहादुर रावतले बताए । अहिले सडकको अभाव छ । सडकलाई सुधार गरिसकेपछि पालिकाका सबै वडामा दूध संकलन केन्द्र स्थापना गरीने छ,’ उनले भने, ‘दूधमात्रै होइन किसानले उत्पादन गरेका नगदेबाली, फलफूल लगायतका कृषिजन्य वस्तुहरूको बजार व्यवस्थापन गरिने छ ।’


सहकारीले ब्रोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रशोधन उद्योग समेत सञ्चालनमा ल्याउने थप तयारी गरेको उनले बताए । बजारीकरणमा सहज होस् भनेर प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशु सेवा कार्यालय दैलेखले १ करोड रूपैयाँ अनुदान, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ३० लाख र सहकारीको ३० लाख लगानीमा आफ्नै गाडी सञ्चालनमा ल्याएको छ । १ सय जना कृषकलाई करिब १ लाख रूपैयाँ बराबरका प्रतिगोटा भैँसी समेत वितरण गरेको सहकारीका व्यवस्थापक चिनबहादुर खत्रीले जानकारी दिए । चामुण्डा माध्यमिक विद्यालयले कृषि प्राविधिक उत्पादन गर्छ । सहकारीले बाझो जमिन भाडामा लगेर स्थानीय कृषक र कृषि प्राविधिकलाई उक्त जमिनमार्फत उत्पादनमा जोड्ने लक्ष्य राखेको छ,’ खत्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *