सल्यानमा जडीबुटी खेतीः वार्षिक १७ करोडको निकासी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
सल्यान, १६, भदौ


सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ लागेका हुन् । टिमुर, रिठ्ठा, तेजपात लगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले कृषकले यसको खेती गर्न थालेका छन् ।

प्राकृतिक रूपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिलाबहादुर रोकाले आफ्नो वडाका करिब २ सय घरपरिवारले टिमुरखेती गर्दै आएको बताए । बिगतमा घरायसी प्रयोगका लागि मात्रै टिमुरखेती गरिने भएपनि अहिले भने व्यावसायिक रुपमा टिमुरखेती गर्दै आएको उनको भनाइ छ ।
उनले यस वडाबाट मात्रै वार्षिक रुपमा करिब ८० लाख रुपैयाँभन्दा बढीको टिमुर विक्री हुने गरेको जानकारी दिए । ‘यहाँका स्थानीयले व्यावसायिक टिमुरखेती गर्न थालेका छन्, पहिले टिमुरले मूल्य पाउँदैन्थ्यो, अहिले वजार भाउ राम्रो पाउन थालेपछि स्थानीय यसतर्फ आकर्षित भएका छन्, प्रतिपरिवारले वार्षिक ३० हजार देखि २ लाखसम्म आम्दानी गर्छन्’ उनले भने ।

डिभिजन वन कार्यालय सल्यानले जिल्लामा जडीबुटी उत्पादनका लागि राम्रो सम्भावना भएको बताएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाबाट १७ करोड रुपैयाँ बढीको जडीबुटी निर्यात भएको छ । टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा, घोडाताप्रे लगायत बहुमूल्य जडीबुटी जिल्लाबाट अन्यत्र पठाइएको हो । डिभिजन वन अधिकृत रमेशकुमार गिरीले जिल्लामा ३ लाख ६४ हजार ४ सय किलो बहुमूल्य जडीबुटी उत्पादन हुँदा १८ लाख ५१ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

उनले भने ‘जडीबुटी खेतीतर्फ कृषकको आकर्षण बढेको छ । जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुन्छ ।’ कार्यालयका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय वनमा ९५ हजार किलो र निजी आवादमा २ लाख ६७ हजार ४ सय किलो टिमुर उत्पादन भएको थियो । यस्तै, राष्ट्रिय वनबाट रिठ्ठा १ लाख ८९ हजार किलो, घोडाताप्रे १ हजार ५ सय किलो, दालचिनीको बोक्रा, ५ सय किलो र पाखनवेद ८ हजार ५ सय किलो संकलन भएको थियो ।

यसैगरी चुक्राको बोक्रा १४ हजार ८ सय किलो, तेजपात ६१ हजार ५ सय किलो, बज्रदन्ती ५ हजार किलो र गोकुलधुप ५ सय किलो संकलन भएको थियो । जिल्लाबाट गत बर्षमा टिमुर मात्रै करिब १६ करोड रुपैयाँ बढीको निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *