चितवन, २७ साउन

देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिएको चितवनमा पछिल्लो समय ठूला होटल, रिसोर्ट खुल्ने क्रम बढेको छ । देशकै केन्द्रभागमा रहेको र कृषि,पर्यटन, शिक्षा ,मेडिकल लगायतका क्षेत्रहरुको हब भएकोले पनि होटलहरु खुल्ने पर्यटन बढेको हो । पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी चितवनमा दर्जनौ होटल रिसोर्टहरु खुल्ने तथा सञ्चालनमा ल्याउने तयारी भएको थियो तर कोरोना महामारीका कारण अधिकांश होटल तथा रिसोर्टहरु सञ्चालनमा आउन सकेका छैनन, भने कतिपय होटलहरु निर्माणको अन्तिम चरणमा रहेका छन । चितवनको मुटु भरतपुर स्थित एयरपोर्टको आडैमा करीब ३० करोडको लगानीमा तीनतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।
चितवन भरतपुर महानगरपालिका वडा नम्बर १०, भरतपुरस्थित कृष्णपुरमा करीब १७ कठ्ठा क्षेत्रफलमा चितवन गार्डेन रिसोर्ट को काम अन्तिम चरणमा पुगेको छ । हाल यस होटलको काम ९० प्रतिशत पुगिसकेको र इन्टेरियर डिजाईन, बाहिरी सौन्दर्यको काम बांँकी रहेको होटलका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिए ।
होटल सम्पन्न गर्न ३० करोडको लगानी लाग्ने अनुमान गरिएको छ । होटल सञ्चालक समितिमा ९ जना सदस्य र रिसोर्टमा ३८ जना शेयर सदस्यहरुको लगानी रहेको घिमिरेले बताए । उनका अनुसार होटल पूर्णरुपमा सञ्चालनमा ल्याउन थप दुई महिना लाग्ने छ । ‘ गत बैशाखमै सञ्चालनमा ल्याउने हाम्रो तयारी थियो, घिमिरेले भने, कोरोनाको कारण अन्तिम निर्माणको काम पनि रोकियो । शायद कार्तिक देखि सञ्चालनमा ल्याउनेछौं । यो भरतपुर शहरभित्रकै नमुना तीनतारे स्तरको रिसोर्ट हो ।’
रिसोर्टले विभिन्न सरकारी तथा ग्रैहसरकारी संस्था, उद्योगी व्यवसायी, पेशागत कर्मचारी लगायत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी संरचना निर्माण गरिएको बताएको छ ।
रिसोर्टमा सेन्ट्रल एसी हलसहितको एकहजार जना क्षमताको सभाहल, २ सय जना क्षमताको व्याँक्वेट हल, सय जना क्षमताको व्याक्वेट हल र २५ जना क्षमताको मिटिङ्ग हल गरी छुट्टाछुट्टै ४ वटा हल निर्माण गरिएको छ ।
रिसोर्टमा २८ वटा प्रिमियम, स्ट्यान्डर्ड कोठाहरु ,जीम क्लब,आकर्षक फुलबारी, स्वीमिङ पुलका साथै सूचना तथा प्रविधिमैत्री लगायतका सुविधा रहेको रिसोर्टका अपरेसनल मेनेजर मनिष शर्माले जानकारी दिए । रिसोर्टको परिषरमा विभिन्न जन्मदिन, बिहे,ब्रतबन्ध,लाईभ म्युजिक कार्यक्रमको लागि मञ्च सहितको खुल्ला चौर समेत रहेको छ । प्राकृतिक , हरियाली मनोरम वातावरणका साथै रिसोर्टबाट गैडांकोटको मौलाकालिका मन्दिर, पर्वतीय श्रृखला तथा एयरपोर्टको दृश्यावलोकन गर्न सकिने शर्माले बताए । ‘समग्रमा रिसोर्ट शहरभित्र र भीडभित्रको शान्त ठाउंँ हो, हाइवेबाट पांँचसय मिटर टाढापनि छैन । उनले भने, जहांँ पर्यटकले सबै सुविधा एकैठाउंँमा पाउंँछन ।’ उनका अनुसार रिसोर्टले यहांँ आउने पर्यटककको लागि सौराहा, चितवन राष्ट्रिय निकुञ्ज, देवघाट लगायत अन्य पर्यटकीय गन्तव्य स्थल घुमाउन रिसोर्टले प्याकेज टुरको समेत व्यवस्था गर्ने भएको छ ।
देशका विभिन्न ठाउँका सरकारी तथा ग्रैहसरकारी, नीजि कर्पोरेट हाउसहरुले अधिवेशन, साधारण सभा, सेमिनार , तालिम गोष्ठी फेयर, अन्य कार्यक्रम गर्न सजिलो होस भन्नाका लागि यथेष्ठ पार्किङ र सूचना प्रविधिमैत्री सुविधालाई प्राथमिकतामा राखिएको छ । आगामी दिनमा रिसोटले गुणस्तरीय सेवा को साथै थप सुविधा विस्तार गरी चारतारे स्तरीयको रिसोर्ट बनाउने योजना रहेको रिसोर्ट व्यवस्थापन पक्षको भनाई छ ।