रुकुम, २७ साउन

गत आर्थिक वर्ष २०७६/०७७ को त्रिवेणी गाउँपालिकाको बजेट लेखापाल हेमन्त केसीले आफ्नो श्रीमती र भतिजाको खातामा रकम जम्मा गरेको प्रकरणमा त्रिवेणी गाउँपालिकाले पत्रकार सम्मेलन गरेको छ । मंगलबार त्रिवेणी गाउँपालिकाको कार्यालय खारानेटामा पछिल्लो समय त्रिवेणी गाउँपालिकामा भएको आर्थिक अनियमिता बारे बोल्दै गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले भने, ‘बजारमा हल्ला भएजस्तो यस घटनामा जनप्रतिनिधीहरुको कुनै संलग्नता छैन् ।’
उनले भने, ‘त्रिवेणी गाउँकार्यपालिकाले नै यस घटनालाई बाहिर ल्याएको हुँदा यस आर्थिक अनियमिताको गर्ने जो कोही पनि नउम्कीउन भनेर अख्तियार प्राप्त निकायलाई सबै कागजजात बुझाई सहयोग गरिएको छ ।’
बाहिर टिप्पनी गरेजस्तो यस घटनामा जनप्रतिनिधीहरुको मिलेमतो नरहेको र जनप्रतिनिधीहरुकै सक्रियतामा यो घटना बाहिर आएको अध्यक्ष घर्तिले विज्ञप्ती मार्फत जानकारी बनाएका छन् । तीन बुँद्दामा उल्लेखीत विज्ञप्तीमा घटनामा संलग्न रहेका त्रिवेणी गाउँपालिकाका लेखा सहायक सुवास केसीलाई कर्मचारीबाट हटाएको समेत जानकारी गराएको छ ।
बैक खातामा कसको हस्ताक्षर ?
त्रिवेणी गाउँपालिकाको लक्ष्मी बैक त्रिवेणी शाखामा २१ वटा खाता सञ्चालन छन् । २१ वटै खाता त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावल र लेखापाल हेमन्त केसीको संयुक्त दस्तखतमा सञ्चालनमा छन् । लेखापाल र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त दस्तखतमा सञ्चालन भएको कारण विभिन्न शिर्षकको बजेट व्यक्तिको खातामा कसरी पुग्यो भन्ने आशंका स्थानीयले गरेका छन् । गत आर्थिक वर्षको गरिबीसँग विश्वेश्वर कार्यक्रम, कोरोना राहत वितरण, पशु कार्यक्रम, एम्बुलेन्स खरिद तथा मर्मत लगायतका शिर्षकको बजेट व्यक्तिको खातामा गएको गाउँपालिकाले जनाएको छ । लेखापाल र प्रमुख प्रशासकीय अधिकृतको समेत आर्थिक अनियमिततामा मिलोमतो भएको भन्दै कारबाही हुनुपर्ने माग स्थानीयले उठाएका छन् । ‘गाउँपालिकाको बजेट व्यक्तिको खातामा कसरी पुग्यो, यसमा को–को दोषि छन कारबाही हुनुपर्ने स्थानीयको माग छ ।’ यस विषयमा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावल र लेखापाल हेमन्त केसीलाई पटक पटक घटनाको बारेमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
गाउँपालिकाको खातामा पैसा फिर्ता
आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल केसीले सिम्रुतुस्थित लक्ष्मी बैंकमा रहेको आफूसहित पत्नी विर्मा र भतिजा सुवासको नाममा जम्मा गरेको सचामार बाहिरीएको थियो ।
सञ्चार माध्यममा सामाचार प्रकाशन÷प्रसारण भएपछि साउन १६ गते ७ लाख ८२ हजार ५ सय ९५, साउन १९ गते ६ लाख र सोही दिन ८ लाख ५९ हजार ७ सय ७७ तथा साउन २१ गते २ लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा भएको हो । यी ३ जनाको खाताबाट उक्त रकम गाउँपालिकाको खातामा जम्मा भएको गाउँपालिकाले जनाएको छ ।
संलग्नलाई कारबाही हुन्छः प्रजिअ
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले त्रिवेणी गाउँपालिकाको आर्थिक अनियमिता सम्वन्धी सुस्म ढंगले छानविन भईरहेको बताए । उनले भने,‘हामीले सरकारी रकम दुरुपयोग गर्न को कसको संलग्नता छ, त्यसको अध्ययन अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गरेका कारण दोषिलाई कारबाही हुनेमा शंका गर्नु नपर्ने जानकारी दिएका छन् ।’