Thursday, May 16, 2024

आज घन्टाकर्ण चतुर्दशी पर्व, नेवारी समुदायमा आज गथांमुगः चह्रे मनाउँदै

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २२ साउन

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन भक्तपुर लगायत उपत्यकामा गठेमंगल चह्रे पर्व विशेष रुपमा मनाइन्छ । यसलाई घण्टा कर्ण चतुर्दशी पनि भनिन्छ । विशेषगरि नेवारी समुदायले मनाउने गठेमंगललाई नेपाल भाषामा गथांमुगः भनिन्छ। घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा समेत मनाउने परम्परा रहेको छ ।

वर्षभरिका चतुर्दशीहरूमध्ये यस चर्तुदशीको आफ्नै बेग्लै महत्व छ । यस पर्वसंगै औपचारिक रूपमा उपत्यकामा पर्व तथा जात्राको शुरुवात भएको मानिन्छ।

उपत्यकामा रहेका नेवार समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान स्नान गरेर घर शुद्ध गरी पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर राक्षसलाई जलाउने परम्परा रहेको छ ।

त्यसैगरी रातिको समयमा घरघरबाट छ्वालीको मुठ्ठामा आगो बालेर बाहिर दोबाटो राख्न लाने चलन रहेको छ। यस प्रक्रियाले घरमा भएका भुतप्रेतका साथै नराम्रा शक्तिहरु बाहिर जाने विश्वास गरिएको छ। यस्ता पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्रमन्त्रको साध्यबाट समेत जोगिने विश्वास गरिन्छ।

विशेषतः काठमाडौँमा प्राचिनकालबाटै तन्त्रमन्त्रमा पारंगत रहेकाले तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमंगललाई विशेष दिनका रूपमा लिइन्छ।

गठेमंगलमा घन्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ। उक्त राक्षसको मृत्युपछि सबै जनता त्रास र भयबाट मुक्त भएको विश्वास गरिन्छ। घन्टाकर्णलाई सनातन धर्ममा भने भगवान शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ।

घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई हरियो नर्कट, निगालो र गहुँको छ्‌वाली मिसाएर तीन खुट्टे राक्षस बनाई ठाडो पारेर घुमाउने चलन छ। बेलुका राँको बालेर अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई  घुमाइन्छ  । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाउने तथा दोबाटो चौबाटोमा जलाउने चलन छ। आजै बाट बस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ । त्यस्तै आजका दिन फलामका औँठी लगाउने, घरघरबाट भूत पन्छाउने, हातमा प्राकृतिक वनस्पतिका मेहंदी लगाउने पनि गरिन्छ ।

तर गत वर्ष र यसपालीकाे गठेमंगल जात्रामा काेराेना महामारीका कारण राैनक घटेकाे छ । स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट भने कुनै खालका भीडभाड नगर्न नगराउन सूचना दिइरहेकाे छ । यस्ता जात्रा पर्वले काेराेना राेग झन बढ्ने सराेकारवालाहरूले बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *