विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

विशेष समाचार समाचार

भक्तपुर, १६ असार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारबाट सञ्चालित चारदिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्‍घाटन गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले तालिम लिएकाहरुले विपद्को समयमा दमकल र एम्बुलेन्सले जस्तै सेवा प्रवाह गर्नुपर्ने बताउँदै नयाँ पुस्ताका युवा–विद्यार्थीलाई उद्धारका विभिन्न तौर–तरिकाबारे प्रशिक्षित गर्नुपर्ने बताए । उनले पाठ्यक्रममै उद्धारका काम र कारबाहीबारे सचेत बनाउन सके सम्भावित दुर्घटना र जोखिमबाट सजग हुन मद्दत पुग्ने बताए ।

विपद्को समयमा व्यक्तिगत रिस र मनमुटाबले काम गर्न नहुने बताउदै उनले शारीरिक रुपमा अशक्त, ज्येष्ठ नागरिक, बाल–बालिका र महिलाहरुलाई विशेष प्राथमिकता दिई विपद्को समयमा उद्धार गर्नुपर्ने बताए । भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय र सहकार्य गरी कार्य अगाडि बढाइरहेको उनले बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सुरक्षा व्यवस्थापनको आवश्यकता र महत्वबारे प्रस्ट पार्दै मापदण्ड र आचारसंहिताको पालना नहुँदा जोखिम बढिरहेको बताए । विपद् न्युनीकरणको लागि मापदण्ड र आचारसंहिता कडाइका साथ लागु गर्नु आवश्यक भएको औंल्याए ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरको आधारभूत आवश्यकता पहिचान गरी नगरपालिकाले वडास्तरीय विपद व्यवस्थापन तालिम सञ्चालन गरेको बताए ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिमका प्रशिक्षक सेनानी भगीरथ महतले नेपाली सेनाले विपद् व्यवस्थापनमा खेलिरहेको भूमिकाबारे प्रष्ट पार्दै मानव क्षति न्युनीकरण गरी पीडित समुदायलाई जोखिमबाट बच्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका श्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवालले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *