कोरोनाले पर्यटन क्षेत्रमा पारेको प्रभाव

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १२ असोज


सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको थियो । यस क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी दुःखद् निधन भयो । त्यसपछि पार्टी सचिब भएर लामो समयसम्म काम गरेका युवा ब्यक्तित्व योगेश भट्टराईलाई उनको स्थानमा नियुक्त गरियो । देश विदेशमा नेपाल भ्रमण वर्षको प्रचार भइरहेको बखत चीनको हुपेइ प्रान्तमा नोबल कोरोना भाइरसको महामारी देखापर्यो । त्यसपछि नेपालमा चिनियाँ नागरिकले भ्रमण गर्ने अपेक्षाले तयारी गरेको नेपाल भ्रमण वर्ष गौण हुन पुग्यो । विश्व पर्यटन दिवस मनाइरहेको यो समयमा नेपालमा बीस लाख पर्यटन भित्र्याउने सोच चकनाचुर हुन पुगेको छ । विश्वब्यापी रुपमा कोरोना भाइरसको प्रभावले यो स्थिति उत्पन्न भएको हो । हुनत सरकारले पूर्ण रुपमा तयारी गरी करोडौं करोड खर्च समेत गरिसकेको भनेको थियो । तर पुसको दोस्रो हप्तातिर शुरु भएको भ्रमण वर्षको औपचारिक उद्घाटन र होटेल बुकिङ बाहेक अन्य काम कुरा भने हुन पाएन ।

नेपाल एक पर्यटन गन्तब्य हुनसक्ने थुप्रै सम्भावना भएको स्थान हो । यहाँ विश्वमा कतै नपाइने खालका सुन्दर हिमश्रृंखलाहरु छन् । विश्वको सबैभन्दा अग्लो सगरमाथा छ । त्यति मात्रै होइन कि हिमताल, हिमालय पर्वत, पहाड, खोला नाला र बन्यजन्तु व निकुञ्जहरु पनि प्राकृतिक रुपमा नै तयार भइरहेको विश्व सम्पदाहरु छन् । त्यसैगरी सांस्कृतिक सम्पदाहरु पनि त्यतिकै उत्कृष्ट खालका छन् । उपत्यकाभित्र पर्ने विश्व सम्पदा भक्तपुरको दरवार क्षेत्र, पाटनको दरवार क्षेत्र र काठमाडौंको हनुमानढोका दरवार क्षेत्र त्यति कै उत्कृष्ट पर्यटन गन्तव्य स्थलहरु हुन् । पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ, स्वयम्भूनाथ, लुम्बिनी क्षेत्र अर्को विश्व सम्पदा स्थलमा पर्ने पर्यटकहरुलाई आकर्षित गर्ने स्थानहरु हुन् । यस्ता अमूल्य सांस्कृतिक सम्पदा र विश्वस्तरको प्राकृतिक सम्पदाका कारण पनि प्रत्येक वर्ष लाखौं लाख पर्यटकहरु नेपालको भ्रमणका लागि आउने गरेका हुन् । यस्तो महत्वपूर्ण घडीमा नेपालमा तेइस वर्ष पछि पुनः एकपल्ट नेपाल भ्रमण वर्ष मनाउने लागेको थियो । तर कोरोना भाइरसका कारण बाध्य भएर सरकारले यो पाली उक्त कार्यक्रमलाई स्थगन गर्नु परेको छ ।

नेपाल भगवान बुद्धको जन्मस्थल हो । त्यसैले पनि अरवौं अरव जनसंख्या भएको देश चीनले गौतम बुद्धको जन्मभूमि लुम्विनीको भ्रमणको अपेक्षाले उताबाट एक प्रतिशत मात्रै चिनियाँ नागरिक नेपाल भ्रमणमा आयो भने पनि यहाँ थुप्रै पर्यटन व्यवसाय विकासको आधार तयार हुने थियो । त्यसैले चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स, इटाली, जर्मनी लगायत थुप्रै यूरोपेली मुलुक पुगेर पर्यटन मन्त्री स्वयमले नेपाल भ्रमण वर्षको लागि विभिन्न रुपमा तयारी पनि गरेकै थियो । सोही क्रममा चैतको दोस्रो हप्ताबाट भक्तपुर महोत्सव बनाउने गरी भक्तपुर नगरपालिकाले पनि व्यापक रुपमा तयारी थालेको थियो । तर पुस, माघ महिनामा चीनको हुपेइ प्रान्तको उहान शहरबाट देखा परेको नोबल कोराना भाइरस बिस्तारै अमेरिका, बेलायत, फ्रान्स हुँदै भारत वर्षमा प्रवेश गरी नेपालमा पनि फागुनको दोस्रो हप्तातिर र चैत महिनाको शुरुमा देखिएपछि नेपालमा चैत ११ गतेदेखि लकडाउन शुरु भयो । त्यसले गर्दा भ्रमण वर्ष स्थगन गर्न बाध्य भयो । पर्यटन वर्षलाई भव्य रुपमा सफल पारी बीस लाख पर्यटक भित्र्याउने कुरा र त्यस मध्ये केही प्रतिशत मात्रै पर्यटकले भक्तपुरको भ्रमण गर्दा पनि आन्दानी हुने सपना देखिरहेको भक्तपुर हिस्स भयो ।

आज भक्तपुर नगरपालिका आफैले महिनाको दुई करोड पर्यटकबाट आउने आम्दानी घाटा भइरहेको कुरा सार्वजनिक गर्दैछ । सबैभन्दा बढी आम्दानीको स्रोत बनिरहेको पर्यटन सेवा केन्द्र सुक्खा भइरहेको छ । नगर भरीका चौध वटा पर्यटक भित्रने नाकाका कर्मचारीहरुलाई समेत कोरोना भाइरसको बारे जनचेतना जगाउने गरी माइकिङ गराउन, आइसोलेसन व्यवस्थापनको लागि सहयोग गर्नदेखि लिएर भक्तपुर अस्पतालमा सञ्चालित कोरोना केन्द्र, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र र जनताका अन्य सेवा सुविधा व्यापक गराउने कार्यमा मात्रै सीमित गरी परिचालन गर्न बाध्य भइरहेको छ । भन्न खोजेको कुरा जुन वर्ष देशमा सरकारले पर्यटन वर्ष २०२० लाई सफल पारी बीस लाख पर्यटन भित्र्याएर आम्दानी गर्ने सोच बनाएको थियो, यही वर्ष विश्वव्यापी रुपमा देखिएको नोबल कोरोना भाइरसको कारण पर्यटकहरु शून्य भएको छ । त्यसले गर्दा नेपाल भित्रने अन्य पर्यटकहरु त आएनन् आएनन् यहाँ आइरहेका विदेशी पर्यटकहरुलाई समेत नेपाल सरकारले स्वदेश फर्काउनको लागि धेरै मेहनत गर्नु पर्यो । हात्ती आयो हात्ती आयो फुस्सा भनेको यही नै हो ।

कहिले काहीं विश्वमा विचार नै नगरेका परिणाम पनि भोग्नु पर्ने हुन्छ । नेपालमा पनि त्यस्तै विश्वव्यापी रुपमा देखिने भोकमरी, आर्थिक मन्दि वा महामारीको नराम्रो प्रभाव पर्ने गरेको छ । यो वर्ष त्यस्तै खाले दुर्दशा हामी नेपालीहरुले पनि भोग्नु परिरहेको छ । विद्यार्थीहरु स्कुल गएर पढ्ने स्थिति बनेन । कलेज सञ्चालन गर्ने वातावरण तयार गर्न सकिएन । कतिपय कलेजमा अनलाइन मार्फत् भएको कक्षा पनि गहिरो प्रभाव पार्न नसकेको देखियो । त्यसो भएर पनि हिजो आज शिक्षक र अभिभावकहरु बीच अन्योलको स्थिति सिर्जना भइरहेको छ । कक्षा अपडेट गराउने कि नगराउने भन्ने अन्योल उत्पन्न भइरहेको छ । एसइई परीक्षा भएन तर जाँच दिन नपर्ने गरी पास गर्ने काइदा सरकारले बाहिर ल्याएको छ । आज पर्यटन दिवसमा गाइड र पर्यटन व्यवसायीहरु वाल्ल परिरहेको स्थिति छ । अन्य वर्षहरुमा भने भक्तपुर नगर छिर्ने पहिलो पर्यटकलाई स्वागत सत्कार गरी भव्य रुपमा विश्व पर्यटन दिवस मनाउने गरिन्थ्यो । तर भक्तपुर नगरभित्र यो वर्ष गाइडहरुलाई सफाइ कार्यमा प्रयोग गरी पर्यटन सेवा केन्द्रका कर्मचारीहरु सीमित मात्रै बसेर विश्व पर्यटन दिवस मनाइएको छ ।

विश्वव्यापी रुपमा देखिएको नोबल कोरोना भाइरसको प्रभाव नेपालमा झन् झन् बढिरहेको छ । त्यसैले पनि भ्रमण वर्ष सम्भव भएन । विश्व पर्यटन दिवस पनि औपचारिकतामा सीमित बन्न पुगेको छ । यसरी हेर्ने बखत नेपाली उखान आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो भने झैं भएको छ । यस्तो परिस्थितिलाई बुझेर हामीले केही समय पछि भएपनि पुनः नेपाल भ्रमण वर्ष मनाउनु पर्दछ । केही समय रहेर पछि त्यतिकै हराउने अपेक्षा गरिएको यो नोबल कोरोना भाइरसको प्रकोप मानवीय कारणले सिर्जना भएको हो वा प्राकृतिक कारणले संसारमा देखापरेको हो भनी थाहा पाउनका लागि र पछि पछि पनि संसारलाई राम्रो सन्देश दिन बैज्ञानिकहरु अध्ययन अनुसन्धानमा तल्लीन भइरहेको यो समयमा हामीले पनि विश्वलाई प्रभावित पार्ने अन्य रोग, युद्ध र नाकाबन्दी जस्ता कारणले नेपालमा देखा पर्ने अन्योलको वातावरणलाई न्यून गर्नको लागि पनि सरकार र विभिन्न राजनीतिक पार्टीहरु सदा सक्षम हुनु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *