बागमती प्रदेश सरकारले हेटौंडा–१० मा ४५ करोड रुपैयाँको लगानीमा धुलो दूध कारखाना स्थापना गर्ने

अर्थ/वाणिज्य विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट
हेटौंडा, ४ असोज

उद्योगको डीपीआर तयार, आईईई रिपोर्टमा छलफल


बागमती प्रदेश सरकारले हेटौंडा–१० सिासौघारीमा ४५ करोड रुपैयाँमा धुलो दूध (पाउडर प्लान्ट) उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रक्रिया अगाडि बढाएको छ । पाउडर प्लान्टका लागि २ बिगाहा जमिन उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्को निर्णय भएपछि डीपीआर तयार गरिएको हो । प्रदेश सरकारले गत असारमा सार्वजनिक गरेको २०७७÷७८ को बजेटमा धुलो दूध कारखाना स्थापना गर्ने घोषणा गरेको थियो ।
उद्योग स्थापनाका लागि टेण्डर प्रक्रियामा जानुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गर्ने काम भइरहेको बताइएको छ । मार्ट इन्जिनियरिङ कन्सल्टेन्सीले वातावरणीय प्रभावबारे स्थानीयसँग छलफल आयोजना गरेको थियो । छलफलमा हेटौंडा नगर उपप्रमुख मीना लामा, ३ र ११ का वडाअध्यक्ष क्रमशः रामकुमार पुडासैनी, गोकर्णप्रसाद पराजुली, स्थानीय सामुदायिक वन उपभोक्ता, टोलविकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्याक्रममा दैनिक १० मेट्रिकटन धुलो दूध उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गरिने प्रदेश दूग्ध विकास बोर्डका अधिकृत डा. शत्रुघन साहले जानकारी दिए । दैनिक ४० हजार केजी दूध खपत गर्ने उद्योग स्थापनाले बागमती प्रदेशका साथै प्रदेश–२ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीका किसानको दूध पनि खरिद गर्न सक्ने बताइएको छ । पाउडर प्लान्टको भविष्य राम्रो रहेको र किसानले उत्पादन गरेको दूध खेर जान नदिनका लागि यो उद्योग अपरिहार्य रहेको हेटौंडा–१० का वडाअध्यक्ष कितावसिंह लामाले बताए ।

हेटौंडा–१० का वडासदस्य ईन्द्र नेपालले उद्योग स्थापना गर्दा सीमसार क्षेत्रमा चरिचरणमा आउने जंगली पशुलाई असर नपर्ने गरी योजना बनाउन आग्रह गरेका छन् । राजमार्ग नजिकै भएका कारण बाहिरी जिल्लाका किसानले उत्पादन गरेको दूध सीधै उद्योगमा ल्याउन सहज हुने सदस्य नेपालले बताए । कन्सल्टेन्सीका इन्जिनियर सुदर्शन सेढाईले उद्योगबाट निस्कने फोहर सबै ट्रिटमेन्ट गरेर मात्र खोलामा छोडिने बताए ।
राप्ती किनारमा स्थापना गरिने उद्योगसँगै पशुआहारा उत्पादन गर्ने क्याटल फिड इण्डस्ट्रिज पनि सरकारी स्वामित्वको उद्योग हो । बागमती प्रदेश सरकारले दूध र माछामासुमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम अघि सारेको छ ।

चक्लेट क्याटवरी उद्योग स्थापना, बाच्छी श्रोतकेन्द्र स्थापना, बिपन्नलाई गाइभैंसीपालनमा निब्र्याजी ऋण प्रबाहलगायतका कार्यक्रम अघि सारेको थियो । कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै कृषि क्षेत्रका अभियन्ताहरुले सकारात्मक मानेका छन् । दूध उत्पादन गर्ने किसानलाई २ रुपैयाँ अनुदान कार्यक्रमले किसान यसतर्फ आकर्षित हुने बताइएको छ ।

दूध उत्पादनको लागत घटाउन १३ वटै जिल्लामा घाँसखेती कार्यक्रम, दुग्ध क्षेत्रमा मेसिनरी वितरण कार्यक्रम प्रदेश सरकाले ल्याएको छ । समग्र दुग्ध क्षेत्रको विकास र विस्तार गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेशन साइन्सबीच भएको समझदारी अनुसार दुग्ध विकास कार्यक्रममार्फत् गरिबी निवारण नामक परियोजना सञ्चालनका लागि प्रदेश दुग्ध विकास बोर्डमार्फत् शेयर लगानी कार्य गर्ने बताइएको छ ।

दुग्ध विकास संस्थानअन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनाको परिसरमा रहेको धुलो दूध कारखाना (पाउडर प्लान्ट) ले दैनिक ७० हजार लिटर कच्चादूधबाट धुलो दूध उत्पादन गर्ने क्षमता रहेको छ । त्यस्तै नेपालको सवैभन्दा ठूलो धुलो दूध कारखाना चितवन कोईले भरतपुरको ठिमुरामा छ वर्षअघि उत्पादन शुरु गरेको थियो । चितवन मिल्क लिमिटेडमा चितवन कोईको ८९ प्रतिशत र सरकारी संस्था दुग्ध विकास संस्थानको ११ प्रतिशत साझेदारी रहेको छ ।

यसको क्षमता पनि दैनिक ७० हजार लिटर दूध खपत गर्न सक्ने छ । दूध उत्पादन कम भएका बेलामा डेरी उद्योग र अन्य उद्योगले विदेशबाट धुलो दूध खरिद गरी उपभोक्तालाई वितरण गर्दै आएका छन् । असोजदेखि बैशाखसम्म धुलो बनाएर स्टक राख्नुपर्ने हुन्छ । दूध उत्पादन हुने सिजनमा किसानले दूध विक्री गर्न नसकेको र उत्पादन नहुने सिजनमा सरकारी स्वामित्वको दुग्ध विकास सस्थानले भारतको पटना डेरीसँग दूध खरिद गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *