जोखिममा वित्तीय संस्थाको लगानी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, २७ भदौ


लामो लकडाउनका कारण बैंकहरुले गरेको कर्जा लगानी संकलनमा ह्रास आएपछि वित्तीय संस्थाको लगानी जोखिममा परेको छ । गत आर्थिक बर्ष (२०७६÷०७७) को असार मसान्तसम्म कर्जा संकलन सन्तोष जनक भएपनि त्यस यता कर्जा संकलन कम हुंँदा लगानी जोखिममा परेको हो । साथै नयांँ क्षेत्रमा समेत लगानी नहुंँदा तरलता बढ्दै गएको कारण आफूहरु दोहोरो मारमा परेको बैंकर्सहरु बताउंँछन् ।
हाल चितवनका हरेक बैंकहरुमा नयांँ लगानी र कर्जा लगानीसमेत शून्य जस्तै भएको छ ।
वाणिज्य बैंक भरतपुर शाखाका प्रबन्धक ईश्वरी न्यौपाने कर्जा संकलन र नयांँ लगानी नहुंँदा जोखिम बढेको बताउंँछन् । ‘बैंकमा पुरानो कर्जापनि उठ्न छाड्यो, नयांँ लगानी पनि छैन, उनले भने उल्टै निक्षेपकर्ताको व्याज तिर्नुपर्ने अवस्था छ ।’
असार मसान्तसम्म सांँवा, व्याज तिर्ने र नवीकरण गर्ने सेवाग्राही आउने क्रम ठिकै भएपनि हाल यो क्रम ठप्प भएको उनले बताए । उनका अनुसार अझैपनि कोभिड १९ कारण अन्योल रहेका कारण नयांँ लगानी र कर्जा तिर्नुभन्दा स्वास्थ्य र दैनिक जीवन यापन प्राथमिकतामा पर्दा यस्तो अवस्था आएको हो ।
नयांँ उद्योग व्यवसाय, पूर्वाधार र संरचनामा लगानी ठप्प भएपनि कृषिजन्य उत्पादनमा भने केही लगानी आकर्षण भएको छ । तर साउनपछि भने यसको अनुपात पनि कम हुँदै गएको छ । कृषि विकास बैंक, हाकिमचोक शाखाका प्रबन्धक दिनेशबाबु नेपाल असारको पहिलो साताको समयमा लकडाउन खुकुलो गरेपछि कृषि क्षेत्रमा लगानी गर्ने नवउद्यमीहरु आएपनि अहिले त्यो क्रम बन्दजस्तै भएको बताउँछन् । ‘पुराना कर्जातिर्ने ग्राहक पनि कम छ । नयांँ लगानी गर्न आउने झन कम छ ।’ उनका अनुसार पछिल्लो समय केही आशा गरिएको कृषि क्षेत्रको उत्पादन समेत बजार मूल्य नपाएर खेर फाल्नु परेको कारण पनि यसक्षेत्रतर्फ वितृष्णा बढेको हो ।
जोखिम बढेपनि यसले केही समय संकटमा पारेपनि अवसर पनि उत्तिकै दिने सम्भावना छ ।
कतिपय बैंकहरुले आफ्ना नियमित ग्राहकहरुलाई उनीहरुको हाल अवस्थाबारे साध्ने गरेपनि कर्जाको लागि भने ताकेता नगरेको बताउंँछन् । ‘हरेक क्षेत्र अस्तव्यस्त छ । ‘हामी आर्थिक क्षेत्रसंँगै निर्भर रहन्छौं सानिमा बैंक लिमिटेडका नारायणगढ शाखा प्रमुख दिनेश गौतमले भने, तर डराइहाल्नुपर्ने अवस्था चाहिंँ आएको छैन ।’ कोभिड १९ का प्रभाव लामोसमय रहे आर्थिक क्षेत्र ठप्प हुने भएकोले कर्जा उठ्न ढिलाइ हुने र कतिपय कर्जा उठ्नै नसक्ने अवस्था हुनेपनि उनको भनाइ छ ।
बैंकहरुमा कर्जा संकलन कम र तरलता बढेपनि हालसम्म यसको असर त्यति देखिएको छैन । अवस्था सामान्य हुँदै गएपनि पहिलेकै अबस्थामा आउन वित्तीय संस्थालाई केही बर्ष लाग्ने निश्चित छ ।
कर्पोरेट इन्भेष्टमेण्ट एण्ड फाइनान्सिङ्ग बिषयमा विद्यावारिधि गर्दै रहेका चितवनका कपिलदेव सुवेदी अहिले नै यसको असर नदेखिएपनि अब भने यसको असर देखा पर्दै जाने बताउंँछन् । ‘जति लगानीकर्तामा र ऋणीमा अन्योलता बढ्दै जान्छ त्यति बैंकको जोखिम बढ्छ ।’ उनले भने । उनका अनुसार बिशेषगरी पर्यटनक्षेत्र, अटोमोबाइल, रियल स्टेट क्षेत्रमा बढी जोखिम बढेकोले त्यस्ता बैंकहरुको लगानी थप जोखिममा पर्ने हुन्छ । ‘जुन बैंकले कर्जा लगानीलाइ विविधीकरण गरेका छन् उनीहरुको जोखिम कम हुन्छ , उनले भने । एकै क्षेत्रमा बढी लगानी गर्नेको जोखिम बढी छ ।’यसलाई सन्तुलनमा ल्याउन सरकारले कर्जा सहुलियत गर्ने, पुनर्कर्जा लगानीमा आकर्षण गर्ने सम्भावना भएका अन्य क्षेत्रहरुमा लगानी बढाउंँदै जानुपर्ने उनले बताए । उनका अनुसार यो समयमा हाइड्रोपावर, कृषिउत्पादन, औषधिजन्य उत्पादनमा लगानी बढाउंँदै लगेमा जोखिम कम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *