पक्की पुल निर्माणमा झण्डै २१ करोड खर्च

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

सल्यान, २२ भदौ


भौगोलिक रुपमा बिकट मानिएको सल्यानमा पूर्वाधार बिकासको कामले तीव्रता पाउन थालेको छ । पछिल्लो समयमा देशको नीति निर्माणदेखि उच्च तहसम्म सल्यानी नेताहरुको पहुँच पुग्न थालेपछि जिल्लामा पूर्वाधार विकासका लागि करोडौँ रकम विनियोजन हुन थालेको छ । सोही अनुसार अहिले जिल्लामा पूर्वाधार विकासका कामले तीव्रता पाउन थालेको छ ।

यसैक्रममा सल्यानमा बितेको आर्थिक बर्ष २०७६÷०७७ मा पाँच वटा पक्की पुल निर्माण गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रहरुमा निर्माण गरिएको पक्की पुलको लागि करिब २१ करोड रुपैयाँ खर्च भएको छ । जसको लागि २० करोड ९४ लाख रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

जसमा कालाखेत पिपलनेटा जोड्ने शारदा नदीमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । तीन करोड ४० लाख रुपैयाँमा सो पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । बिगतमा यहाँ पक्की पुल नहँुदा आवतजावतमा निकैँ समस्या हुने गरेको थियो ।

त्यस्तै शंखमुल झिम्पे सडकखण्डको लड्केनी शंखमुल खोलामा २५ मिटर लामो पक्की पुल निर्माण भएको छ । रु. ३ करोड ३९ लाख लागतमा सो पुल बनेको हो । यस्तै सोलावाङ रिम सडकखण्डको घट्टे खोलामा १५ मिटर लामो अर्को पुल पनि निर्माण भएको छ ।

यसैगरी स्थानीय सडक पुल कार्यक्रम मार्फत त्रिवेणी लुहाम सडकखण्डको लुहाम खोलामा ९९ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । सो पुल रु. ८ करोड २७ लाख लागतमा निर्माण भएको हो । यस्तै थारमारे बडागाउँ रुकुम चौरजहारी सडकखण्डको त्रिवेणीमा रहेको जिमाली खोलामा १८ मिटर लामो पक्की पुल निर्माण भएको छ ।

पुल निर्माणको लागि रु. २ करोड ४ लाख खर्च भएको छ । यस्तै सिद्धकुमाख गाउँपालिका–१ मोख्ला भएर भएर छत्रेश्वरी गाउँपालिका दमाचौर सडकखण्डको मोख्लामा ३५ मिटर लामो पुल निर्माण भएको छ । रु. ३ करोड ८३ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विनोद पुनले जिल्लामा निर्माणाधीन अरु पक्की पुलको काम पनि समयमै सक्ने गरी काम भइरहेको बताएको छ । कर्णाली प्रदेश अरु प्रदेशको तुलनामा विकट प्रदेश भएको र भौगोलिक बनावटले पनि पछाडी परेकोले बर्षातको समयमा नागरिकलाई हिडडुलमा समस्या आउने भएकोले यातयातका साधन सञ्चालन गर्न सहज होस् भनेर पुल निर्माण गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *