महको उत्पादन आधा घट्यो, यसबर्ष थप घट्ने प्रक्षेपण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, २२ भदौ


कोभिड १९ का कारण देशभर जारी लकडाउनको असर मह उत्पादनमा पनि परेको छ । लकडाउनका कारण र मौसम प्रतिकूलताका कारण मौरी चराउन नपाउंँदा महको उत्पादनमा झण्डै ५० प्रतिशत ह्रास आएको नेपाल मौरीपालक महासंघले जनाएको छ ।

सिजनको समयमा मौरीलाई चराउन चितवनका किसानले दाङ्ग, प्यूठान, अर्घाखाँची, महोत्तरी लगायतका जिल्लाहरुमा लग्ने गर्दथे । तर लकडाउनका कारण ढुवानी सहज नहुँदा र त्यहाँका स्थानीय सरकारले समेत अवरोध गर्दा मौरीलाई घर वरिपरि नै चिनी खुवाएर राख्नु परेको मौरी किसानको गुनासो छ । ‘अघिल्लो बर्ष त ५० क्वीन्टल मह विक्री भएको थियो, अहिले त विक्री पनि छैन । घारको संख्या पनि घटाएको छु ।’ भरतपुर महानगरपालिका वडा नम्बर ९ का किसान विष्णु भूषालले भने ।

सिजनको समयमै लकडाउन जारी भएको र मौरी चराउन अन्य जिल्ला लान नसक्दा उत्पादन घटेको उनले बताए । लकडाउन लम्बिदै जांँदा र आउंँदो सिजनमा समेत चराउन लैजान नपाए थप उत्पादन घट्ने उनको भनाइ छ । मह उत्पादनको लागि मुख्यत असारदेखि भदौ महिनालाई अफसिजन मानिन्छ । अहिले जिल्लाका किसानहरुले घारभित्रै मौरीलाई आहाराको रुपमा चिनीपानी घोलेर खुवाउनुपर्ने हुन्छ । जसका कारण यो समयमा मह समेत उत्पादन हुँदैन ।

भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरका गोर्खा मौरी फार्मका सञ्चालक एवं मौरी विज्ञ डाक्टर खेमराज पौडेल गतबर्ष महको उत्पादन झण्डै ५० प्रतिशत ह्रास आएको बताउंँछन् । ‘महको उत्पादनमा ह्रास आएको छ, मौरीको गोला विस्तार पनि हुन पाएको छैन ।’ डा. पौडेलले भने । गतबर्ष हिउंँदमा समेत निरन्तर बर्षा भएको कारण हरेक बोटविरुवाको फूल झर्ने र रस पखालिएका कारण पनि मौरीले रस संकलन गर्न पाएका थिएनन् । लकडाउनका कारण किसानले मौरी चराउन नपाएका कारण सही रुपमा मौरीको हेरचाह हुन नसक्दा मह उत्पादन भारी ह्रास आएको उनको भनाइ छ ।

मौरीको चरन व्यवस्थापन हुन नसक्दा र बिषादीका कारण मौरी मर्ने क्रम समेत बढेको छ । दिनुहंँजसो मह उत्पादन लागत बढ्ने तर विक्री र मूल्यमा समेत सुधार हुन नसक्दा किसानहरु विस्थापित समेत हुन लागेका छन् । संघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा मह उत्पादन हुन नसक्दा र घार विस्तार हुन नसक्दा उत्पादनमा ह्रास हुँदै गएको छ । गतबर्ष ५० प्रतिशत जति उत्पादन घटेको छ, किसान पनि घटेका छन् । उनले भने, अहिलेको अवस्थाले यो बर्ष थप मह उत्पादन घट्छ ।

किसानलाई चरनकै चिन्ता

गतबर्ष पनि मौरी किसानले मौरी चराउन नपाएर मह उत्पादन घटेका बेला हाल जारी लकडाउनका कारण उनीहरुमा झनै चिन्ता थपिएको छ । ‘अब असोजदेखि फेरि सिजन शुरु हुन्छ, मौरी कहांँ चराउन लाने हो । अन्योल छ ।’ किसान विष्णु भुषालले भने । लकडाउनका कारण मौरीको घार ढुवानीमा सहज नहुंँदा र ती जिल्लाहरुमा अवरोध जारी भएका कारण उत्पादनमा थप ह्रास आउने अनुमान पनि गरिएको हो ।
गत बर्षपनि चराउन लगिएको मौरी बाटोबाटै फर्काइएका कारण मौरी मरेको किसानहरुले बताउंँदै आएका छन् । ‘पोहोर महोत्तरी लैजान लागेको घार बीच बाटोबाट नै फर्काइयो, आधाभन्दा बढी मौरी मरे ।’ भुषालले भने ।

चितवनमा चरनको लागि प्रशस्त ठाउंँ नभएको र चिउरीको बोट लगाउनका लागि तीनतहकै सरकारले चासो नदेखाएको कारण मौरी चराउन अन्य जिल्ला लानुपर्ने बाध्यता छ । केही दशक अघि मात्र तोरीको राजधानी भएको जिल्लाको रुपमा चिनिएको चितवनमा पनि तोरीखेती गर्ने जमिन र किसानको संख्या समेत घटेको कारण मौरी चरन पर्याप्त छैन ।

‘अब असोजदेखि मौरी लैजान पाइएन भने, फेरि कात्तिकको अन्तिमसम्म चिनी खुवाएरै बचाउनु पर्छ । ’केन्द्रीय अध्यक्ष शर्माले भने । चितवनमा कात्तिक दोस्रो सातापछि मात्रै तोरी फूल्ने र यहांँको तोरीखेतीले मात्र चरन पर्याप्त नहुने उनको भनाइ छ । हाल अघिल्लो बर्ष (२०७५/०७६) मा देशभर २ हजार ५सय मेट्रिक टन भन्दा बढी मह उत्पादन भएको थियो । गतबर्ष (२०७६/०७७) मा घटेर १ हजार ५ सय मेट्रिक टन मह उत्पादन भएको संघको तथ्यांक छ ।

त्यसमध्ये गतबर्ष चितवनमा मात्रै ४०० मेट्रिक टन उत्पादन भएको थियो । यो बर्ष मह उत्पादन घटेर १ हजार मेट्रिक टन भन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । देशभर मौरीपालक किसानको संख्या ६ हजार ५ सय छन् भने चितवनमा मात्रै ५०० को हाराहारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *