सिंहदरबार वैद्यखाना: आम्दानी भन्दा खर्च बढी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ३ बैशाख
 

सिंहदरबार वैद्यखानाको आयभन्दा व्यय बढी भएको पाइएको छ। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले वैद्यखानाको आयभन्दा व्यय बढी भएको देखाएको हो।

गत वर्ष समितिको सरकारी अनुदान  १ करोड ५० लाख ७ हजार समेत गरी  कुल आम्दानी  १५ करोड ३८ लाख ८७ हजार भएकोमा  ४ करोड ३६ लाख ८९ हजार खर्च भई ११ करोड १ लाख ९८ हजार मौज्दात रहेको छ।

समितिको २०७७/७८ मा बिक्री २ करोड ६५ लाख १ हजार भई  ५ करोड २९ लाख ४४ हजार खर्च देखिएकोमा यो वर्ष बिक्री  १ करोड ८१ लाख ७५ हजार भई खर्च ४ करोड ३५ लाख ७१ हजार हुँदा घाटा १४० प्रतिशत पुगेको छ। समितिको आयभन्दा व्यय बढी भएकोले खर्च घटाई बिक्री बढाउन महालेखाले सुझाव दिएको छ।

त्यस्तै वैद्यखानाले २०७९ मा ३१२ किसिमका औषधि उत्पादन गर्ने लक्ष्य राखेकोमा ७६ किसिमका औषधि मात्र उत्पादन गरेको छ। लक्ष्यअनुसार औषधि उत्पादन नगर्दा वैद्यखानाको उद्देश्य पुरा नहुनुका साथै आम्दानीसमेत कम भएको छ।

वैद्यखानाको कुल दरबन्दी ६४ रहेकोमा प्रमुख औषधि उत्पादन अधिकृत १, प्रमुख अनुसन्धान तथा गुणस्तर अधिकृत १ र औषधि कुटुवा ७ लगायतका ४३ पद रिक्त रहेका छन्।

वैद्यखाना र जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रबीच मासिक रूपमा रू.४० हजारका दरले भाडा प्राप्त गर्ने गरी सम्झौता भएकोमा २०७५ आषाढदेखि २०७९ फाल्गुणसम्मको २२ लाख ४० हजार घर भाडा प्राप्त गरेको छैन। कार्यालय परिसरभित्र ५ तल्ले नव निर्मित भवन विगत वर्षदेखि प्रयोगमा नरहेको र भाडामा दिएको पनि देखिँदैन।

समितिले  १२ करोड १२ लाख १७ हजार खर्च गरी निर्माण गरिएको भवन वर्षोदेखि प्रयोगविहिन रहेको तर्फ समिति र मन्त्रालयमा पटक पटक जानकारी गराउँदा समेत सो भवन प्रयोग गर्नेतर्फ ध्यानाकर्षण भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *