न्यूज अपडेट
भोजपुर, १७ भदौ
जिल्लाको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको रुद्राक्ष व्यवसाय यस बर्ष अत्यधिक वर्षातका कारण फल लाग्न नपाउँदै फूल झर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । फल लाग्ने समयमा फल नलाग्दै फूलमै कुहिन थालेपछि भोजपुरका रुद्राक्ष कृषक निरास बनेका हुन् । पछिल्लो समय जिल्लाको अर्थतन्त्रमा दरीलो टेवा दिइरहेको रुद्राक्षको उत्पादन यसवर्ष भने खस्किदो अवस्थामा रहेको छ ।
अत्यधिक वर्षातका कारण फल नलाग्दै फूलमै कुहिन थालेपछि कृषकहरु चिन्तित बनेका छन् । छिमेकी देश चीन, भारत लगायतका वाह्य मुलुकमा निर्यात हुने रुद्राक्ष वजारको माग अनुरुप वनाउन कृषकहरुले लाखौ खर्च गरेर विषादीको प्रयोग गरे तर वोटमै फूल नअडिएको स्थानीय कृषक केवल साहीले बताए ।
भारत र चीन मुख्य बजार रहेको रुद्राक्ष व्यवसायलाई कोरोना भाइरसले समेत प्रत्यक्ष प्रभाव पारेको छ । कोरोनाको माहामारी रहिरह्यो भने वाह्य मुलुकवाट व्यापारी नआउने भएकाले लगानी डुव्ने स्थानीय व्यापारीहरु बताउँछन् । त्यस्तै कोरोना संक्रमणको कारण रुद्राक्षको वजार घट्ने रुद्राक्ष व्यवसायी संघका केन्द्रीय अध्यक्ष उत्तम कट्वालले बताए ।
फल लाग्ने समयमा फूलमै कुहिएर झर्नु बढी वर्षातका कारण मात्र नभएर रुद्राक्षको गुणस्तर वृद्घि गर्न मापदण्ड विपरीतका विभिन्न खालका विषादी प्रयोगका कारण पनि फूल नअडिएको हुन सक्ने विज्ञहरु वताउँछन् । विशेष गरेर भोजपुरको उत्तर क्षत्रमा रहेको षडानन्द नगरपालिकामा प्रसस्त मात्रामा रुद्राक्ष खेती हुने गर्दछ ।