रोकिएन तामाकोशी नदीमा अबैध बालुवा उत्खनन्

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
दोलखा, १७ भदौ


तामाकोशी नदीमा असारदेखि भदौ मसान्तसम्म बालुवा उत्खनन् गर्न निषेध गरिएतापनि अबैध रुपमा उत्खनन् गर्ने क्रम नरोकिएको पाइएको छ । पटक–पटक अबैध रुपमा बालुवा उत्खनन् गरिरहेका साधन पक्राउ परेबाट अबैध उत्खनन् नरोकिएको पाइएको हो ।
पछिल्लो पटक उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदी किनाराबाट भदौ १५ गते साँझ ७ बजे गैरकानुनी रुपमा बालुवा उत्खनन् गरेका ४ ट्रयाक्टर सहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रेवतीरमण पोखरेलले बताए ।

यसअघि १२ गते राती ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोसी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एस्काभेटर र दुई टिपरसहित २ जनालाई गस्तिमा रहेको सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अनुगमन तथा समन्वय समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको प्रतिवन्धलाई बेवास्ता गर्दै अबैध उत्खनन्मा संलग्न सवारी साधनका धनीहरुलाई जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले जरीवाना गरेको छ । अबैध रुपमा तामाकोशी नदीमा भदौ १२ गते बेलुका बालुवा उत्खनन् तथा वसारपसारमा संलग्न ३ वटा साधनलाई भदौ १४ गते बसेको जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिको बैठकले जरीवाना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए । अबैध उत्खनन्मा संलग्न एक एस्काभेटरलाई ३ लाख तथा बालुवा वसार्न प्रयोग भएका दुई ट्रिपरलाई ३०/३० हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरिएको संयोजक पाण्डेको भनाइ छ ।
कहिलेकाहीँ प्रहरीले अबैध उत्खनन्मा संलग्नहरुलाई समाते पनि रातको समयमा नदीबाट बालुवा झिक्ने गरिएको तामाकोशी नदी निकट बस्ने स्थानीय वासिन्दाको भनाइ छ । जथाभावी बालुवा झिक्नाले तामाकोशी नदीका बगरहरुमा खाडलमात्र देखिन थालेको छ । रातको समयमा बालुवा झिक्ने क्रममा स्थानीय युवाहरुबीच विवाद भई झगडा समेत हुने गरेको उनीहरुको भनाइ छ । एक स्थानीय तहतर्फको बगरबाट रातारात अर्को स्थानीयतहमा समेत लगेर बालुवा थुपार्ने होडबाजी तामाकोशी नदी आसपासमा चलेको छ ।

साँघुरो बगर भएको तामाकोशी नदीमा केही स्थान बाहेक कानुनी रुपमा क्रसर राख्ने मापदण्ड नपुग्ने भएतापनि दोलखाका विभिन्न स्थानीय तहहरुले नदीका आसपास दर्जनौं ठाउँहरुमा नदीजन्य पदार्थको ठेक्का निकालेका छन् । यसबाट नदीको सतह अझै गहिरिने तथा नदी आसपासका वस्तीहरु जोखिममा पर्ने वातावरण विदहरुको भनाइ छ । हिउँदमा बैध रुपमैं जथाभावी नदीको बगर उत्खनन् गर्ने तथा वर्षा याममा अबैध उत्खनन्ले आफूहरु बाढी पहिरोको जोखिममा परेको स्थानीयहरुको गुनासो छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै नदीजन्य पदार्थको उत्खनन्का लागि स्थानीय तहहरुले टेन्डर निश्कासन गरेपनि वातावरणीय प्रभावको मूल्याङ्कन गर्दा कानुनी र नदीजन्य सामग्री झिक्ने ठाउँको वास्तविक स्थिति नहेरी झाराटार्ने प्रतिवेदन मात्र मूल्याङ्कनकर्ताले बुझाउने गरेको स्थानीयहरुको आरोप छ । दोलखामा निर्माण कार्यका लागि अति आवश्यक नदीजन्य पदार्थको विकल्प तामाकोशी नदी बाहेक अन्यत्र नभएकोले फराकिलो बगर भएको ठाउँमा मात्र निश्चित परिमाणभन्दा बढी बालुवा निकाल्न नपाउने गरी ठेक्का लगाउने तथा ठेक्का अबधिभर स्थानीय तहले कडा अनुगमनको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

तामाकोशी नदीमा अबैध उत्खनन् बढेसँगै अबैध नदीजन्य पदार्थ उत्खनन् बारेको समाचार लेख्ने पत्रकारहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा धम्की समेत आउन थालेको छ । धम्की आएपछि आफू जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन बाध्य भएको दोलखाका एक पत्रकारले बताए ।
अबैध रुपमा बालुवा उत्खनन् कार्य बढेको गुनासो आइरहेसँगै प्रशासनको सक्रियता बढेको छ । कोभिडका कारण अन्य काममा समेत प्रहरी परिचालन हुनु परेकोले केही समस्या भएपनि प्रहरीको गस्ती बढाई अबैध उत्खनन् कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । दोलखाको विगु गाउँपालिकादेखि तामाकोशी गाउँपालिकाको किर्नेटारसम्म तामाकोशी नदी किनारमा दर्जन बढी क्रसरहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *