३ महिनामा तरकारीको मूल्य १ हजार प्रतिशतले बढ्यो, सरकार निरिह बन्दा बिचौलियाको रजगज

अर्थ/वाणिज्य विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडाैं, १६ भदाै

vegetable

पछिल्लो ३ महिनायता तरकारीको मूल्यले आकाश छोएको छ । यो अवधिमा कुनै–कुनै तरकारीको मूल्य त पछिल्लो १ हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अहिले तरकारीको मूल्य ह्वात्तै बढ्नुमा अफसिजन प्रमुख कारण भएको व्यवसायीहरु बताउँछन् । तर, विचौलियाको रजगजका कारण मूल्य बढेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

पछिल्लो समय बर्षायामको अन्त्य हुँदै गर्दा अफसिजन शुरु भएको हुनाले तरकारीको मूल्यमा भारी वृद्धि भएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय कोरोना भाईरसको महामारीका कारण निम्तिएको लकडाउन र निषेधाज्ञाका कारण पनि तरकारीको मूल्यमा भारी वृद्धि भएको हो ।

कालिमाटी तरकारी बजारको मूल्य सूचीअनुसार गत जेठ महिनाको तुलनामा हालसम्म प्रायः तरकारीको मूल्य २ सय प्रतिशतमाथि बढेको छ । उक्त समयमा तरकारीको मागमा गिरावट र उत्पादन पनि पर्याप्त भएकाले यसको मूल्य घटेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

तर, हाल अफसिजनका कारण तरकारीको उत्पादन घट्नुका साथै जेठको तुलनामा माग पनि बढेकाले तरकारीको मूल्य स्वतः बढेको उनले बताए । तर, बजारमा तरकारीको अफसिजन र माग बढी भएर मूल्य बढेको नभई विचौलियाको रजगजका कारण मूल्य बढेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना सरकारले किसानको बारीबाट उठाएदेखि उपभोक्ताको घरसम्म तरकारी पुग्दासम्म तरकारीको कारोबार गर्ने विचौलिया नियन्त्रण गर्न नसक्दा एक्कासी तरकारीको मूल्य बढेको बताउँछन् । उनका अनुसार विभिन्न समयमा अनेक किसिमका बहाना गर्दै तरकारीको मूल्य बढाउनु बिचौलियाहरुको कामै हो ।

तर, पछिल्ला केही दिनयता काठमाडौंका कालिमाटी, बल्खु तरकारी बजारमा भएको अनुगमनमा अफसिजन र तरकारीको अभावका कारण तरकारीको मूल्य बढेको प्रमाण नभेटिएको उनको भनाइ छ । मञ्चले काठमाडौं महानगरपालिकाको संयोजकत्वमा शनिबार मात्रै विभिन्न तरकारी बजारको अनुगमन गरेको थियो । तरकारीको आपुर्तिमा समेत समस्या नभएको उनले जानकारी दिए ।

गत जेठ १९ गतेको तुलनामा स्थानीय काउलीको मूल्य मात्रै १ हजार २५ प्रतिशतले बढेको छ । जेठ १९ गते प्रतिकिलो १२ रुपैयाँ थोक मूल्य पर्ने काउली हाल १ सय ३५ रुपैयाँ प्रतिकिलो पर्न थालेको छ । यस्तै बन्दा र घ्यु सिमीको मूल्य प्रतिकिलो ३ सय प्रतिशतमाथि वृद्धि भएको कालिमाटी तरकारी तथा फलफुल बिकास समितिले जानकारी दिएको छ ।

यस्तै पछिल्लो ३ महिनामा गोलभेडाको मूल्य २७७ प्रतिशतले बढ्दा रातो आलुको मूल्य १०९ प्रतिशतले उकालो लागेको छ । यस्तै सुकेको प्याज, मुला, गाँजर, भ्यान्टालगायतको मूल्य पनि सोहीअनुसार बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *