कोरोनाको उपचारमा प्रयाेग हुने इंजेक्शन ‘सिप्रिमी’अब नेपालमै पाइने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ भदाै

कोरोनाको उपचारमा प्रभावकारी देखिएको भन्दै विश्वका विभिन्न देशहरुमा परीक्षणकै हिसाबले प्रयोगात्मक रुपमा उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिरको इन्जेक्सन अब नेपालमा आधिकारिक रुपमा उपलब्ध हुने भएको छ ।

विश्वप्रख्यात औषधि उत्पादक संस्था सिप्ला लिमिटेडको उत्पादन रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्सन(सिप्रिमी) नेपाली बजारमा आएको हो । नेपालका लागि सिप्रिमीको आधिकारिक वितरक येटिचेम वितरक प्रा. लिमिटेडले रेम्डेसिभिरको पहिलो ब्याच सिप्रिमी १०० मिग्रा नेपाली बजारमा ल्याएको हो ।

सोमबार राजधानीमा ‘भर्चुअल प्रेस मिट’को आयोजना गर्दै कम्पनीले सिप्रिमी ल्याइएको घोषणा गरेको छ । मुलकमा कोरोना भाइरसको संक्रमण र जोखिम बढिरहेको अवस्थामा बजारको माग र आवश्यकताको आधारमा कम्पनीले सिप्रिमीको माग गरेको र उता उत्पादक कम्पनी सिप्लाले पनि इंजेक्सन दिन तयार भएकाले बजारमा सिप्रिमी उपलब्ध गराउन सकिएको वितरक येटिचेमले जनाएको छ ।

उक्त इंजेक्सन कोभिड–१९ उपचारको प्रतिवद्धतासहित तत्काल आवश्यकताका आधारमा औषधि प्रशासन विभाग(डीडीए) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत स्वीकृतिमा आयात गरिएको कम्पनीले जनाएको छ ।

४८० शीशीहरूमा उपलब्ध सिप्रिमीको सानो ईकाई १०० मिग्रा कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको छ । पहिलो चरणमा १०० मिग्रा उपलब्ध गराएको येटिचेमले सिप्लाले उत्पादन गरेको रेम्डेसिभिरको थुप्रै जेनेरिक उत्पादनमध्ये यो नै सबैभन्दा कम मूल्यको भएको बताएको छ । यसको नेपाली बजार मूल्य प्रति शीशी ६ हजार ४ सयरुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

सिप्रिमीको घोषणा गर्दै येटिचेम डिस्ट्रिब्युटरका अध्यक्ष प्रभु आर वैद्यले भने, ‘हामीले दुई हजार (२०००) शीशीको लागि अनुमति पाएका छौं । औषधि तीन ब्याजमा उपलब्ध हुनेछ । ४८० शीशीहरुको दोस्रो ब्याच १० सेप्टेम्बरमा उपलब्ध हुनेछ भने बाँकी १०४० शीशीहरु २५ सेप्टेम्बरसम्ममा उपलब्ध गराइनेछ ।’

नेपालमा कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएदेखि नै सरकारले खाँचोमा परेका बिरामीलाई रेम्डेसिभिर दिने व्यवस्था गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद(एनएचआरसी) द्वारा डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको प्रोटोकल र दिशानिर्देशहरू पालन गरेर मात्र विरामीहरुमा रेम्डेसिभिरबाट उपचार गर्न पाइनेछ ।.तर रेम्डेसिभिरबाट विरामीमा कुनै खालको साइड इफेक्ट नहुने कम्पनीले जनाएको छ ।

रेम्डेसिभिरका बारेमा बोल्दै बीर अस्पतालका डा.अशेष ढुंगानाले कोभिड–१९ का विरामीको उपचारमा रेम्डेसिभिर उत्कृष्ट पाइएको बताएका छन् । आशङ्का वा प्रयोगशालाले पुष्टि गरिएको कोभिड–१९ संक्रमणका विरामीहरुमा रेम्डेसिभिर परिक्षण गर्दा प्रभावकारी पाइएको छ । हाल मात्र यूएस एफडीए स्वीकृत आपतकालीन प्रयोग प्राधिकरण (ईयुए) मा यसको सफल परीक्षण भएको छ । अप्रिलको अन्तमा जारी गरिएको यूएसद्वारा संचालित क्लिनिकल परीक्षणमा, रेम्डेसिभिरको प्रयोगले अस्पतालमा बिरामी बस्नुपर्ने पूर्णदिनको लगभग चार दिन घटाइदियो ।’

डाक्टर ढुंगानाले भने, ‘रेम्डेसिभिरलले शरीरमा सार्स–कोभ–२ कोरोनाभाइरसको पुनर्उत्पादनलाई रोक्ने काम गर्छ । यो सामान्यतया कोरोनाभाइरस संक्रमणको कारण शरीरमा अक्सिजनको कमीले गम्भीर अवस्थामा पुगेका कोभिड–१९ का बिरामीहरूलाई दिइन्छ । तिनीहरुमा प्रयोग गर्दा यो औषधि प्रभावकारी प्रमाणित भएको छ ।’

सोही क्रममा बोल्दै कम्पनीका अध्यक्ष वैद्यले भने, ‘अहिले येटिचेमले अस्पताल र प्राथमिकताका क्षेत्रहरुमा गम्भिर प्रकृतिका कोभिड–१९ का विरामीहरुमा सो इंजेक्सनको सहज आपूर्तिको सुनिश्चिता गर्ने कोशिस गर्दैछ ।’ ‘विभिन्न अध्ययनका आधारमा रेम्डेसिभिर प्रभावकारी देखिएकाले कम्पनीले सोको उपलब्धता बढाउँदै गएको’ बताउँदै वैद्यले ‘ सफल परीक्षणको आधारमा औषधिको व्यावसायिक वितरणमा सरकारले अनुमति दिनुपर्ने’ बताए ।

स्मरण रहोस्, नेपाली बजारमा रेम्डेसिभिर उपलब्ध नहुँदा यस औषधिको कालोबजारी व्यापक मात्रामा चलेको थियो । सामान्यतः भारतीय बजारमा ५–६ हजार नेपाली रुपियाँमा किन्न सकिने यो औषधि नेपालमा ८० हजारमा समेत किनबेच भएको कुरा प्रकाशमा आएको थियो । त्यसैबेला हुनेखाने सम्पन्न विरामीहरुले यो औषधि भारतबाट विमान चार्टड गरेर समेत उपचारमा उपयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *