सधै मलको मारमा किसानः पांँच किलो मलको लागि पांँचघण्टा लाइनमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, १४ भदौ


देशभर धान गोडेर युरिया मल हाल्ने बेला भएको छ । कतिपय जिल्लामा धान पसाउन समेत थालेको छ । तर, साउन महिनादेखि नै किसान मल आउने व्यग्र प्रतिक्षामा थिए । लकडाउनको कारण देखाउंँदै सरकारले चीनबाट मल आयात गर्न ढिला भएको बताउंँदै आएको थियो । तर गतसातादेखि मलको आपूर्ति नेपालमा भएको भनिएतापनि अझैपनि किसान मलको अभाव खेपिरहेका छन् । मलको नियमित आपुर्ति नहुनु र यतिबेला धानखेतीको लागि सबै किसानलाई एकैपटक युरिया मल आवश्यक परेकोले पनि सधै यस्तो अवस्था आउने गरेको हो । प्रायः हिउंँदमा मलको माग पनि कम र मौज्दात रहने बर्षायाममा माग बढेसंँगै अभाव हुने बर्षौदेखिको रोग बनेको छ ।

आइतबार साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत जिल्लाका सयभन्दा बढी कृषि सहकारीलाई कम्पनीले समानुपातिक ढंगले युरिया मल बांँड्यो । किसानहरु निषेधाज्ञाको प्रवाह नगरी आफ्नो घर नजिकका सहकारीमा गएर लाइन बसे । तर अत्यधिक भीडका कारण कतिपय ठाउंँमा विवाद र झडप भएका कारण मल वितरण स्थगित गर्नुपरेको सहकारीका कर्मचारीले बताए ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ का किसान ज्ञानुशाही ठकुरी मलको लाइनमा बस्न लाग्दा लाठी चार्ज नै भएको बताउंँछन् । ‘मल पाइन्छ भनेर बिहानै बोरा लिएर गएंँ, उनले भने, ‘मल पाउनु कता कता झण्डै प्रहरीको लाठी खाइएन ।’ उनका अनुसार किसानलाई अधिकतम ५ देखि १० किलो दिने भनिएतापनि किसानको भीड बढ्दै गएपछि र विवाद भएपछि वितरण कार्य रोकिएको थियो । भरतपुर महानगरपालिका वडा नम्र ६ स्थित प्रगतिशिल कृषि सहकारीमा पनि उस्तै अवस्था सिर्जना भएको थियो । बिहानैदेखि लामो लाइन भएका कारण कतिपय किसानले ५ किलो मात्रै पाएको र कतिपय किसान रित्तै फर्कनु परेको गुनासो गरे ।

सो वडाकी किसान कमला पौडेल बिहानैदेखि बस्दा मध्यान्हतिर ५ किलो युरिया पाएको गुनासो गरिन् । ‘मलाई २० किलो जति चाहिन्थ्यो के गर्नु बिहान ७ बजेदेखि लाइनमा बस्दा १२ बजेपछि मात्रै पालो आयो ।’ उनका अनुसार मलको माग र भीड अत्यधिक भएको र सहकारीमा न्यूनमात्रामा मल आउंँदा किसानले सास्ती खेप्नु परेको हो । सहकारीले दामाशाहीले मल बाड्ने गरेपनि अधिकांश सहकारीमा साल्ट ट्रेडिङले २० बोरा मात्र उपलब्ध गरेको कारण पनि समस्या परेको हो ।

लामो लाइन र विवादका कारण आफू रित्तै फर्किएको बताउंँछन् सोही वडाका अर्का किसान भागिरथ तिमिल्सिना । ‘भीड पनि बढी भयो, मल पनि सकियो आखिरमा लाइनमा बसेर पनि रित्तै फर्किनु पर्‍यो ’। उनले दुखेसो पोखे । यो कुनै क्षेत्र, स्थान बिशेषको समस्या मात्र नभई देशैभरिको समस्या रहेको बताउंँछन् कृषि सामग्री केन्द्र लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम । ‘जिल्लामा सबैभन्दा बढी मल वितरण गर्ने संस्था हाम्रो हो,’ उनले भने, ‘हाम्रोमा मल अझै आएकै छैन ।’

लामो समयको पर्खाइपछि मल आएको र मल हाल्ने समय घर्किसकेको हुनाले पनि किसानको भीड बढेको उनले बताए । उनका अनुसार हाल साल्ट ट्रेडिङले २० प्रतिशत युरिया मल बेच्ने गर्दछ भने ८० प्रतिशत कृषि सामग्रीले वितरण गर्ने भएकोले हाललाई मल अभाव भएको हो ।
साल्ट ट्रेडिङ कम्पनी, चितवनका प्रमुख बुद्धिविनोद दाहाल मागको तुलनामा आपुर्ति अति न्यून भएकोले किसानले अभाव झेल्नु परेको हो । अहिलेसम्म ६३ मेट्रिकटन जति मल आएको होला, उनले भने, ‘धानको सिजनमा मात्रै यहांँ बार्षिक १० हजार मेट्रिक टनको माग छ ।’ उनका अनुसार दैनिक रुपमा २० मेट्रिक टन मलमात्र आएकोले सहज हुन केही दिन लाग्ने छ । शुरुका दिनमा सहकारीमा भीड भएपनि भदौको अन्तिमसम्म सबै कृषकले पर्याप्त मल पाउने उनको भनाइ छ । सरकारले मल खरिद प्रक्रिया नै ढिला गर्ने गरेकोले र थप युरिया मल चीन हुँदै भारतको कलकत्ता बन्दरगाह हुँदै आउने भएकोले पनि किसानले समयमै मल पाउन नसकेका हुुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *