बन्दाबन्दीको सदुपयोग गर्दै सौराहाका रेष्टुरेण्ट व्यवसायी

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, ४ भदौ


देशभर कोभिड १९ महामारीका कारण विश्व आक्रान्त छ । नेपालमा पनि कोरोनाको प्रभाव कम भएको भन्दै असारको पहिलो साता लकडाउनलाई खुकुलो गरिएको थियो । विस्तारै पर्यटन व्यवसाय पनि जुर्मुराउंँदै थियो । उद्योगी व्यवसायी तथा नागरिकमा उत्साह पलाउंँदै गएको थियो तर अपसोच यो उत्साह धेरै दिन टिकेन ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर पनि उकालो लागेपछि सरकारले कोराना प्रभावित विभिन्न जिल्लाहरुमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्‍यो । जसका कारण पर्यटन व्यवसाय फेरि सेलाउन पुग्यो । तर सौराहाका व्यवसायीले भने यसको सदुपयोग गर्दै आएका छन् । लकडाउन शुरु भएदेखि नै उनीहरुले कृषि कर्मलाई साथै लग्दै आएका छन् । हाल सौराहाका आधा दर्जन भन्दा बढी पर्यटन व्यवसायीले कुखुरापालन र बाख्रापालनलाई निरन्तरता दिँदै आएका छन् । यी मध्ये सबैभन्दा बढी रेष्टुरेण्ट र होटल व्यवसायी रहेका छन् ।
रेष्टुरेण्ट तथा बार एशोसिएशन रेवानका पूर्वअध्यक्ष गोकर्ण गिरी बन्दाबन्दी शुरुभएसँगै आफूले कुखुरापालन र बाख्रापालन गर्दै आएको बताउँछन् । ‘लकडाउनपछि टाइमपास गर्न भने केही लोकल कुखुरा पालेंँ,’ उनले भने, ‘राम्रै फाइदा हुँदोरहेछ ।’ उनका अनुसार कोभिड १९ का कारण पर्यटन व्यवसाय तंग्रिन केही बर्ष लाग्ने भएकाले थप जग्गामा कुखुरा, बाख्रा पालन गर्न लागेको बताए । कृषि कर्म अपनाएपनि भोलिका दिनमा दुईवटै व्यवसायलाई सँगै लैजाने उनको भनाइ छ ।

अर्का साथी रेष्टुरेण्ट र पोखरा थकाली भान्सा घरका सञ्चालक सुवास गौतम पर्यटन व्यवसायको अनिश्चितता भएका कारण आफूले कुखुरा र बट्टाईपालन शुरु गरेको बताउंँछन् । ‘अहिले ८०० वटा कुखुरा र दुईसय बट्टाई पालेको छु । बिक्री पनि राम्रै छ ।’ उनले भने, यसलाई विस्तार गर्दै लैजाने योजना छ । उनका अनुसार निश्चित समयको लागि कृषि व्यवसायलाई समय दिएपनि अवस्था सहज भएपछि दुईवटै व्यवसायलाई निरन्तरता दिनेछन् । ‘के गर्नु होटल, रेष्टुरेण्ट नचलेपनि भाडा र बैंकको ऋण तिर्नका लागि पनि विकल्प खोज्नै पर्‍यो ।’ उनले थपे ।
सौराहाका केही पर्यटन व्यवसायीले कृषिकर्मलाई पछ्याएसंँगै अन्य पर्यटन व्यवसायीले पनि उनीहरुको सिको गरेका छन् । होटल, रेष्टुरेण्टकै खाली जग्गामा यो पेशा व्यवसाय गर्न सकिने भएकोले पनि उनीहरुले कृषि कर्म अगालेका हुन् ।

जंगल जर्नीका सञ्चालक रमेश अधिकारी पर्यटन व्यवसाय धराशायी भएसंँगै यो व्यवसाय गर्न बाध्य भएको बताउंँछन् । ‘यत्रो समय यसै खाली बस्नुपर्‍यो कहिले खुल्ने अझै पत्तो छैन,’ उनले भने, ‘बैंकले व्याज छोड्दैन केही न केही त गर्नुपर्‍यो ।’ डेढ महिना अघिदेखि १ हजार ५ सय ब्रोइलर कुखुरा पाल्दै आएको र थप विस्तार गर्दै लैजाने उनले बताए ।

लामो समय पर्यटन क्षेत्रमै बिताएका होटल पार्कइनका सञ्चालक अर्जुन चौधरीले पनि बाख्रापालन शुरु गरेका छन् । योसंँगै लोकल कुखुरा र ब्रोइलर कुखुरा पाल्ने योजना उनको छ । ‘समय र खाली जग्गाको पनि सदुपयोग हुने, आम्दानी पनि हुने,’ उनले बताए । तर रेवानका अध्यक्ष दीपेन्द्र खतिवडा व्यवसायीले कृषिकर्म गरेपनि रेष्टुरेण्ट व्यवसाय भने छाड्न नसक्ने बताउंँछन् । ‘अहिलेको संकटको समय सदुपयोग गर्नु राम्रो हो, उनले भने, साथै संँगै लैजान मिल्यो । रेष्टुरेण्ट व्यवसाय नै छोड्न चाहिँ सकिदैन ।’ उनका अनुसार यस व्यवसायमा करौडौं लगानी र बर्षौंदेखिको अनुभव भएका कारण पनि व्यवसायीले निश्चित समयका लागि कृषि कर्म अगालेको उनको भनाइ छ । हाल सौराहामा मात्र १२० भन्दा बढी साना ठूला होटलहरु छन् भने ७० भन्दा बढी रेष्टुरेण्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *