खर्च गर्न सकिएन हिंसा पीडितको ५ लाख

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
पर्वत, ५ भदौ


पर्वतमा लैङ्गिक हिंसा पीडितका लागि प्राप्त ५ लाख रुपैयाँ बजेट खर्च नभइ फ्रिज भएको छ । पर्वत अस्पतालमा स्थापना भएको लैङ्गिक हिंसा पीडितका लागि स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रको रकम खर्च नै हुन नसकेको हो ।

गत आर्थिक बर्ष २०७६÷७७ मा अस्पतालमा ओसीएमसी सेवा सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट १२ लाख रुपैया प्राप्त भएको थियो । ६ लाख ९१ हजार खर्च भएपनि ५ लाख रुपैया खर्च हुन नसकेर फिर्ता भएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
लैङ्गिक हिंसा पीडितलाई न्याय दिलाउने उद्देश्यका साथ गतवर्षदेखि केन्द्र सञ्चालन गरिएको छ ।

हिंसा पीडित व्यक्ति केन्द्रको सम्पर्कमा नआएको हुनाले अस्पतालले २ लाख रुपैयाँ रकमान्तर गरी औषधि खरिद गरेको समेत पाइएको छ । गतवर्ष १२ जनाले मात्रै केन्द्रको सेवा उपभोग गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्र अस्पतालमा स्थापना भएको जानकारी समूदायसम्म पुग्न नसकेको कारण कोही सेवाका लागि नै नआएको डा. देवकोटाले बताए । उनका अनुसार हिंसामा परेका महिला तथा बालबालिकालाई जिल्ला अस्पतालमा नै अस्थायी रुपमा बस्नका लागि आवास कक्ष निर्माण गरिएको छ । कुनै घाउ चोट लागेका सेवाग्राही छन् भने घाउ निको नहुञ्जेल आवास गृहमा बस्न पाउने र कानुनी उपचारका क्रममा समेत सोही आवास गृहमा बस्ने व्यवस्था रहेको छ ।

इन्सेक बर्ष पुस्तक २०२० मा उल्लेखित तथ्यांक अनुसार पर्वतमा गत बर्ष मात्रै बाल यौनदुव्र्यबहारबाट ७ जना बालिका पीडित बनेका छन् भने बलात्कार घटनाबाट ४ महिला र घरेलु हिंसाबाट १० जना महिला पीडित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *