नेप्सेमा सामान्य गिरावट, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १२ साउन

पछिल्लो दुई दिन उकालो लागेर बन्द भएको शेयरबजारमा सोमबार सामान्य गिरावट आएको छ । गत साताको बिहीबार र यस साताको आइतबार कुल ३२.५३ अंक बढेको नेप्से यस दिन २.६२ अंक घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक ०.१८ प्रतिशत घटेर एक हजार ४६२.४८ विन्दुमा पुगेर बजार बन्द भएको छ । बजार बढेको मौका छोपेर अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्न थालेपछि नेप्सेमा करेक्सन भएको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि केही घटेको छ । आइतबार १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन १८७ कम्पनीको २८ हजार ४९५ पटकको कारोबारमा १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ बराबरको ४२ लाख ५७ हजार १६१ कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन कारोबारमा आएका दुई कम्पनीहरुको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । यस दिन जोशी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

सूचीकृत भएको १० कारोबार दिनसम्म निरन्तर उकालो लागि पछिल्ला केही कारोबार दिनमा ओरालो लागेको एनआईसी एशिया लघुवित्तको शेयर यस दिन ४.९९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन स्थायी रुपमा कम्पनी बन्द गर्ने सूचना प्रकाशित गरेको श्रीराम सुगर मिल्सको शेयरमूल्य ४.९७ प्रतिशत बढेको छ। यद्यपि, यस दिन भएको सो कम्पनीको शेयर कारोबार भने रद्द गरिने नेप्सेले जनाएको छ ।

कारोबारमा आएको ओरियण्टल होटलको शेयरमूल्य यस दिन ६.८१ प्रतिशत घटेको छ भने गोर्खाज फाइनान्स, घलेम्दी हाइड्रो, पाँचथर पावर र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । यस दिन नेप्सेसँगै बीमा उपसमूहहरुको परिसूचकमा पनि करेक्सन देखिएको छ। पछिल्ला दुई कारोबार दिनहरुमा उच्च अंक बढेको जीवन र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन क्रमशः १ प्रतिशत र २.१८ प्रतिशत घटेको छ। यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। यस दिन नेपाल लाइफको १७ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *